सिड्नीको रकडेलमा रहेको रेड क्याप्सिकममा यही शुक्रबार चर्चित गायक कर्णदासको कर्णप्रिय स्वर सुन्न पाइने भएको छ।
नेपाली गीत संगीतको धरातललाई फराकिलो बनाएका गायक कर्णदासलाई पोखरा समाजले सिड्नीमा उतार्न लागेको हो।
कर्णदास लाइभ इन सिड्नी नाम दिइएको यो कार्यक्रममा गायक कर्णदासले कार्यक्रममा आफ्ना हिट नम्बरहरू प्रस्तुत गर्ने छन्। गायक कर्णदासको परिचयका लागि धेरै शब्द खर्च गर्नु आवश्यक छैन।
गीत संगीत विधामा उनको मौलिकता अनि अलग उपस्थितिले खासगरी नेपाली सांगीतिक क्षेत्रमा कर्णदासलाई विशिष्ट पहिचान दिलाएको छ।
जिन्दगीको के भरोसा
यो त सानो खेलौना हो
दुई आँखामा एकमा हाँसो
अर्कोमा रूवाइ छ।’
आफ्नो गायन यात्राको सुरूआतमा नै कर्णदासले गाएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ तरङ ल्याइदियो।
ठूला ठूला महल होइन
सिप सिकाउने झुपडी देउ दैव
राष्ट्रिय भावनाले ओतप्रोत यो गीत बजारमा आएपछि कर्णदासको साख, वजन र उचाईले अलग्गै पहिचान दिलाएको थियो।
‘गीत संगीतमा रुची राख्ने स्रोताहरूको प्रिय गायक कर्णदासको यो कार्यक्रम साँच्चि नै अविष्मरणीय हुने छ’, पोखरा समाज अस्ट्रेलियाका महासचिव दीपक पहारीले भने।
अनौठो ब्यथा भएछ
मेरो प्रेम कहानी
न मनैमा सजाउन सकेँ
न कसैलाई सुनाउनै सकें।’
विशेष गरेर जीवन र जगतसँग मेल खाने गीतका सर्जक हुन कर्णदास। यस्ता सर्जकको आवाज सुन्न र यिनलाई नजिकबाट हेर्न यतिबेला सिड्नीका नेपालीहरू आतुर रहेको कार्यक्रमका संयोजक तारा गुरुडले बताए।