गैर आवासीय नेपाली संघ(एनआरएन)को सञ्जाल संसारभर फैलिरहँदा पनि व्यवसायिक व्यक्तित्वहरूको प्रवेश न्यून भयो भन्ने गुनासो सधैं आइरहन्थ्यो।
अहिले एनआरएनले संसारका ८१ देशमा आफ्नो साख विस्तार गरिसकेको छ । विकास र विस्तारसँगै यस संस्थाले आफ्नो पहिचान र परिवेशलाई फराकिलो पार्ने काम गरेको छ।
मुलुक बाहिर विश्वासिलो साझेदार संस्थाको पहिचान बनाएको एनआरएनको लोकप्रियता यतिखेर भने निकै बढेको र संस्थागत रूपमा फराकिलो पनि बन्दै गरेको अवस्था रहेको छ।
आफ्नै घर, लाप्राक योजनाको अन्तिम रूप र अनेकन सहयोगी कर्मसँगै विस्तारै यस संस्थाको परिभाषाले व्यापकता पाएको छ।
यतिखेर करिब दुई सय पदका लागि एनआरएन अस्ट्रेलियामा चार सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्। संस्थाको महत्व बुझेर यसको नेतृत्व गर्न चाहनेहरूको यो भीडले पनि यसको बढ्दो लोकप्रियतालाई सहजै मूल्यांकन गर्न सकिन्छ।
एकपल्टको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रसहित विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरूलाई एउटै छातामा सगंठित गर्न सफल भैसकेको छ।
यसै सन्दर्भमा एनआरएन अस्ट्रेलियाको निर्वाचनमा यतिखेर डाक्टर, इन्जिनियर, प्रोफेसर ,एकाउन्टेट, चार्टड एकाउन्टेन्ट र व्यवसायमा फट्को मारेका समाजसेवीहरूको नेतृत्वको लागि होडबाजी नै लागेको छ।
एनआरएन अस्ट्रेलियाको निर्वाचन यही जुलाइ ६ मा हुँदै गर्दा यसको नेतृत्व गर्ने र समाजसेवामा होमिनेहरूको पनि ठूलै भीड बढेको छ।
अध्यक्षको पदमा सामाजिक अभियन्ता केशव कँडेलले मेलवर्नमा उम्मेदवारी दिँदै गर्दा एनएसडब्लुबाट दिनेश पोखरेलले चुनौती दिएका छन्। न्यु साउथवेल्सको उपाध्यक्ष तथा राज्य संयोजक पदमा भने युवा लेखा व्यवसायी डिला खरेल मैदानमा उत्रिएका छन्।
एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष र प्रवक्ता रहिसकेका यी लोकप्रिय युवा उम्मेदवार संस्थाको गरिमाका लागि व्यवसायिक व्यक्तित्वहरूको प्रवेश महत्वपूर्ण रहने धारणा व्यक्त गर्छन्।
‘यो समय र परिस्थितिको माग अनि संस्थाको गरिमाको उपज पनि हो’, खरेलले भने। चुनावी सरगर्मी बढेपछि आफूमाथि अनेकन ढंगबाट प्रहार हुन थालेको भन्दै खरेलले भने,‘हामी व्यवसायिक प्राणी हौं,भाषण गर्न नआउन सक्छ तर काम भने हामी गरेर देखाइदिन्छौं।’
खरेलले सबैको अपनत्व हुने गरी संस्थाको साख जोगाउने कर्ममा आफूहरू सधैं अगाडि रहने र यस पटकको उम्मेदवारी पनि एनआरएनलाई गर्बिलो र विश्वासिलो साझेदार बनाउने अभियान अन्तर्गत रहेको बताए।
यस्तै एनआरएन अस्ट्रेलियाको महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी मैदानमा खरो रूपमा उत्रेका छन्।
यसअघि प्रवक्ता रहिसकेका रेग्मी अस्ट्रेलियन सरकार अन्तर्गत काउन्सिलका इन्जिनियर पनि हुन्।
विदेशमा छरिएर रहेका गैर आवासीय नेपालीहरूलाई दोहोरो नागरिकतासँगै नेपालमा पर्यटन, प्रवर्द्धन र सामूहिक लगानी भित्राएर देश विकासमा टेवा पुर्याउने यसको उद्देश्यलाई सफल प्रतिस्पर्धामा उत्रिएको बताउँछन्।
‘विश्व सञ्जालमा आफ्नो पृथक उचाइ कायम गर्न र देश विकासमा सहयोग पुर्याउन युवा र व्यवसायिक पुस्ताको एनआरनमा प्रवेश अनिवार्य देखिएको छ’,रेग्मीले भने।
एनआरएनए अस्टेलियाको हरेकखाले प्रतिवद्धतामा आफूले सकेको सक्दो सहयोग गरौं भन्ने भावना र यसमा सबैको अपनत्वको आभाष गराउँदै संस्था सबैको साझा र सबल बनाउने प्रयासमा आफू लागि पर्ने रेग्मीको भनाइ छ।
रेग्मी सन् २०१५–१७ मा आइसीसीको विधान समितिको सदस्य र १५–१७ मा एनआरएनए अस्ट्रेलियाको प्रवक्ताका रूपमा कार्यरत थिए।
यस्तै, एनआरएन अस्ट्रेलियाको कोषाध्यक्षमा सीपीए एकाउन्टेन्ट अनिल पोखरेल मैदानमा उत्रेका छन्।
सानो उमेरमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका अनिल पेशागत रूपमा यहाँको सरकारी कार्यालयमा जागिरे छन्।
‘मेरो व्यवसाय र उम्मेदवारीलाई मैले न्याय गर्न कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। एनआरएनको फैलिँदो सञ्जाल र यसको विश्वासिलो पक्ष भनेको आर्थिक पक्षनै हो। त्यसैले पनि एनआरएन अस्ट्रेलियाको उचाइ र हैसियतलाई केही हदसम्म भए पनि अगाडि बढाउन मेरो उम्मेदवारी न्यायसंगत हो भन्ने मैले ठानेको छु’, अनिलले भने।
यस्त सानै उमेरमा ट्राभल एन्ड टुर्सको तथा पर्यटन क्षेत्रमा बलियो पकड बनाउन सफल युवा अभियन्ता इर्शाद अहमदले एनआरएन अस्ट्रेलियाको युवा संयोजक पदमा उम्मेदवारी दिएका छन्।
नेपालमा पशुपति बुटिक होटलदेखि सिड्नीमा एभरेष्ट ट्राभल एन्ड टुर्ससम्मको उनको ब्यवसायले राम्रै चर्चा कमाएको छ।
उच्च अध्ययनको सिलसिलामा अस्ट्रेलिया आएका यी युवा ब्यवसायी इर्शाद भन्छन्, ‘सहयोगी मन र नेपाली तनलाई जोडेर युवा वर्गको विकास र विस्तारमा लाग्ने सोचका साथ एनआरएनको चुनावी मैदानमा उत्रिएको हुँ ।’
यस्तै सह कोषाध्यक्षमा क्वीन्सल्यान्डका इन्जिनियर लक्ष्मण गोपाली पनि प्रतिस्पर्धामा उत्रिएका छन्। उनी क्वीन्सल्यान्ड सरकारको सडक विभागमा इन्जिनियर पदमा कार्यरत छन् ।
एनआरएन अस्ट्रेलियाको निर्वाचनमा इन्जिनियरहरू नारायण काफ्ले , राजु अधिकारी, अरुण ठाकुर पनि आइसीसी सदस्यका रूपमा मैदानमा उत्रिएका छन् भने क्यानबेरामा संयोजक पदमा अर्का सीपीए(चार्टड एकाउन्टेट) चुडामणि सापकोटा प्रतिस्पर्धामा उत्रिएका छन्।
यस्तै प्रोफेसर राजु मानन्धर , सिके भुषाल लगायतले पनि आइसीसीमा उम्मेदवारी दिएका छन्।