अष्ट्रेलियाका वर्तमान प्रधानमन्त्री स्कट मोरिसन सबैलाई आश्चर्यमा पार्दै बहुमततर्फ अघि बढेका छन्। हाल अष्ट्रेलियाको आम निर्वाचनको मतगणना अन्तिम अवस्थामा रहेको छ।
उनको कन्जरभेटिव गठबन्धनले निर्वाचनअघि लेवर पार्टीले जित्ने अनुमानलाई गलत सावित गरिदिएको छ। बहुमतका लागि अब उसलाई मात्र ३ सिटमा जित आवश्यक रहेको छ।
'मैले जहिले चमत्कारमा विश्वास गर्ने गरेको छु', शनिवार आफ्ना समर्थकहरूलाई विजयी सम्बोधन गर्दै मोरिसनले भने।
एक्जिट पोलले ६ वर्षपछि लेबर पार्टीले जित्ने आँकडा देखाएको थियो।
तर नतिजा उल्टो आएपछि लेबर पार्टीका नेता बिल सर्टेनले आफ्नो पदबाट राजिनामा दिएका छन्।
'हो अब लेबर पार्टीले आगामी सरकार बनाउन नसक्ने भएको छ', सर्टेनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै भने।
त्यस्तै उनले पार्टीको नेताका लागि पनि उम्मेदवारी नदिने बताएका छन्।
अन्तिम नतिजा आउन केहि घण्टाको समय बाँकी रहेपनि ७५ प्रतिशत भोट गनिसक्दा लिबरल-नेशनल गठबन्धनले ७३ सिटमा अगाडी रहेको छ भने लेबर पार्टीले ६५ सिटमा।
गठबन्धनले स्पष्ट बहुमत हासिल नगरेमा सरकार गठनका लागि उसले स्वतन्त्र विजेताहरूको भर पर्नुपर्नेछ।
आफ्नो जित समबोधनमा मोरिसनले आफूलाई मौन अस्ट्रेलियनहरूले विजयी बनाएको बताएका छन्।