काठमाडौंका घट्टेकुलो, सुकेधारा र नागढुंगामा भएका विस्फोटन र केहीको मृत्युपछि अस्ट्रेलियाली सरकारद्वारा आफ्ना नागरिकहरूलाई नेपालमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सरकारको विदेश मामिला र व्यापार विभागद्वारा जारी गरिएको उक्त आग्रहमा आफ्ना नागरिकलाई नेपालमा भीडभाडमा नजान पनि आग्रह समेत गरिएको छ।
विदेश मामिला विभागका अनुसार कुनै पनि समयमा विस्फोटनको सम्भावना देखिएपछि यो सुझाव सार्वजनिक भएको हो।
‘सम्पूर्ण समय भर आफ्नो व्यक्तिगत सुरक्षामाथि विशेष ध्यान दिनुहोस्,’ विभागले आफ्नो स्मार्ट ट्राभलर वेबसाइटमा लेखेको छ।
साथै, विरोध प्रदर्शनहरू हिंसात्मक घटना हुन सक्ने भन्दै त्यस्ता स्थानबाट टाढा रहन सचेत गरेको छ।
एक हप्ता अघि प्रहरी कारबाहीमा आफ्नो एक कार्यकर्ताको मृत्यु भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले घोषणा गरेको आम हड्तालको पूर्वसन्ध्यामा यी विस्फोटका घटनाहरू भएका थिए।
गए मार्च महिनामा भएको एक विस्फोटनपछि चन्द समूहमाथि नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले प्रतिबन्ध लगाएको थियो।