डोनाल्ड ट्रम्प र रिपब्लिकनको शासनकालमा पलायन हुन चाहने अमेरिकीहरूलाई लक्ष्य गर्दै इटालीको एउटा प्राचीन गाउँले आकर्षक योजना ल्याएको छ।
इटालीको सार्डिनिया टापुको ओलोलाईको एउटा प्राचीन बस्तीले त्यस्ता अमेरिकीहरूलाई अति सस्तो मूल्य एक युरोमै घर दिने योजना ल्याएको सिएनएनले जनाएको छ।
घर बेच्नका लागि लिभइनओलोलाई डटकम नामको वेबसाइट नै सुरू गरिएको छ। ओलोलाईमा बस्न चाहने अमेरिकीहरूले वेबसाइटमार्फत फाराम भर्न सक्ने बताइएको छ।
वेबसाइटमा बस्तीका खाली घरहरूको विवरण चाँडै अपलोड गरिने बताइएको छ।
घुमन्तेहरूका लागि निःशुल्क अस्थायी घर, जीर्णोद्धारको आवश्यकता पर्ने एक युरोका घरहरू र स्थायी रूपमा बस्न योग्य १ लाख युरोसम्मका घरहरू तयार रहेको भनिएको छ।
एक युरोमै जस्तोसुकै घर पाइने भने होइन। सिएनएनका अनुसार त्यहाँका घरको अवस्था हेरेर १ युरोदेखि १ लाख युरोसम्म मूल्य तोकिएको छ। त्यहाँ स्थायी रूपमै बस्न चाहनेहरूका लागि १ लाख युरोभन्दा केही महँगो पर्न सक्छ।
एक युरोमा पाइने घरहरू केही जीर्ण हुन्छन्। त्यस्ता घरहरू मर्मत गरेपछि बस्न योग्य हुन्छन्। एक युरोमै पाइने घरहरूमा अस्थायी रूपमा बस्न सकिने बताइएको छ।
अरू प्रावधानहरूका बारेमा वेबसाइटमार्फत जानकारी दिइने बताइएको छ।
सार्डिनियाका मेयर फ्रान्सेस्को कोलम्बुले अमेरिकी राष्ट्रपति चुनावकै बेला वेबसाइट बनाइएको बताएका छन्।
'खाली रहेको बस्तीलाई अमेरिकीहरूको मद्दतले पुनर्जीवित गर्न सक्छौं भन्ने विश्वास छ। यद्यपि अरू देशका नागरिकहरुले फाराम नै भर्न नपाउने भने होइन। तर अमेरिकीहरूसँग द्रुत-ट्र्याकबाट प्रक्रिया अगाडि बढ्नेछ,' मेयर कोलम्बुले भनेका छन्।
खरिदारहरूसँग समन्वयका लागि टोली नै गठन गरिएको पनि मेयर कोलम्बुले बताएका छन्।
बाक्लो बस्ती देखिए पनि ओलोलाईको जनसंख्या बर्सेनि घट्दो क्रममा छ। दस वर्षअघि त्यहाँको जनसंख्या २ हजार २५० मात्रै थियो। अहिले त्यसबाट पनि घटेर १ हजार १५० जना बाँकी रहेको सिएनएनको समाचारमा उल्लेख छ।
बस्तीमा आबादी बढाउनका लागि सार्डिनियाले त्यस्तो नीति लिएको हो।
यद्यपि यो अफर सन् २०१८ देखि नै हो। तर त्यसयता दस वटा पनि घर बिक्री नभएको मेयर कोलम्बुले सिएनएनलाई बताएका छन्।
अमेरिकी समाज रिपब्लिकन र डेमोक्र्याटका समर्थकबीच तीव्र रूपमा विभाजित छ। झन्डै आधा अमेरिकीले रिपब्लिकनलाई र आधाले डेमोक्र्याटलाई समर्थन गर्छन्।
कैयन् चुनावी मुद्दा र सामाजिक मूल्य मान्यताबारे अमेरिकी समाजमा गहिरो मतभेद मात्रै छैन, तिक्तता नै छ। त्यो मतभेद समाज र सामाजिक सञ्जालमा गालीगलौजका रूपमा प्रकट हुने गरेको छ।
त्यसमाथि डेमोक्र्याटिकका अत्यधिक समर्थकहरूले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गर्छन्। र चुनावकै बेला धेरैले डोनाल्ड ट्रम्पले चुनाव जिते चार वर्ष अमेरिका नबस्ने, अरू देशमा गएर बस्ने सार्वजनिक रूपमा बताएका थिए।
यो पनिः अमेरिकामा ट्रम्पको कार्यकाल छल्न चाहनेलाई पानीजहाजमा ४ वर्ष घुम्ने प्याकेज