भारतीय उध्योगपति गौतम अदानीलाई अमेरिकाले घुसखोरीको अभियोग लगाएपछि उनको सम्पत्ति केहि घण्टामै १५ अर्ब डलरले घटेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिएका अदानीलाई अमेरिकाको धितोपत्र आयोग र न्यायाधिवक्ताको कार्यलयले बुधबार सौर्य ऊर्जाको ठेक्का पाउनका लागि भारतका सरकारी अधिकारीलाई २५ करोड डलरभन्दा धेरै घुस खुवाउने प्रस्ताव गरेको अभियोग लगाएको थियो।
मोदी सत्तामा आएपछि व्यापक रूपमा व्यवसाय विस्तार गरेर एशियाकै दोस्रो धनी बनेका अदानीका कम्पनीको शेयरमा बिहीबार भारी गिरावट आयो। अभियोग लागेको केही घण्टामै उनको सम्पत्ति १५ अर्ब डलरभन्दा धेरैले घटेको भनेर ब्लुमबर्गले लेखेको छ। अदानी समूहको बजार मूल्य भने ३० अर्ब डलरभन्दा बढीले खसेको छ।
अमेरिकी बजारसँग सम्बन्ध भए अमेरिकी कानुनले उसलाई विदेशका भ्रष्टाचार मामलाको पनि छानबिन गर्ने अधिकार दिन्छ। अदानीले घुस खुवाएर ठेक्का जितेर अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको हो।
अदानी समूहले भने सो आरोप निराधार भएको भनेर खण्डन गरेको छ।
सन् २०२० देखि २०२४ सम्मको भएको सो भ्रष्टाचार काण्डमा अदानी समूहका प्रमुख गौतम अदानी सहित उनका भतिजा सागर अदानी, अदानी पावरका प्रमुख कार्यकारी अधिकृत विनीत जैन, अज्युर पावर ग्लोबल लिमिटेडका सिरिल कबानेज, न्यु योर्क स्टक एक्सचेन्जमा दर्ता भएको नवीकरणीय उर्जा सम्बन्धी कम्पनीका पूर्व कार्यकारी रन्जित गुप्ता र रुपेश अग्रवाल, र क्यानेडियन संस्थागत लगानीकर्ता कम्पनीका पूर्व कर्मचारी सौरभ अग्रवाल र दिपक मलहोत्रालाई अमेरिकाले अभियोग लगाएको हो।
सो ५४-पाने अभियोगपत्रले उनीहरूलाई भ्रष्टाचार गरेको सरकारी छानबिनमा अवरोध गरेको समेत आरोप लगाएको छ।
आन्ध्र प्रदेशका तत्कालीन मुख्यमन्त्री वाइ एस जगन रेड्डी र गौतम अदानीबीच भेट भएपछि ९००० मेगावाटसम्मको सौर्य ऊर्जा योजनाको ठेक्का उनलाई दिइएको भनेर भारतीय कम्युनिष्ट पार्टीले २०२१मा आरोप लगाएको थियो भनेर द वायरले बिहीबार लेखेको छ। अरू धेरै ठेकेदारलाई बाँडेर दिन मिल्नेमा किन अदानी एक्लैकाई सो ठेक्का दिइयो भन्ने प्रश्न गर्दै सो दलले उक्त गोप्य भेटको विवरण सार्वजनिक गर्नुपर्ने माग राखेको थियो।
यसैबीच अदानीले भारतको सरकार चलाइरहेको आरोप लगाउँदै आएका भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले अमेरिकाले अभियोग लगाए पछि अदानीलाई तुरून्तै गिरफ्तार गर्नु पर्ने माग गरेका छन्।
अदानीलाई अमेरिकाले मुद्दा लगाएपछि यसले भारतीय अर्थतन्त्रमा ठूलो असर गर्नेछ। मोदीसँग निकट रहेका अदानीको समूहले भारतमा सयौं विमानस्थलदेखि ऊर्जा लगायत पूर्वाधार आयोजना चलाएको छ।
भर्खरै अमेरिकाको राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पको सरकारले के गर्छ भन्ने कुराले यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने निर्धारण गर्ने भए पनि अदानीको अन्तर्राष्ट्रिय महत्वकांक्षामा भने यसले असर गर्ने मानिन्छ।
सर्ट-सेलिङ गर्ने अमेरिकी फर्म हिन्डेनबर्ग रिसर्चले जनवरी २०२३ मा अदानी समूहले शेयर मूल्य छेडखानी र लेखासम्बन्धी ठगी गरेर बजार मूल्य बढाएको आरोप लगाएको थियो।
सर्ट-सेलरले उच्च मूल्य भएका कम्पनीका शेयर सापटी लिएर बेच्छ र ती शेयरको भाउ घटेपछि फेरि किनेर फिर्ता गर्छ। सापटी लिएको र फिर्ता गरेको बेलाको शेयर मूल्यमा रहेको भिन्नता उसको नाफा हुन्छ। कम्पनीले ठगी वा अरू कुनै गैरकानूनी कार्य गरेको छ भने आफैले अनुसन्धान गरेर सार्वजनिक समेत गर्छ। त्यसरी सार्वजनिक गरेपछि सो कम्पनीको शेयरको मूल्य घट्ने भएकाले सर्ट-सेलरलाई फाइदा हुन्छ।
हिन्डेनबर्ग रिसर्चले आरोप लगाए पछि घटेको अदानी समूहको शेयरको भाउ विस्तारै बढिरहेको बेलामा अमेरिकाले अदानीमाथि नै मुद्दा चलाएपछि सो समूहले झन् ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)