‘राजनीतिले नभइ गीत/संगीतले संसार चल्ने भए सीमाना र भूगोलको कुरै हुँदैनथ्यो। संगीतका पारखीहरूलाई भूगोलले कतै कहिले रोक्न सकेको छ?’ , संगीतसँगै गायकीमा स्थापित गायक संगीतकार काली प्रसाद बाँस्कोटाले गालामा डिम्पल पार्दै यसो भन्दै गर्दा पत्रकार सम्मेलनमा सबैले तालीले उनको स्वागत गरे।
मंगलबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा संगीतका पारखीहरूले गीत र संगीतको लयमा यसको प्रवासी परिभाषा खोज्ने प्रयास गरे।
हेभिमेटलका स्याडो नेपाल, आधुनिक गीत/संगीतका कालीप्रसाद र नेपालीमूलका सुफी गायक पुष्पन प्रधानको बेजोड प्रस्तुती शुक्रबार सिड्नीको सार्क होटलमा आयोजना हुने लाइभ कन्सर्टमा साँच्चीकै हेर्न लायक रहनेछ।
अस्ट्रेलियामा रहेका सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा अर्को शुक्रबार अर्थात् मे १० तारिखका दिन सिड्नीमा नेपाली गीत/संगीतका महारथीहरूको बेजोड प्रस्तुती हुन लागेको हो।
‘हामीले सोचेका थिएनौं काली प्रसाद दाजु र स्याडो ब्यान्डसँग वाणी पनि एक दिन सिड्नीमा सँगै एउटै मञ्चमा हुन्छ भनेर तर आयोजक साथीहरूले जुन माया र सम्मान जनाइदिनुभयो त्यही हाम्रो लागि ठूलो कुरो बनेको छ’,मृदुभाषी पुष्पन प्रधानले मधुर स्वरमा भने।
पुष्पन पंछी, बाबुको जुंगो, ठुल्दाजुजस्ता अहिलेका चर्चित गीतका गायक अनि छोटो समयमा नेपाली दर्शकमाझ ख्याती कमाएका कलाकारका रूपमा चिनिन्छन्।
फरक धून र अलग पहिचानका धनी पुष्पन नेपाली मूलका सिलगुढी निवासी गायक हुन्।
लामो समय नेपाली गीत/संगीतमा रमेका यिनले लामो संघर्षपछि नेपाली भूमिमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।
यस्तै, हिँड्ने मान्छे लड्छ, अनि हाम्रो नेपाल र कुन हो हाम्रो धर्म जस्ता गीतलाई रकमार्फत् प्रस्तुती दिन सिपालु स्याडो ब्यान्ड र स्वप्निल शर्माले संगीतका भाषा र प्रस्तुती फरक भए पनि यसले दिने भावका बारेमा मानिसहरूमा परिवर्तन आउन नसकेको दु:खेसो पोखे।
रक र हेभिमेटल संगीतभित्र लुकेको मर्म र परिभाषा खोतल्ने प्रयास नै गरिएन ,बल्ल बिस्तारै यसले महत्व र बजार पाउन थालेको छ। काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अफ अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले संगीत पनि जीवनको एउटा महत्वपूर्ण अंग भएकोले यसको महत्वको विषयमा मुलुकमा बहस हुन नसकेको बताए।
उनले सीमाना र भूगोलले रोक्न नसक्ने जीवनको अभिन्न अंग ती संगीत भएकोले देशका श्रष्टाहरू आएर अस्ट्रेलियामा नेपाली गीत/संगीत पस्कन लागेकोमा हर्ष व्यक्त गरे।
कार्यक्रममा प्रयोजकतर्फबाट एडभान्स कलेज अप हेल्थका किशोर अर्याल, आयोजक समितिको संयोजक कोमल पाठक , एनआरएनका पूर्व प्रवक्ता ज्ञानेन्द्र रेग्मी लगायतले यस्ता सांगीतिक कर्महरूले विदेशमा पनि नेपाली कला संस्कृतिको जर्गेना गर्न मद्दत पुग्ने बताए।
सिड्नीमा पहिलो प्रस्तुती हुने भएपनि अस्ट्रेलियाका विभिन्न सहरमा समेत यसको प्रस्तुती तय भइसकेको अस्ट्रेलिया टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारीले बताए ।