अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख डलर प्रदान गरेका छन् ।
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्ति सफल उद्यमी एवं परोपकारी ब्यक्तित्व छन ।
उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ । घले गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष हुन्।
‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले बिश्वास लिएको छु ।’ घलेले भने– यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ ।’
झण्डै १५ लाख डलर लागत पर्ने अनुमान गरिएको यो परियोजनाको खर्च जुटाउन मेलवर्नवासी हरेक गैरआवासीय नेपाली आजीवन सदस्य बन्नुपर्ने उनको सुझाव छ । १ हजार ५ सय डलर तिरेपछि आजीवन सदस्य बन्न पाइन्छ ।
फाउण्डेसनकी संस्थापक जमुना गुरुङले सामुदायिक भवन निर्माणका लागि सहयोगी बन्न पाउँदा आफुलाई निकै खुसी लागेको बताइन।