ग्लोबल नेपाली
जापान जानेमध्ये धेरै नेपाली कि त विद्यार्थी भिसामा जान्छन् कि त कामदार भिसामा जान्छन्। पछिल्लो समय विद्यार्थी भिसामा जापान जाने लहर नै चलेको छ। त्यसैले सबभन्दा पहिला जापान जाने विद्यार्थीका सम्भावना अनि उनीहरूले त्यहाँ भोग्ने चुनौतीबारे चर्चा गरौं।
नेपाली विद्यार्थी जापान गइसकेपछि धेरै कुरामा नयाँ लागिरहेको हुन्छ। भाषा, रितिरिवाज, रहनसहन, अनुशासन लगायत धेरै फरक हुन्छ।
१८ वर्षअघि विद्यार्थी भिसामा जापान पुगेका रेष्टुरेन्ट व्यवसायी सुभास लामिछाने जापान जानुभन्दा अगाडि जापानको भाषा र त्यहाँको बारेमा आधारभूत रूपमा बुझ्नुपर्ने बताउँछन्।
जापानको नियम कानुन नमान्दा धेरै समस्या आउन सक्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष समेत रहेका लामिछानेको सुझाव छ।
'जापान भनेको सभ्य र विकसित समाज भएको देश हो। त्यहाँको अनुशासन हामीले कल्पना गरेभन्दा बाहिरको छ,' लामिछानेले भने,'त्यहाँका नियम कानुनप्रति एकदमै प्रतिबद्ध छन्। नियम कानुन मानेन भने पछि भिसाको समस्याहरू आउन सक्छ।'
उनका अनुसार आफूसँग भएको भिसाले के काम गर्न पाइन्छ र कति काम गर्न पाइन्छ अनि त्यो काम कानुनी हो कि होइन भनेर बुझ्न जरूरी छ।
जापानिज भाषामा सामान्य कुराकानी समेत गर्न नजानिकन जापान गइयो भने धेरै गाह्रो हुने उनको अनुभव छ।
'यहाँबाट सिकेर जानेभन्दा पनि भाषा नै सिकेर जाने हो। भाषा जानिएको छ भने त्यहाँ सीप सिक्न धेरै समय लाग्दैन,' उनले भने, 'जापानिजको सिकाउने तरिका अलग्गै छ। सामान्य रेष्टुरेन्टमा छिरेर पनि काम गर्न जानिन्छ। तर उहाँहरूले सिकाएको कुरा सिक्नलाई भाषा आउनु पर्छ।'
यो बाहेक लामिछानेको बुझाइमा केही यस्ता नियम र अनुशासन छन्। जुन जापानमा परम्परा जस्तै बनेको छ। त्यसका लागि विद्यार्थीहरूले केही कुरामा ध्यान दिनु पर्छ।

पहिलो: जापानमा समयको महत्व धेरै छ। नेपालमा जस्तो केही ढिलो भइहाल्छ नि भन्ने दैनिकीमा बानी परेकाहरूलाई त्यहाँको समय प्रतिको प्रतिबद्धताले समेत अप्ठेरो पार्छ। नेपालमा १० बजे भनेर ११ बजे पुग्दा पनि स्वीकार्य मानिन्छ। तर त्यहाँ १० बजे नै पुग्नपर्छ। सुरूआती समयमा त १० बजेर १ मिनेटमा गयो भने पनि नराम्रो प्रभाव पर्छ। रेलका कारण ढिलो भयो भने पनि के कारणले ढिलो भयो भनेर रेलले दिएको प्रमाण देखाउनु पर्छ। अर्थात् जापानमा भइहाल्छ,चलिहाल्छ भनेर हुँदैन।
दोस्रो: आफूले पढ्ने कलेज र त्यसको शुल्कबारे सबै बुझेर गएको हुनुपर्छ। विद्यार्थी भिसामा गएर हप्तामा कति घण्टा काम गर्न पाउँछु, मेरो स्कुलको शुल्क कति, होस्टल खर्च कति हो लगायत बुझ्न जरूरी छ। आफू पढ्ने स्कुलका बारेमा नेपालमै बुझेर जान पनि सकिन्छ। यदि त्यो सम्भव भएन भने जापानमा रहेका आफ्ना साथीभाइ,आफन्तसँग बुझ्न सकिन्छ। यदि कुनै संयन्त्रबाट बुझ्न सकिएन भने एनआरएनए जापानमा सम्पर्क गर्न सकिन्छ। विभिन्न खालका सामाजिक संस्थाहरू समेत छन्।
तेस्रो: तोकिएको समयभन्दा धेरै काम नगर्नु होला।
जापानको नियम अनुसार हप्ताको २८ घण्टा काम गर्न पाइन्छ। त्यसरी काम गर्दा मासिक १ लाख ५० हजारसम्म कमाउन सकिन्छ। एउटा विद्यार्थीले मितब्ययी भएर खर्च गर्यो भने मासिक १ लाखदेखि १ लाख २० हजार सम्ममा आफ्नो खर्च उम्काउन सक्छ। कानुनभन्दा बाहिर गएर नगदमा काम गर्ने पनि हुन्छन्। नेपाली विद्यार्थीले त्यसरी काम पनि गरिरहेका छन्। तर त्यसले भोलि तपाईंलाई असर गर्न सक्छ। हप्तामा २८ घण्टाको सट्टा ३० घण्टा काम गरेको आधारमा नेपाल फर्किनु परेका घटना पनि छन्। तपाईंले मेहनत गरेर भाषा कलेज पास गर्नुभयो अनि भोकेसनल कलेज पनि पास गर्नुभयो भने तपाईंका लागि धेरै अवसरहरू आउँछन्।
त्यसैले अभिभावकले पनि जापान जानसाथ मेरो छोरोछोरीले पैसा पठाइहाल्छ भने अपेक्षा गर्न भएन। कतिपयलाई घरपरिवारको अपेक्षा अनि ऋणले गर्दा मानसिक तनाव समेत भइरहेको हुन्छ।

जापानमा धेरै नेपालीहरू जाने भनेको कामदार भिसामा पनि हो। यो अन्तर्गत कुक भिसामा जाने धेरै छन्। त्यसको लागि नेपाली या इण्डियन लगानीका होटल, रेष्टुरेन्टमा काम गर्नेहरू हुन्छन्। यस्तो भिसामा जाँदा पहिला नै सम्झौताबारे प्रष्ट भएर जानुपर्छ। जापान लगिदिने तर त्यसपछिको जिम्मेवारी नलिने सर्तमा जान नहुने लामिछानेको सुझाव छ।
'जापानबाट नेपाली दाजुभाइले कुकलाई बोलाउनुहुन्छ। कतिपय अवस्थामा सम्झौतामा एउटा भए पनि मौखिक सहमति अर्कै हुन्छ,' उनले भने, 'जापान जाने भनेपछि कागजमा मात्र सीप भएको तर हातमा सीप नभएकाहरू पनि हुन्छन्। उनीहरूलाई उता गएर दुःख हुन्छ। त्यसैले बेलैमा सचेत हुन जरूरी छ।'
उनका अनुसार नेपालका साथै कतार, दुबई, इण्डिया लगायतका देशमा कुकको काम गरिरहेकाहरूलाई जापानमा राम्रो अवसर छ। तर जापानको रेष्टुरेन्टका लागि चाहिने खाना पकाउन जानेको हुनुपर्छ।
मिठो नेपाली खाना पकाउन जान्नेको समेत माग भइरहेको भन्दै उनले हातमा सीप हुनेका लागि जापानमा दुःख नहुने बताए।
उनको बुझाइमा कुक भिसामा जापान जानेहरूका लागि जापानिज भाषाको खासै जरूरी पर्दैन। तर भाषा जानेर गयो भने भोलिका दिनमा केही अप्ठेरो पर्दा सहज हुन्छ। बजारमा हिँड्दा र किनमेलका लागि पनि भाषाले सहयोग गर्ने उनले बताए।
जापान गएकाहरूलाई कतिपय अवस्थामा मानसिक समस्या समेत देखिने गरेको छ।
'जापानमा अन्य खालका समस्या नदेखिए पनि मानसिक समस्या देखिन थालेको छ। त्यसका लागि हामीले काउन्सिलिङ लगायतका सहयोग गर्दै आएका छौं,' उनले भने, 'कतिलाई हामीले खर्च जुटाएर नेपाल पठाइदिएका छौं। २/३ जना बिरामीलाई म आफै पनि लिएर नेपाल आएको छु।'
पछिल्लो समय भाषाको पढाइ सकेर भोकेसनल कलेज खोज्न अप्ठेरो हुँदै गएको छ। उनकै संयोजकत्वमा त्यस्ता विद्यार्थीलाई कलेज खोज्न सहयोग गर्ने निर्णय एनआरएनए जापानले गरेको थियो। झण्डै २ सय विद्यार्थीलाई भोकेसनल कलेज खोज्न सघाएको लामिछानेले बताए।
जापानिज भाषा सिकेर आएकाहरूलाई आफूहरूले कामको पूर्ण ग्यारेन्टी गर्न नसके पनि सहजीकरण गर्न सक्ने उनले बताए।
एनआरएनए जापानले सामाजिक क्षेत्रमा विभिन्न काम गरे पनि त्यसको जस पाउन नसकेको उनको गुनासो छ।
'जापानमा झण्डै २ लाख ५० हजारको हाराहारीमा नेपाली छन्। तर एनआरएनए चाहिने भनेको १० हजारलाई मात्र हो,' उनले भने, 'जसलाई समस्या पर्छ उहाँहरू जोडिन आउनुहन्छ। उहाँहरूले नै एनआरएनएको महत्व थाहा पाउने हो।'
उनका अनुसार समुदायमा काम गर्न सजिलो छैन। किनकि आफ्नो व्यवसाय छोडेर समाज सेवामा हिँड्नपर्छ। कहिले कुन ठाउँमा, कहिले कुन ठाउँमा आफ्नै पैसा खर्च गरेर जानुपर्छ। तर पनि हौसला दिनुको सट्टा आलोचना धेरै भएपछि काम गर्ने ऊर्जा अलि कम हुने रहेछ।
एनआरएनएप्रति देखिएको नकारात्मक बुझाइलाई चिर्दै सबैको विश्वास जित्ने जिम्मेवारी पनि आफूहरूकै रहेको उनले बताए।
'कसैको मृत्यु भयो भने एनआरएनएले नेपालमा शव पठाउँछ। सक्ने परिवारले खर्च दिन्छन् तर नसक्नेसँग हामी माग्दैनौं,' उनले भने, 'नि:शुल्क रूपमा शव पठाउनका लागि के गर्न सकिन्छ भनेर हामीले प्रयास गरिरहेका छौं।'
एनआरएनले गरेका सकारात्मक कामको चर्चा गर्न नसक्दा पनि यसप्रतिको आकर्षण घटेको हुनसक्ने भन्दै लामिछानेले यसबारे नेपालीहरूलाई बुझाउन जरूरी रहेको बताए।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]