यतिखेर दुई नेपाली युवाले अस्ट्रेलियाका चुनावमा महत्वपूर्ण पदमा उम्मेदबारी दिने पक्कापक्की भएपछि यहाँ रहेको नेपाली समुदायको आँखा अस्ट्रेलियाली राजनीतिमा तानिएको छ।
अष्ट्रेलियाको संघीय निर्वाचनको ईतिहासमा पहिलो पटक नेपाली मूलका युवालाई संघीय निर्वाचनमा सांसद पदको उम्मेदार बनाउने सिफारिस गरेपछि अस्ट्रेलियाको मुल राजनीतिमा पनि नेपाली मुलका अस्ट्रेलियनहरुको प्रत्यक्ष सरोकार बढेको हो।
यहाँको सत्तासीन लिबरल पार्टीले नवलपरासी थातथलो भइ हाल सिड्नी बसोबास गर्दै आएका नेपाली मुलका अस्ट्रेलियन परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट सांसदको उम्मेदवार बनाउने निश्चित भएपछि नेपाली समुदाय प्रत्यक्ष रुपमा यहाँको राजनीतिमा अगाडि बढेको हो।
यस निर्वाचन क्षेत्रको हर्षभिल, रकडेल, कोग्राजस्ता क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास छ।
यति मात्र नभइ यस्तै अस्ट्रेलयाली संसदको माथिल्लो सदनको सिनेटमा यहाँका वातावरणीय राजनीतिक पार्टी ग्रीनले नेपाली युवा भुवन खड्कालाई पश्चिम अस्ट्रेलियाबाट नाम सिफारीस गरेको छ।
खड्का यसअघि पनि पश्चिम अस्ट्रेलियाकै बेल्मन्ट क्षेत्रवाट उम्मेदवार थिए।
वडा सदस्य र वडा अध्यक्ष जस्ता पदमा राजनीति गरिरहेका पहिलो पुस्ताका प्रवासी नेपालीका लागि अस्ट्रेलियाको मुल राजनीतिमा नेपालीमुलका दोस्रो पुस्ताको प्रवेश साच्चीकै गर्विलो बनेको छ।
आगामी मे १८ मा अस्ट्रेलियामा आम निर्वाचन हुँदैछ। यसरी आम निर्वाचनमा सत्तारुढ दलका तर्फवाट समेत नेपाली युवा संसदको चुनावमा लड्दै गर्दा उनलाई हौस्याउँने जमात पनि बढेको छ।
‘यो नेपाली समाजको लागि र प्रवासी नेपालीको लागि पनि गौरवको विषय हो, यसले अस्ट्रेलियामा बस्ने नेपालीप्रतिको राजनीतिक विश्वास र पहिचान दरिलो बनाएको छ’, नेपाली समुदायका अगुवा तथा कानुन ब्यवसायी शम्सेर सिंह थापाले बताए।
दुई दशक लामो अस्ट्रेलियाको अनुभव संगालेका थापाले संसदीय निर्वाचनमा सिड्नीको महत्वपूर्ण क्षेत्रबाट नेपाली युवाले संघीय निर्वाचनमा उम्मेदवारी प्राप्त गर्नु आफैंमा महत्वपूर्ण बिषय रहेको बताए। ‘हार र जितभन्दा पनि नेपाली राजनीतिमा अलमलिएका नेपालीलाई नयाँ पुस्ताको यो कदमले आँखा खोलिदिएको छ’, थापाले भने,‘यसले यहा रहेको नेपाली समाजलाई स्थानीय राजनीतिमा पनि आकर्षित गर्ने काम गरेको छ, यो महत्वपूर्ण शन्देश हो। लिबरल जस्तो सत्ताशिन दलले नयाँ पुस्ताको नेपालीलाई विश्वास गर्नु भनेको नेपाली समुदायलाई पहिचान पनि दिनु हो, यसले हाम्रो समाजप्रतिको अस्ट्रेलियन राजनीतिक दलको बिश्वास झल्कन्छ।’
अस्ट्रेलियाको संसदमा तल्लो सदन, प्रतिनिधि सभा र माथिल्लो सदन अर्थात सिनेट रहेको छ। संसद्बाट निर्मित सम्पूर्ण कानुनहरू संसद्को तल्लो सदन प्रतिनिधि सभा र माथिल्लो सदन सिनेटबाट अनुमोदन हुनुपर्छ।
दुवै सदनबाट अनुमोदित कानुनलाई गभर्नर जनरलद्वारा हस्ताक्षर गरेपछि कानुनको रुप लिने गर्छ।
प्रतिनिधि सभालाई तल्लो सदन वा ‘पिपुल्स हाउस’ भनिन्छ र यसमा अहिले १५० सदस्य संख्या रहेको छ भने प्रतिनिधि सभामा आगामी २०१९ को निर्वाचनमा भने १५१ सदस्यहरू निर्वा्चित हुनेछन्।
तीन वर्षको कार्यकाल रहने प्रतिनिधि सभा सदस्यहरू लगभग समान जनसङ्ख्यामा आधारित रहेर विभाजित विभिन्न निर्वाचन क्षेत्रहरूबाट निर्वाचित हुने गर्छन्।
हाल सत्तासिन लिबरल पार्टी र गठबन्धन सरकारको प्रतिनिधि सभामा एक सय पचासमा ७६ सिटको बहुमत रहेको छ। बिपक्षी लेबर पार्टीको भने ६९ सिट रहेको छ।
सरकार बनाउनका लागि कुनै पनि पार्टीले तल्लो सदनमा कम्तीमा पनि ७६ सिट प्राप्त गर्नैपर्ने हुन्छ।
अस्ट्रेलियाको माथिल्लो सदन अर्थात सिनेटमा भने ७६ सिनेटर रहने ब्यवस्था रहेको छ। हरेक राज्यबाट १२ जना र दुई टेरोटोरीबाट दुई दुई जना गरी कुल ७६ सिनेटरको सिनेट रहने गर्छ।
माथिल्लो सदनको प्रमुख कार्य भनेको सरकारबाट प्रस्तुत विधानको समिक्षा गर्नु हो। सरकारद्वारा प्रस्तावित कानुनलाई सिनेटरहरूको समूहद्धारा विस्तृतमा अध्ययन गर्ने र चाहिएको खण्डमा सुझावहरू पनि दिन सक्नेछ।
सिनेटरहरूको सेवा अवधि ६ वर्षको भए पनि आधि सिनेटरहरू भने प्रत्येक ३ वर्षमा निर्वाचित हुन्छन्।
‘लिबरल पार्टीले मलाई बिश्वास गरेर जुन मौका दिएको छ, यो सबैभन्दा महत्वपूर्ण पाटो हो। अस्ट्रेलियाको सत्तासिन दलले मेरो काम र नेपालीहरुको प्रभाव देखेर पनि मलाई अगाडि बढाउन लागेको मैले ठानेको छु,’ परवेजले सेतोपाटीसँग भने, ‘वार्टन क्षेत्र बहु सांस्कृतिक समुदायको धनी क्षेत्र हो, यस क्षेत्रमा रहेका समुदायको आवाज बन्ने प्रयास गर्ने छु।’