अस्ट्रेलिया सरकारले विदेशी फिल्म प्रदर्शन र महोत्सवहरूलाई कडाइ गर्ने नीति लिएको छ।
अनुमतिबिना एउटै राज्यमा दर्जनौं पटक फिल्म देखाइएको पाइएपछि अस्ट्रेलियाली कला र सञ्चार मन्त्रालयले यस्तो नीति अख्तियार गरेको हो।
हरेक हप्ता नेपाली चलचित्र र त्यसमाथि बिसौ शोहरू चल्ने नेपाली चलचित्र यो नीतिको मारमा पर्ने देखिन्छ।
यस्तो नीति लागू भएपछि यसको सबभन्दा ठूलो प्रभाव नेपाली फिल्ममाथि पर्ने देखिन्छ।
स्थानीय हलहरूमा शो बुक गरेर एउटा चलचित्रलाई जतिसम्म पनि चलाइरहेको अवस्थामा अब आउने नयाँ वैदेशिक चलचित्र नीतिमा एउटा राज्यमा चार शो भन्दा बढी चलाउन नपाउने उल्लेख छ।
सिड्नीमा कबड्डी कबड्डी, छक्का पञ्जाका तीनवटै भाग , लुट २ र शत्रुगतेलाई दर्जन पटक देखाइएको थियो।
अब अस्ट्रेलियामा फिल्म देखाउन चाहने निर्माताले आफूले प्रदर्शन गर्न चाहेको राज्यको नाम र देखाउने शोको संख्या लिखितरूपमै सरकारलाई पेश गर्नुपर्नेछ र यसको अनुगमन सरकारले गर्ने भएको छ ।
चारभन्दा बढी पटक फिल्म देखाउन चाहे सम्बन्धित वितरक र निर्माताले अनिवार्य फिल्म जाँचपास गर्नुपर्नेछ।
सेन्सर गर्न २० दिन अगाडि नै निवेदन दिनुपर्नेछ र ६० मिनेटभन्दा लामो फिल्मको निवेदन शुल्क लगभग २ लाख र अन्य खर्च समेत लाग्नेछ ।
यसको तत्कालीन प्रभाव रिलिज तयारीमा रहेका नेपाली चलचित्र दाल भात तरकारी, वीर विक्रम २ र जात्रै जात्रालाई पर्नेछ।
चलचित्र निर्माता तथा कानुन व्यवसायी खिलेन्द्रराज तिम्सिना चलचित्रहरूको बढ्दो आगमन र महँगो मूल्यसँगै अब अस्ट्रेलियामा लागू हुने कडाइ नीतिले नेपाली चलचित्र उद्योगलाई नराम्रो प्रभाव पार्ने बताउँछन्।
‘उसै त एउटा राम्रो चलचित्रको पन्ध्र बिस लाख भन्न थालेको बेला मात्र चार शो लगाउन पाउने हो भने यसले कुनै हालतमा पनि पैसा उठाउन सक्दैन, जसको असर हप्तै पिच्छे अस्ट्रेलिया आउने नेपाली चलचित्रलाई पर्ने छ’, तिम्सिनाले भने।