युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि अमेरिका लगायत पश्चिमा राष्ट्रलाई तर्साउन रूसले युक्रेनमाथि नयाँ हतियार प्रयोग गरेको छ।
बिहीबार युक्रेनको मध्य शहर डिनिप्रोमा रूसले नयाँ खालको मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले जनाए। त्यसको केही बेरमै रूसले इन्टर-कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आइसिबिएम) प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले दाबी गरेका थिए।
आणविक हतियारका लागि प्रयोग गरिने लामो दुरीको आइसिबिएम रूसले छिमेकी युक्रेनमाथि प्रहार गरेपछि त्यसले व्यापक चर्चा पाएको थियो।
पश्चिमा अधिकारी र विश्लेषकले भने सो हतियार आइसिबिएम नभएको जिकिर गरेका थिए।
बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रहस्यमयी हतियार मध्यम दुरीको हाइपरसोनिक मिसाइल ओरेस्निक भएको खुलासा गरे। रूसी भाषामा ओरेस्निककको अर्थ कटुसको रूख हो।
युक्रेनले अमेरिकी अट्याक एम्स र बेलायती स्टोर्म सेडो मिसाइल रूसी भूमिभित्र प्रहार गरेको जबाफमा सो हतियार प्रयोग गरेको पुटिनले बताए। साथै सो मिसाइलले ध्वनिको गतिको १० गुणा भन्दा बढी गति (माक १०) हासिल गरेको र पश्चिमा मिसाइल डिफेन्स सिस्टमले त्यसलाई खसाल्न नसक्ने दावी गरे।
मध्यम दुरीको ब्यालेस्टिक मिसाइलले ३००० देखि ५५०० किलोमिटर टाढासम्म प्रहार गर्न मिल्छ भने अर्को महादेशसम्म प्रहार गर्न मिल्ने आइसिबिएमले ५५०० किलोमिटरभन्दा पर प्रहार गर्न सक्छ।
यी दुवै खाले मिसाइल प्राय: आणविक हतियार प्रहार गर्न प्रयोग गर्ने गरिन्छ। ती मिसाइल परीक्षणको बेला बाहेक युद्धमा खासै प्रयोग गरिँदैन। जमिनबाट प्रहार गर्न मिल्ने मध्यम दुरीका यी महँगा ब्यालेस्टिक मिसाइल रिसको झोंकमा इरानले भर्खरै इसराइलमाथि प्रहार गरेबाहेक अन्त कतै प्रहार नभएको द इकोनोमिष्टले लेखेको छ।
युक्रेनले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) भनिने लामो दुरीका हतियार रूसी भूमिभित्र प्रयोग गर्ने अनुमति पाएका थिए। यसबारे विभिन्न पश्चिमा मिडियाहरूले आइतबार लेखेका थिए।
युक्रेनी राष्ट्रपति जेलेन्सकीले धेरै अघिदेखि रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए। तर त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।
युक्रेनले मंगलबार अमेरिकाले दिएको हतियारले रूसले हतियार भण्डारण गरेको ठाउँमा प्रहार गरेको थियो। रूसले युक्रेनमाथि हमला गरेको १००० दिन पुगेको अवसर पारेर युक्रेनले उक्त प्रहार गरेको हो।
युक्रेनले आफ्नो भण्डारणमा प्रहार गरेपछि त्यही दिन रूसले आणविक हतियार प्रयोग गर्ने नीति पुनरावलोकन गर्दै प्रयोग गर्ने सीमा घटायो।
त्यसको दुई दिन पछि रूसले आणविक हतियार राख्न प्रयोग गर्न मिल्ने नयाँ मिसाइल युक्रेनमाथि प्रहार गर्यो।
रूसले आणविक हतियार राखेर प्रहार गर्न मिल्ने किन्जाल लगायत अरू मिसाइल पहिल्यै युक्रेनमाथि प्रयोग गरेको छ। तर यो नयाँ मिसाइल अरू भन्दा फरक छ। यसमा धेरैवटा आणविक बम राख्न मिल्छ र जमिनमा खस्ने बेलामा ती छुट्टिएर बिस्फोट हुन्छन्। यस्ता खाले मिसाइल आणविक हतियारले प्रहार गर्नका लागि प्रयोग हुन्छ।
ओरेस्निक मिसाइल एकदमै तेज गतिको भएको र यसबाट धेरैवटा बम खसाल्न मिल्ने भएकाले यसलाई खसाल्न असम्भव प्राय भएको पश्चिमा विज्ञहरूले पनि स्विकारेका छन्।
बिहीबार युक्रेनमाथि प्रहार गर्दा रूसले ओरेस्निकमा कुनै पनि बम राखेको थिएन। तर आणविक नीति खुकुलो पारेको दुई दिनपछि युक्रेनलाई शक्तिशाली हतियार दिए त्यसमा आणविक हतियार राखेर प्रहार गर्ने भनेर पश्चिमा राष्ट्रलाई तर्साउन रूसले प्रष्ट रूपमा सन्देश दिएको छ।
अमेरिकाले भने रूसले आणविक हतियार प्रयोग गर्ने नीति अद्यावधिक गरेपछि जस्तै ओरेस्निकको प्रयोगलाई पनि खासै महत्व दिएको छैन।
शीत युद्धको बेला देखि नै गलतफहमीमा परेर आणविक युद्ध सुरू नहोस् भनेर अमेरिका र तत्कालीन सोभियत संघ निरन्तर सम्पर्कका हुन्थे। बिहीबार पहिलो पटक प्रयोग गरिएको ओरेस्निक मिसाइलमा पनि आणविक बम राखेको ठानेर अमेरिकाले जवाफी कदम नचलाओस् भनेर आधा घण्टा अघि नै अमेरिकालाई जानकारी दिएको रूसले खुलासा गरेको छ।
आफूले पूर्व-जानकारी पाएको पुष्टि गर्दै अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्ति जारी गरेर रूसले परीक्षण कालमा रहेको मध्यम दुरीको ब्यालेस्टिक मिसाइल युक्रेनमाथि प्रहार गरेको जनाएको छ। रूससँग यस्तो मिसाइल थोरै संख्यामा मात्रै हुन सक्ने भन्दै युक्रेन र सहयोग गर्ने राष्ट्रलाई डर देखाउन त्यसको प्रयोग भएको बताएको छ।
अमेरिकाले युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने बित्तिकै रूसले आणविक हतियार प्रयोग बारेको नीति खुकुलो पार्नु र दुई दिन पछि नयाँ हतियारको प्रयोग गर्नाले पश्चिमा राष्ट्रको कदमले रूसलाई अप्ठ्यारो परेको बुझ्न सकिन्छ।
सो नयाँ हतियारको प्रयोगबारे पुटिन स्वयंले जानकारी दिनाले त्यसलाई थप स्पष्ट पार्छ। पुटिन आफैंले आणविक हतियार प्रहार गर्न मिल्ने त्यो मिसाइलबारे सम्बोधन गरेर पश्चिमा राष्ट्रलाई डर देखाउन खोजेको देखिन्छ। साथै आफ्ना जनतालाई पनि रूस अझै पनि शक्तिशाली रहेको र पश्चिमा राष्ट्रलाई कडा जबाव फर्काउन सक्ने भनेर आश्वास्त पार्न खोजेका पनि हुनसक्छन्।
युक्रेनले भर्खरै प्रयोग गर्ने अनुमति पाएको हतियार चलाउन अमेरिकी खुफिया सूचनाका साथै प्राविधिक सहयोग पनि चाहिने भएकाले त्यस्ता हतियार रूसभित्र प्रयोग भए अमेरिकाले युद्धमा प्रत्यक्षरूपमा भाग लिएको मानिने भनेर रूसले भन्दै आएको थियो।
अमेरिकाले ती हतियार प्रयोग गर्न अनुमति दिएपछि चार वर्ष अघिमात्रै अद्यावधिक गरिएको आणविक हतियार प्रयोग गर्ने नीति रूसले फेरि संशोधन गरेको हो। आणविक हतियार प्रयोग गर्ने नीति फेरि संशोधन गर्ने घोषणा पुटिनले गत सेप्टेम्बरमा गरेका थिए।
अद्यावधिक गरिएको नीतिअनुसार परम्परागत हतियारले रूस वा रूसको छिमेकी बेलारूसमा गरिएको हमलाले रूसको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गम्भीर खतरा उत्पन्न भए आणविक हतियार प्रयोग गर्ने अधिकार रूससँग रहन्छ।
रूसी भाषीको बाहुल्यता रहेको बेलारूसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले आफ्नो सत्ता जोगाउनका लागि आफ्नो भूमि रूसी सेनालाई प्रयोग गर्न दिएका छन्।
पश्चिमा मिडियाका अनुसार नयाँ नीति पहिलेको भन्दा मुख्यतः दुई तरिकाले फरक छ।
पहिलो, आणविक हतियार भएको राष्ट्रले सिधै रूसमा प्रहार नगरे पनि उसले आणविक हतियार नभएको देशलाई रूसमा हमला गर्न सहयोग गर्यो भने आणविक हतियार प्रयोग गर्न सकिनेछ। यसको मतलब आणविक हतियार भएका अमेरिका लगायत पश्चिमा राष्ट्रले आणविक हतियार नभएको युक्रेनलाई रूसमाथि प्रहार गर्न सहयोग गर्यो भने रूसले आणविक हतियार प्रयोग गर्न सक्नेछ। यसअघिको नीति आणविक हतियार भएका राष्ट्रले गरेको हमलामा मात्रै केन्द्रित थियो।
अर्को, आणविक हतियार प्रयोग गर्न सकिने सीमा पनि यसले घटाएको छ। चार वर्ष अघि अद्यावधिक गरिएको नीतिअनुसार परम्परागत हतियारले गरिएको हमलाले रूसको अस्तित्वमै खतरा भए मात्रै आणविक हतियार प्रयोग गर्न सकिन्थ्यो। तर नयाँ नीतिअनुसार रूसमाथि गम्भीर खतरा मात्रै उत्पन्न भए पनि प्रयोग गर्न सकिनेछ।
रूसले आणविक हतियार प्रयोग गर्ने सीमा घटाएको घटनालाई अमेरिकाले भने खासै महत्व दिएको छैन।
रूस र अमेरिका दुवैले आफ्ना आणविक हतियार गोप्य ठाउँमा राख्छन्। तर अर्को पक्षले आणविक हतियार कहाँ राख्छ भनेर दुवैले हेरिरहेका हुन्छन्। आफूमाथि आणविक हमला हुन लागेको थाहा पाउन उनीहरूले ती ठाउँमा सुक्ष्म रूपमा निगरानी गर्छन्।
रूसले आणविक हतियार प्रयोग गर्ने नीति अद्यावधिक गरेपछि एक विज्ञप्ति जारी गर्दै अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले रूसको आणविक मान्यतामा केही परिवर्तन नदेखेको प्रतिक्रिया जनाएको छ।
उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका थिए।
युक्रेनले कब्जा गरेको रूसको कुर्स्क क्षेत्रको भूमि फिर्ता गर्न तयारी गरिरहेका रूसी-उत्तर कोरियाली सैनिक र उनीहरूले प्रयोग गर्ने हतियारको भण्डारस्थल लगायत ठाउँमा ती हतियार प्रयोग गरिने अमेरिकी अधिकारीहरूको हवाला दिँदै ती मिडियाले लेखेका थिए।
थप सैनिक पठाउनुअघि उत्तर कोरिया हच्कियोस् भनेर अमेरिकाले अनुमति दिएको मानिन्छ।
यी हतियारले ३७५ पाउण्डसम्मको बम १९० माइल टाढासम्म प्रहार गर्न सक्छन्। अमेरिकाले पहिल्यै दिएको हाइमार्स हतियारको लन्चर र त्योभन्दा पुराना बेलायती र जर्मन एम२७० लन्चरले समेत यिनलाई प्रहार गर्न मिल्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)