एनआरएनए अस्ट्रेलिया तथा अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिलको संयुक्त आयोजनामा ‘एक एनआरएन, एक लगानी, एक रोजगारी’ नाराका साथ एकदिने दोस्रो राष्ट्रिय उद्यमी सम्मेलन सिड्नीमा सम्पन्न भएको छ।
शनिबार सिड्नीको होटल रिजमा सम्पन्न सम्मेलनमा करिब दुई दर्जन कार्यपत्रहरू पेश गरिएको थियो।
सम्मेलनमा अस्ट्रेलियामा सक्रिय नेपाली व्यवसायीहरू, विद्यार्थीहरू तथा सामाजिक अगुवाहरूको उपस्थिति थियो।
युवा तथा विद्यार्थी सत्र, प्रत्यक्ष वैदेशिक लगानी सत्र तथा सामाजिक उद्यमशील सत्र गरी ३ वटा सत्रमा बाँडिएको सम्मेलनमा कार्यपत्रमा छलफल तथा त्यसमाथि टिप्पणी गरिएको थियो। प्रस्तुत कार्यपत्रहरु सोचेजस्तो उपलब्धीमुलक हुन नसके पनि केहि भने निकै गहकिला र ओजिलो रहेका थिए। विद्यार्थीको समस्या र स्थायित्वदेखि लिएर लाइट रेल र महिला शसक्तीकरण जस्ता बिषयमा समेत कार्यपत्रहरु समेटिएका थिए।
कार्यक्रमपछि एनआरएन अस्ट्रेलियाको तर्फबाट तीन बुँदे घोषणापत्र समेत जारि गरिएको थियो। घोषणापत्रसहित आवश्यक कार्यपत्रहरु एनआरएनए पोलिसी इन्स्टिच्यूटमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरिने कार्यक्रमका संयोजक तथा एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए।
त्यसैगरी एनआरएनए अस्ट्रेलियाले महिला उद्यमीको तथ्यांक संकलन गरी नेपालमा महिला उद्यमशिलतालाई प्रोत्साहन दिनका लागि विभिन्न क्षेत्रहरूको पहिचान गर्ने र त्यसका लागि सहयोगी भूमिका खेल्ने र नेपालमा रेलको संभावना अध्यन र कृषीको आधुनिकीकरणमा यहावाट सहयोग गर्न सकीने घोषणापत्रमा उल्लेख गरिएको छ।
प्रविधि र आइटीको स्थानान्तरण र लगानीमा यसको प्रभावका बिषयमा समेत अस्ट्रेलियाको एनआरएनले सहयोगी हात बढाउन सक्ने उनीहरुको घोषणापत्रमा समेटिएको छ ।
सम्मेलनले एनआरएनए अस्ट्रेलियाले व्यावसायिक प्रतिनिधिको सहयोगमा अस्ट्रेलियाबाट नेपालमा लगानी गर्ने अवसरका बारेमा एक श्वेत पत्र तयार गर्न सुझाव दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, नेपाली राजदूतावास र एनआरएनएका पदाधिकारी सम्मिलिन संयुक्त कमिटी निर्माण गरी यस्ता कार्यमा अद्दि बढन सकिने एनआरएन अस्ट्रेलियाले जनाएको छ ।
सम्मेलनमा डा. शमशेर सिंह थापा, डा. कृष्ण हमाल, गोवा कटुवाल, श्री नापित तथा डा. राजु अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । पहिलो तथा दोश्रो उद्यमी सम्मेलन एनआरएनए अस्ट्रेलियाका प्रवक्ता तथा युवा व्यवसायी डिला खरेलले संयोजन गरिरहेका छन्। कार्यक्रम एनआरएन अस्ट्रेलियाका अध्यक्ष टोनु घोतानेको सभापतित्वमा सम्पन्न भएको थियो।