शनिबारको पारिलो घाम, केही दिनदेखि धुम्म परेको आकाश खुलेर आएको थियो। सिड्नीका अति ब्यस्त बजारभन्दा टाढा सुनसान सानो सवअर्व ल्यूमिया शनिबार दिउँसोदेखि नितान्त फरक थियो।
रेल स्टेशनको नजिकै रहेको क्याम्पवलटाउन स्टेडियमबाट नेपाली, हिन्दी, पाकिस्तानी, बंगाली, फिलिपिनो र केही अंग्रेजी गीतहरू घन्किरहेका थिए। सडकका आसपास नेपाली दौरासुरूवाल, ढाका टोपी अनि गुन्यूचोलो र रंगीविरंगी सारीमा चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका युवाको लर्कन थियो।
अनि सँगै भारतीय, बंगाली, पाकिस्तानी मुलका नागरिकहरू आफ्नो संस्कृति र पहिचान झल्किने पोशाकमा ठाटिएका थिए।
ल्यूमियामा रहेको क्याम्पवलटाउन स्टेडियम बेहुली झै सिंगारिएको थियो। बंगलादेशी, भारतीय, नेपाली खानाका स्टलबाट आइरहेको स्वादिष्ट परिकारले भीडलाई एकत्रित गरिरहेको थियो। मञ्चमा नेपाललगायत विभिन्न मुलुक गीत, नृत्य र संस्कृति झल्कने कार्यक्रम चलिरहेका थिए।
नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नेहरुको ब्यस्तता त्यतिकै थियो।
क्याम्पवलटाउन काउन्सिलसँगको सहकार्यमा बहुसांस्कृतिक समाज क्याम्पवलटाउनले आयोजना गरेको वैशाखी पर्व तथा नयाँ वर्ष २०७६ धमाका साँझको विशेष कार्यक्रममा सहभागि हुन आइपुगेका बहुसांस्कृतिक मामिला तथा अध्यागमन मन्त्री डेभिड कोलम्यान दक्षिण पश्चिम सिड्नीमा हजारौं आप्रवासीहरुको भीड देखेर उत्साहित हुँदै नजिकै रहेका आयोजकसँग भन्दै थिए, ‘यो उत्साह, उमंग र पहिरन नै अष्ट्रेलियन वहुसांस्कृतिक समाजको पहिचान हो, यसलाई हामी सवै मिलेर निरन्तरता दिनुपर्छ।’
क्याम्पवलटाउन काउन्सीलका मेयर जर्ज व्रिटसेभिकको उपस्थितिमा कार्यक्रममा सहभागि विभिन्न समाजका प्रतिनिधिले आ-आफ्नो देशको झण्डोतोलन र राष्ट्रिय गान मार्फत सुरु भएको कार्यक्रममा नेपाललगायतका विभिन्न देशका हजारौं मानिस सहभागि थिए।
कार्यक्रमको अन्त्यमा २०७५ सालको विदाई र २०७६ सालको स्वागतका लागि करिब ७ मिनेटसम्म आतिशवाजी गरिएको थियो।
कार्यक्रममा सहभागि हुन मन्त्री कोलम्यानका अलावा संघीय सांसद माइक फ्रिलेन्डर, न्यूसाउथ वेल्स राज्यकी इन्टरीम विपक्षी नेता पेनी सार्प, क्याम्पवलटाउन काउन्सीलका काउन्सलर मसुद चौधरी लगायत विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
दक्षिण पश्चिम सिड्नीमा आप्रवासीहरु बसाई सर्ने क्रम दिनानुदिन बढ्दै गएको अहिलेको अवस्थामा बहुसांस्कृतिक पहिचान झल्किने यस्ता कार्यक्रमहरुको आयोजना हुनु अति नै खुसी लाग्दो विषय भएको पुराना पत्रकार एवं ल्युमिया नेपालिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाँईले बताए।
‘हामी संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई भुल्न सक्दैनौं, आज नयाँ वर्ष २०७६ को अवसरमा बहुसांस्कृतिक समाज क्याम्पवलटाउनको आयोजनामा भएको यो विशेष कार्यक्रममा हामीले जस्तो उपस्थिति र सकृयता देखायौ, आगामी दिनहरुमा यसलाई अझ भब्य र सकृयताका साथ लगेर नेपाली संस्कृति र पहिचानलाई यो क्षेत्रमा स्थापित गर्न लाग्नेछौ’, हुमागाँईले भने।