सिड्नीको दक्षिणी सहरमा एक महिलाको बलात्कारको आरोपमा सजाय भोगिरहेको ३५ वर्षीय नेपाली नागरिक बलराम शिव जमानतमा छुटेका छन्।
बलराम २४ घण्टा नै निगरानीमा रहने, स्वास्थ्य परीक्षणका लागिमात्र घर छोड्न पाउने र ३० हजार डलर धरौटी राखेर जमानतमा छुटेका हुन्।
गत शुक्रबार सदरल्याण्ड स्थानीय अदालतमा भएको सुनुवाइमा बलराम उपस्थित भने थिएनन् तर अदालतले उनलाई जमानत दिने निर्णय गरेको थियो।
बलरामका निजी वकिलले स्थानीय सदरल्यान्ड अदालतका न्यायाधीश समक्ष उच्च अदालतबाट बिहीबार सर्शत जमानत दिने निर्णय भएको जानकारी गराएका थिए।
सन् २०१७ मा सिड्नीको कार्ल्टनस्थित एक अपार्टमेन्टमा एक २१ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मे महिनामा बलरामलाई संयुक्त राज्य अमेरिकाबाट पक्राउ गरी सिड्नी ल्याइएको थियो।
न्यु साउथ वेल्स प्रहरीका अनुसार पर्यटन भिसामा अस्ट्रेलिया घुम्न आएका बलराम शिवले सन् २०१७ को जुन महिनामा कार्ल्टनस्थित अपार्टमेन्टमा ती महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
संयुक्त राज्य अमेरिकासँगको सुपुर्दगी सन्धि अनुरूप प्राप्त वारेन्टको आधारमा न्यू साउथ वेल्स प्रहरीका सेन्ट जर्ज इलाका कमाण्डका केही सदस्य न्युयोर्क पुगेर बलरामलाई सिड्नी ल्याएका थिए।
बिहीबार बलरामको बिग्रदो स्वास्थका कारण केही महत्वपूर्ण सर्तहरूका साथ न्यु साउथ वेल्सको उच्च अदालतले बलरामलाई जमानत दिने निर्णय गरेको थियो।
उनका वकिलले अदालत समक्ष बलराम शिवको मिर्गौलासम्बन्धी समस्याका रहेको भन्दै हिरासतमा रहँदा उनको ज्यानमाथिनै खतरा हुनसक्ने भन्दै जमानत मागेका थिए।
शुक्रबारको सुनुवाइपछि आगामी सुनुवाइ अगस्ट ८ मा हुने अदालतले जनाएको छ।