गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको सदस्यता वितरण सकिएलगत्तै चुनावी चहलपहल पनि सुरू भएको छ।
अन्तिम दुई दिनमा अचानक एनआरएन अस्ट्रेलियाप्रतिको मोह ह्वात्तै बढेपछि अहिले अस्ट्रेलिया विश्वकै सर्वाधिक सदस्यता रहेको देशको रूपमा पनि सूचीकृत भएको छ।
कूल एघार हजार आठ सय १७ सदस्य यस पटक एनआरएन अस्ट्रेलियाको छाताभित्र सामेल भएपछि संस्थागत रूपमा यो विश्वकै सर्वाधिक सदस्य रहेको एनआरएन बनेको हो। यति मात्र होइन पछिल्लो २४ घन्टामा मात्र पाँच हजार सदस्यता थपिएपछि चुनावमा रौनकता थपिएको छ।
केन्द्रीय नेटवर्कको सदस्यता वितरण प्रक्रिया केही झन्झटिलो र गोप्य कागजपत्र समेतको खुलासा गर्नुपर्ने भएता पनि रोजिरोजी अथवा खोजी खोजी भए पनि एनआरएन अस्ट्रेलियामा करिब १२ हजार सदस्य अटाउन सफल भएका छन्।
८० देशमा छरिएर रहेको एनआरएनभित्र ठूलो आकारमा रंगिएको एनअराएन अस्ट्रेलियाले यस पटक सदस्यता शुल्कबाटमात्र दुई लाख ९३ हजार ९ सय ७५ डलर रकम संकलन गरेको छ,जुन आम्दानीका रूपमा निकै ठूलो हो।
गत वर्ष भने एनआरएन अस्ट्रेलियामा आठ हजार ४ सय ६४ सदस्य सूचीकृत थिए। अस्ट्रेलियापछि अमेरिका सर्वाधिक सदस्य रहेको दोस्रो ठूलो एनआरएन हो। उनीहरूको सदस्य संख्या दस हजारको सीमामुनि नै रहेको छ ।
सदस्यता वितरण सकिएपछि निर्वाचनको लहर तात्नुसँगै एनआरएन अस्ट्रेलियाको निर्वाचन तालिका समेत सार्वजनिक गरिएको छ । जस अनुरुप निर्वाचनको मिति जुलाई ६ तारिखका लागि तोकिएको छ। उम्मेदवारको उम्मेदवारीका लागि आगामी जुन ३ देखि ८ तारिखसम्म र उम्मेदवारीको नामावली प्रकाशन १० तारिखमा गरिने एनआरएन अस्ट्रेलियाले जनाएको छ ।
दाबी विरोधका लागि जुन ११ देखि १५ सम्म र जुन १७ मा नामावली सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ। उम्मेदवारी फिर्ताका लागि जुन २२ सम्मको म्याद राखिएको र जुन २४ मा उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त मन केसीले तोकिएकै समयमा निष्पक्ष र धाँधलीरहित रूपमा निर्वाचन गराउन आफू लागि परेको बताए। केसीले निर्वाचनको विधि, प्रक्रिया लगायतका सर्वमान्य मान्यतासँगै समुदायसँगको छलफलबाट कसरी अगाडि बढ्ने भन्ने विषय तय गरिने समेत बताए ।
यस पटक सबभन्दा बढी नेपाली जनसंख्या रहेको सिड्नीसँगै राजधानी क्यानबेरा, मेलवर्न लगायतका राज्यमा सदस्यतामा बढोत्तर भएको छ । यसको पछाडि चुनाव लागेको पनि हुन सक्ने सम्वन्धित विज्ञहरूको भनाइ छ।
आफू जित्न र खेमा जिताउन सामूहिक प्रयासमा सदस्यता बनाउने प्रचलनले पनि एनआरएनलाई केही फराकिलो बनाएको हो।
चुनावी माहौलले बजार तात्दै गर्दा यस पटक एनआरएन अस्ट्रेलियाको अध्यक्ष पदमा डेमोक्रयाट समूहबाट केशव कँडेल र प्रगतिशील खेमाबाट दिनेश पोखरेलको नाम चर्चामा रहेको छ।
यस्तै, वर्तमान उपाध्यक्ष तथा एनएसडब्लु संयोजक नन्द गुरुङ पनि अध्यक्षको प्रत्यासीका रूपमा मैदानमा कडा रूपमा प्रस्तुत भएका छन्। महासचिवमा भने डेमोक्रयाटका तर्फबाट डाक्टर ज्ञानेन्द्र रेग्मी र प्रगतीशीलतर्फ सन्तोष दाहाल तथा एनएसडब्लु संयोजक तथा उपाध्यक्षमा हालका प्रवक्ता डिला खरेल तथा देव गुरुङ मैदानमा देखिएका छन्।