अस्ट्रेलियामा रहेका सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा अर्को शुक्रबार अर्थात मे १० तारिखका दिन सिड्नीमा नेपाली गीतसंगीतका महारथीहरूको बेजोड प्रस्तुती हुने भएको छ।
पछिल्लो नेपाल आइडलसँगै नेपाली गीत संगीतको आकाशमा उदाएका चर्चित गायक पुष्पन प्रधान र उनको ब्यान्ड तथा चर्चित स्याडो ब्यान्डसँगै काली प्रसाद बास्कोटाले सिड्नीको शार्क होटलमा आफ्नो प्रस्तुती दिनेछन् ।
पंछी, बाबुको जुंगो, ठुल्दाजुजस्ता अहिलेका चर्चित गीतका गायक छोटो समयमा नेपाली दर्शकमाझ ख्याती कमाएका कलाकारका रूपमा चिनिन्छन्।
फरक धून र अलग पहिचानका धनी पुष्पन नेपाली मूलका सिलगुढी निवासी गायक हुन्। लामो समय नेपाली गीत संगीतमा रमेका यिनले लामो संघर्षपछि नेपाली भूमिमा आफ्नो पहिचान बनाउन सफल भएका छन्।
यस्तै हिँड्ने मान्छे लड्छ, अनि हाम्रो नेपाल र कुन हो हाम्रो धर्म जस्ता गहिरा गीतलाई रकमार्फत् प्रस्तुती दिन खप्पीस स्याडो ब्यान्डले पनि सिड्नीको शार्क होटल तताउने भएको छ। उनीसँगै काली प्रसाद बास्कोटाले समधुर गीत संगीत पस्कने भएका छन्।
कार्यक्रमका लागि एडभान्स कलेज अफ हेल्थ, वेस्र्टन सिडनी युनिभर्सिटी , डिएम लिगल र इपी माइग्रेशन,एभरेष्ट ट्राभल लगायतले सहयोग पुर्याएको कार्यक्रमका संयोजक कोमल पाठकले बताए ।
नेपालबाट अर्को हप्ता आइपुग्ने कलाकारको प्रवेशाज्ञा लगायतको काम सम्पन्न भैसकेको र आयोजनाको तयारीमा जुटेको संयोजक पाठकले सुनाए।
सिड्नीमा पहिलो प्रस्तुती हुने भए पनि अस्ट्रेलियाका विभिन्न सहरहरूमा समेत यसको प्रस्तुती तय भइसकेको अस्ट्रेलिया टुरका आयोजक सायन इभेन्ट्सका गोविन्द भण्डारीले बताए ।