अस्ट्रेलियामा उच्च अध्ययनमा आउने र यतै स्थापित हुने क्रमले तीव्रता पाउँदै गर्दा यहाँको सबैखाले व्यवसायमा पनि नेपालीहरूको उपस्थिति महत्वपूर्ण बन्दै गएको छ।
प्रवासमा सबै खाले व्यवसायमा नेपालीहरूको बाक्लो उपस्थिति रहे पनि पेचिलो मानिने कानुनी क्षेत्रमा भने औंलामा गन्न सकिनेहरूको मात्र प्रतिस्पर्धामा देखिएका छन्।
पढाइ र सिकाइमा पनि अप्ठ्यारो मानिने प्रवासी कानुनी क्षेत्रमा यतिखेर नयाँ पुस्ताको पनि प्रवेश देखिएपछि नेपालीलाई यसका लागि विदेशीको ढोका ढक्ढकाउन जानुनपर्ने भएको छ।
हुन त यसअघि शमसेरसिंह थापालगायत केही अनुहार मात्र देखिएको अस्ट्रेलियाको कानुनी क्षेत्रमा पछिल्ला दिनहरूमा थुप्रै नयाँ अनुहारको प्रवेश हुन थालेको छ। जुन नेपाली समाजको लागि गर्वको विषय पनि हो।
शुक्रबार सिड्नीको मुटु टाउन हलमा खुलेको रेसिडेन्सी लिगलको एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे।
नयाँ विधा र क्षेत्रमा नेपालीको प्रवेश हाम्रो समाजको लागि महत्वपूर्ण उपलब्धि भएको महावाणिज्यदूत दिपक खड्काले बताए।
खड्काले पुराना दिनको सम्झना गर्दै भने, ‘कुनै जमानामा कानुनी समस्या पर्दा कहाँ जाने र के गर्ने भनेर आत्तिने दिन पनि थिए। अहिले ढुक्कसँग नेपाली वकिलहरूसँग कानुनी परामर्श लिन पाइएको छ अस्ट्रेलियामा, यो सबभन्दा खुसीको विषय हो।’
कार्यक्रममा सफलताका शुभकामना दिँदै सिड्नीका पुराना कानुनविद् शमसेरसिंङ थापाले नयाँ पुस्ताको कानुनी क्षेत्रमा प्रवेश सुखद विषय बनेको सुनाए।
थापाले भने, ‘अब हरेक क्षेत्र र व्यवसायमा नयाँ पुस्ताको आगमन हुनुपर्छ अनि विदेशमा पनि हाम्रो पहिचान र सहभागिता महत्वपूर्ण बन्ने छ।
कार्यक्रममा रेसिडेन्सी लिगलका सोलिसिटर हेमराज भट्टले पढाइ पूरा गरेपछि आफ्नो क्षेत्रमा व्यवसायिक रूपमा मैदानमा पर्दापर्ण गरेको बताए।
‘यतिखेर पचास हजार नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा उच्च अध्ययनरत छन् भने करिब पचास हजार पिआर र नागरिकता लिइ सकेको अवस्था छ,यस्तो परिस्थितिमा कानुनी क्षेत्रमा हाम्रो उपस्थिति बलियो बनाउँदै जानुपर्ने अवस्था पनि छ’, भट्टले भने।
उनले पुराना कानुन व्यवसायको सहयोग र सद्भाव अनि नेपाली समाजका माया र ममताले पनि आफूलाई यस क्षेत्रमा अगाडि बढ्न मद्दत पुर्याएको बताए।
कार्यक्रममा एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल कानुन व्यवसायी भरत पोखरेल, आइसिसी सदस्य दिपक भट्टराई, युवा अभियन्ता विजय पोखरेल लगायतको उपस्थिति रहेको थियो ।