विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्य पारेर अस्ट्रेलियामा रहेका नेपाली सञ्चारकर्मीहरूको संगठन नेप्लिज अस्ट्रेलियन पत्रकार संघ(नाजा)ले सिड्नीमा मैत्रिपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको छ।
सिड्नीमा रहेका नेपाली समुदायका अगुवाहरूको उपस्थितिमा सम्पन्न सो मैत्रिपूर्ण फुटबल खेलमा म्यारिकभिल नेप्लिज क्लबले नाजाको टोलीलाई ३ -१ले पराजित गरेको छ।
सामाजिक अगुवाहरूसँग हातेमालो र आपसी सम्बन्ध तथा सद्भाव अभिवृद्धिका लागि आयोजित मैत्रिपूर्ण खेलमा नाजाका तर्फबाट एक मात्र गोल राज खनालले गरेका थिए। उता म्यारिकभिलका तर्फबाट भने तिनै गोल सुमन गुरुङले गरे।
पहिलो हाफसम्म १-० ले अगाडि रहेको नाजाका पत्रकारहरू मध्यान्तरपछि थकित हुन थालेपछि म्यारिक भिलले लगातार तीन गोल थपेको थियो।
अस्ट्रेलियामा छरिएर रहेका सञ्चारकर्मीहरूलाई गोलबद्ध बनाउने क्रममा भर्खंरै गठन भएको नाजाले जुलाई दुईमा मनाइने विश्व खेलकुद पत्रकार दिवस पारेर मैत्रिपूर्ण खेल आयोजना गरेको थियो।
स्थानीय हिमालयन रेडियोको संयोजन तथा किङ्सफोर्ड इन्टरनेसनल इन्सिच्युटको प्रायोजनमा सम्पन्न मैत्रिपूर्ण खेलमा सञ्चारकर्मीहरूले सगरमाथा र बुद्ध अंकित टिर्सट लगाएर मैदानमा भिडेका थिए।
सिड्नीमा भ्रमणमा रहेका नेकपाका विदेश विभाग सदस्य युवराज चौलागाईंले सञ्चारकर्मीलाई सो जर्सी हस्तान्तरण गरेका थिए।
यस्तै, कार्यक्रममा दुवै टिमका दुई/दुई जना उत्कृष्ट खेलाडीलाई भर्खरै सिड्नीमा औपचारिक रूपमा भित्रिन लागेको गोल्डस्टार जुत्ताको तर्फबाट निर्देशक प्रदीप शाहले गिफ्ट ह्याम्परको व्यवस्था गरेका थिए।
अस्ट्रेलियामा बसाइ सरेका पहिलो नेपालीका रूपमा चिनिएका अगुवा नारायण प्रधानले समाज र सञ्चारगत एक आपसका परिपूरक भएको हुँदा सधैं हातेमालो गरेर हिँड्नु पर्ने बताए।
उनले खेलकुद अनुशासन र स्वस्थका लागि महत्वपूर्ण माध्यम भएको सुनाए।
कार्यक्रममा अमेरिकाबाट घुम्न आएका पुराना सञ्चारकर्मी गिरिश पोखरेलले अस्ट्रेलियामा नेपाली समुदायको प्रगति उन्नति सुन्न पाएकोमा खुसी व्यक्त गर्दै सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति र सामाजिक सदभाव निकै प्रेमिल रहेको बताए।
कार्यक्रममा नेकपाका युवा नेता युवराज चौलागाईंले सिड्नीमा आएर पनि फुटबलको माध्यमबाट समाज र सञ्चारकर्मीसँग जोडिन पाउनु सौभाग्य भएको बताए।
उनले विदेशमा बसेर पनि मुलुक सम्झने नेपाली मनहरूप्रति सम्मान प्रकट गरे।
कार्यक्रममा म्यारिकभिल क्लबलाई किङ्गसफोर्ड कलेजको तर्फबाट फुटबलको खेल सामग्री समेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा किङ्सफोर्ड कलेजका तर्फबाट राज खनालले खेलकुद मुलुक चिनाउने माध्यमसँगै स्वस्थ जीवनको महत्वपूर्ण पक्ष भएकोले यसको महत्व बिर्सनु नहुने बताए। एनआरएन अस्ट्रेलियाका पब्लिक रिलेसन अफिसर भीम खरेलले मिडिया र समाजबीचको सम्बन्ध नङमासु भएको सुनाए।
‘समाजका लागि सञ्चार र सञ्चारका लागि समाज परिपूरक हुन् र यी दुवै पक्षबीचको मिलन साँच्चिकै हेर्न लायक हुन्छ’, खरेलले भने।
नाजाका वरिष्ठ सदस्य मनऋषि धितालले सञ्चालन गरेको कार्यक्रममा नाजा अस्ट्रेलियाका संयोजक हेमन्त काफ्ले, भरत पौडेल, सदस्य ऋषि आचार्य, टिका कार्की तथा योग गुरु आर्चाय राजनले मैत्रिपूर्ण खेल र खेलकुदको महत्वबारे प्रकाश पारेका थिए।