पहिरन परिचय पनि हो भन्दा फरक पर्दैन।
कतिपय पहिरनका नाम पनि मुलुक र ठाउँसँग जोडिने गर्छन्। बनारसी साडी, पाकिस्तानी लेदर , राजस्थानी घाघँर, भारतीय सलवार कमिजजस्ता सयौं उदाहरणहरू छन् पोशाकका, जसले स्थान र मुलुकको पहिचान दिलाउने गर्छ।
हिजो आज बदलिँदो माहोलमा फेसनको रूपमा पनि फेरिएको छ, रोम र पेरिसमा आधुनिक पाश्चात्य पहिरनको परिचय बनेका फेसन शोहरू बिस्तारै बिस्तारै परम्परागत पहिरन र आफ्नो उत्पादनको परिचय दिने भावमा फैलिन थालेका छन्।
यस्तै, सिड्नी सहरमा पनि एक युवा अभियन्ताले आफ्नो पहिचानलाई मुलुकको पहिरनमार्फत् उजागर गर्ने प्रयास गरेका छन्।
नेपाली परम्परागत पोशाक ढाका टोपी र गुन्यू चोलीको पहिरनमा सिड्नीमा फेसन शो को आयोजना हुन लागेको हो।
डिजिटल जेनेरेसनको प्रस्तुतिका रूपमा आगामी जुन २ तारिखका दिन सिड्नीमा ग्लाम नेपाल इन्टरनेशनल नामक इभेन्टको आयोजना गर्न लागेको सञ्चालक दीपक ज्ञवालीले बताए।
‘नेपाली ढाका र यसबाट निर्मित पोशाकहरू अत्यन्तै उत्कृष्ट र राम्रा छन,यसबाट बनेको पहिरनहरूले राम्रो बजार पाउन सकिरहेको छैन, हामीले यस शोमार्फत् नेपालमा हाम्रै डिजाइनरले निर्माण गरेका पहिरनलाई पश्चिमी बजारमा पनि लोकप्रिय बनाउन सकिन्छ भन्ने ध्येय बोकेर ग्लाम नेपाल इन्टरनेशनलको आयोजना गर्न लागेका हौं,’ ग्लाम नेपालका आयोजक दीपक ज्ञवालीले भने,‘हाम्रा डिजाइनरले बनाएका उत्कृष्ट पहिरनहरूले अन्तर्राष्ट्रिय बजार पाउन सकिरहेका छैनन्,त्यसैले पनि यस्ता कार्यक्रम र फेसन शोहरू हाम्रा लागि आवश्यक छ।’
जुन २ मा सोफिटेलमा आयोजना हुने कार्यक्रममा नेपालबाट केही चर्चित मोडलहरू अस्ट्रेलिया आउने छन् भने बाँकी स्थानीय मोडलहरूले र्याम्पमा गर्ने कार्यक्रमकी सहयोगी उषा किरण बारिया पोखरेलले बताइन्।
कार्यक्रममा नेपालबाट एना शर्मा, सविता कार्की, निती शाह र म्यान हन्ट इन्टरनेशनलका विजेता विवेश श्रेष्ठको पनि सहभागिता रहने आयोजक दीपक ज्ञवालीले बताए।
कार्यक्रमलाई कँडेल कन्सलटेन्सीले मुख्य प्रायोजनको भूमिका निर्वाह गरेको छ भने अन्य विभिन्न संघसंस्थाले सहयोग गरेको ज्ञवालीले सुनाए।
मोडलहरूलाई नेपाली शैलीको पोशाकमा श्रृगार्ने जिम्मा भने चर्चित डिजाइनरहरू युवि थापा, मनिष राई र मुक्ता श्रेष्ठले पाएका छन्।
उनीहरूले नेपाली र विदेशी फेब्रिक प्रयोग गरेर नेपाली शैलीको २० वटा पोशाक डिजाइन गरेका छन्।