दुई दिने ओसेनिया सम्मेलन सम्पन्न भएको छ।
‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नाराका साथ सिड्नीमा सुरू भएको सम्मेलन मुलुकमा लगानी, पर्यटन प्रवर्द्धन र विदेशमा सिकेको सीप र ज्ञानलाई मुलुक भित्र्याउने जस्ता निर्णयका साथ सम्पन्न भएको छ।
कार्यक्रममा लिवरल पार्टीका नेता तथा अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसाँस्कृतिक मन्त्री डेभिड कोलम्यानले आफ्नो पार्टी लिवरलले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा समेत गरेका छन्।
तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना साँस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने समेत बताए।
‘सत्तारुढ स्कट मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्नका निमित्त प्रतिवद्ध छ’, कार्यक्रममा मन्त्री कोलम्यानले भने।
नेपाली समुदाय अस्ट्रेलियामा सबभन्दा छिटो बढिरहेको समुदाय हो र यो सामुदायिक भवनमार्फत् अस्ट्रेलियाको न्यू साउथवेल्स राज्यमा बसोबास गरिरहेका नेपालीहरूको केन्द्र बन्न सक्ने समेत उनले बताए।
उनले नेपाल र अस्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरू तेस्रो स्थानमा रहेको समेत सुनाए।
गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालीहरूले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि मात्रै नभइ अस्ट्रेलियाको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग गरेकोसमेत बताए।
अस्ट्रेलियामा आगामी मे १८ तारिखमा हुन गइरहेको संघीय निर्वाचनमा प्रभाव पार्ने खाले कोलम्यानको भाषणले कार्यक्रममा रौनक थपेको थियो।
कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले मुलुकका विकास निर्माणमा गैर आवासीय नेपाली संघको अभियान जारी रहेको सुनाए।
कार्यक्रममा लेबरकी सिनेटर क्लियर मुरले लेबर पार्टीले आगामी सरकार बनाए नेपाललाई दिने सहयोगमा हरेक वर्ष वृद्धि गर्ने र प्यारेन्ट भिसा शुल्कमा सहुलियत प्रदान गर्ने घोषणा गरिन्। कार्यक्रममा ओसेनिया संयोजक धर्मराज अधिकारीले सबैको सहयोग र सदभावले कार्यक्रम सफल भएको बताए।
ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदूत द्रुपदा सापकोटा, महासचिव बद्री केसी, उपाध्यक्षयहरू कुमार पन्त र कुल आचार्य, पूर्वअध्यक्ष शेष घले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का,साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला लगायत विभिन्न देशका एनआरएन प्रतिनिधिहरूका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति थियो।