अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार साँझ मतदान सुरू भएको छ।
राष्ट्रपतिका दुई मुख्य उम्मेदवार, डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा छ।
यसअघि नै आधा मतदाता अर्थात् ८ करोडले मत हालिसकेका छन् भने बाँकीले आज मतदान गर्नेछन्। अमेरिकामा मतदानको दिन अगावै हुलाकबाट आफ्नो मतपत्र पठाउन मिल्छ।
धेरैजसो अमेरिकी राष्ट्रपतीय निर्वाचनहरूमा कसले जित्न सक्छ भनेर निर्वाचनको दिनसम्म बलियो अनुमान भइसकेको हुन्छ। किनभने, त्यहाँ मत सर्वेक्षण गर्ने दर्जनौं विश्वसनीय संस्थाहरूले मतदान सुरू हुनुभन्दा धेरै महिना अगाडिदेखि सर्वेक्षण गर्छन्। सबै सर्वेक्षणहरूको औसतले प्रायः कुन उम्मेदवारले जित्छ भनेर स्पष्ट संकेत गरेका हुन्छन्।
यसपालिको चुनावमा भने मत सर्वेक्षणहरूले इतिहासकै सबभन्दा कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।
यसपालिको निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति ट्रम्प मैदानमा छन्। अरू केही उम्मेदवारहरू पनि छन्। तर उनीहरू प्रति मतदाताको समर्थन नगन्य छ।
राष्ट्रव्यापी मत सर्वेक्षणहरूले ह्यारिस र ट्रम्पबीच एक प्रतिशतभन्दा कमको मतान्तर देखाएका छन्। र, निर्वाचनको अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन्। जसको पक्षमा पनि परिणाम जान सक्छ भन्ने सम्भावनाका कारण पनि अमेरिकामा मात्र होइन, विश्वभरि नै यो निर्वाचनलाई चासोपूर्वक हेरिएको छ। त्यसै पनि महाशक्ति राष्ट्र अमेरिकाको चुनावमा अरू मुलुकलाई चासो हुने नै भयो।
अमेरिकी राष्ट्रपति मतदाताले दिएको पुपलर मतका आधारमा चुनिँदैन। अर्थात् अमेरिकाभरि जसले धेरै मत ल्यायो, त्यही व्यक्ति नै राष्ट्रपति चुनिन्छ भन्ने छैन। अमेरिकामा फरक निर्वाचन प्रणाली छ।
यहाँ जसले २७० वा त्यो भन्दा धेरै 'इलेक्टोरल कलेज' जित्यो, त्यही नै व्यक्ति राष्ट्रपति चुनिन्छ। अमेरिकी इतिहासमा अहिलेसम्म पपुलर मत धेरै ल्याएर पनि २७० इलेक्टोरल कलेज जित्न नसकेका कारण पाँच जना उम्मेदवार राष्ट्रपति हुनबाट बञ्चित भएका छन्।
अहिलेसम्म अमेरिकामा ४६ पटक राष्ट्रपतिको निर्वाचन भइसकेको छ। पछिल्लो पटक सन् २०१६ मा हिलारी क्लिन्टन, सन् २००४ मा एल गोरले धेरै पपुलर मत ल्याएका थिए। तर डेमोक्र्याटिक पार्टीको यी दुवै उम्मेदवार राष्ट्रपति निर्वाचनमा २७० इलेक्टोरल कलेज प्राप्त गर्न नसकेका कारण पराजित भए। दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा रहेका बेला एउटाले पपुलर मत जिते पनि अर्कोले धेरै इलेक्टोरल कलेज प्राप्त गरेर राष्ट्रपति निर्वाचित निर्वाचित हुने सम्भावना रहन्छ। यसपालि पनि ह्यारिसले पपुलर मत जित्ने तर २७० इलेक्टोरल कलेज प्राप्त गर्न नसक्ने हुन् कि भन्ने चिन्ताले कतिपय डेमोक्र्याटहरूलाई पिरोल्न थालेको छ।
के हो त इलेक्टोरल कलेज? कसरी चुनिन्छ?
अमेरिकामा ५० वटा राज्य छन्। प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर चुनिन्छन्। तर हाउस अफ रिप्रेजेन्टेटिभमा जनसंख्याको आधारमा प्रत्येक राज्यले सदस्यहरू चुन्छन्। जस्तै, अहिले अमेरिकामा सबभन्दा धेरै जनसंख्या रहेको क्यालिफोर्नियाबाट हाउसमा ५२ जना सदस्य चुनिन्छन्। सानोमध्येको राज्य मेनबाट दुई जना मात्र चुनिन्छन्। यसरी सबै ५० राज्य र राजधानी डिसीबाट हाउसमा जम्मा ४३८ जना सदस्य निर्वाचित हुन्छन्।
१०० जना सिनेटर र यिनै ४३८ सदस्यको संख्या जोड्दा ५३८ हुन्छ। राष्ट्रपति निर्वाचित गर्ने कलेजको संख्या पनि यसकै आधारमा ५३८ हुन्छ। यसको ५० प्रतिशतभन्दा धेरै संख्या अर्थात् २७० संख्या जसले पुर्याउँछ, ऊ नै अमेरिकी राष्ट्रपति निर्वाचित हुन्छ।
अमेरिकामा प्रत्येक राज्यका मतदाताले राष्ट्रपतिका उम्मेदवारहरूलाई मत दिन पाउँछन्। अनि त्यो राज्यमा जसले धेरै मत ल्यायो, त्यही उम्मेदवारले सो राज्यमा जित हासिल गरेको मानिन्छ। त्यसपछि सो राज्यबाट इलेक्टोरल कलेजमा जाने सबै प्रतिनिधिहरू त्यही उम्मेदवारका पक्षधर चुनिन्छन्।
उदाहरणका लागि, ह्यारिसले क्यालिफोर्निया राज्यमा ट्रम्पको भन्दा केही सय मात्र धेरै मत ल्याइन् भने पनि त्यहाँबाट चुनिने सबै इलेक्टोरल कलेजमा जाने प्रतिनिधिहरू उनकै पक्षका हुन्छन्। अमेरिकाका दुई साना राज्यहरू मेन (चार इलेक्टोरल कलेज) र नेब्रास्का (पाँच इलेक्टोरल कलेज) मा भने उम्मेदवारले पाएको मतका आधारमा इलेक्टोरल कलेजका केही प्रतिनिधिहरू बाँड्ने गरिन्छ। अरू ४८ वटै राज्यमा जसले धेरै मत ल्यायो, त्यहाँका सबै प्रतिनिधिहरू उसकै पक्षका चुनिन्छन्।
राष्ट्रपतिका उम्मेदवारहरूले चुनाव उठ्दा नै आफूले कुनै राज्यमा चुनाव जित्यो भने, त्यहाँबाट क-कसले इलेक्टोरल कलेजमा प्रतिनिधित्व गर्नेछन् भन्ने तोकेका हुन्छन्। ती प्रतिनिधिहरू प्रायः पार्टीकै बफादार कार्यकर्ताहरू हुन्छन्। यसरी प्रत्येक राज्यबाट इलेक्टोरल कलेजमा छानिने तिनै ५६८ जना प्रतिनिधिले डिसेम्बर महिनामा मतदान गरेर अन्तिम रूपमा राष्ट्रपति चुन्छन्।
इलेक्टोरल कलेजमा पार्टीकै बफादार सदस्यहरू चुनिने हुनाले मतदाताले इलेक्टोरल कलेज चुन्ने बित्तिकै को राष्ट्रपति बन्ने भयो भन्ने तय हुन्छ। त्यसैले मतदाताले हालेको मतगणना सकिने बित्तिकै फलानो राष्ट्रपति निर्वाचित भयो भन्ने चलन छ। इलेक्टोरल कलेजको मत कसैले कुरेर बस्दैन। तर पनि प्राविधिक रूपमा डिसेम्बरमा मात्र इलेक्टोरल केलजको भेलाले अन्तिम रूपमा राष्ट्रपति चुन्ने हो।
केही गरी राष्ट्रपतिका दुवै मुख्य उम्मेदवारले २६९-२६९ मत (५३८ को ठ्याक्कै आधा) प्राप्त गरे वा धेरै उम्मेदवार भएर कसैले पनि बहुमत ल्याउन सकेनन् भने, वर्तमान हाउस अफ रिप्रेजेन्टेटिभका सदस्यहरूले मतदान गरेर नयाँ राष्ट्रपति चुन्छन्। त्यस्तै सिनेटका सदस्यहरूले मतदाता गरेर उपराष्ट्रपति चुन्छन्। अहिले हाउस रिपब्लिकनको र सिनेटमा डेमोक्र्याटको बहुमत छ।
इलेक्टोरल कलेजमार्फत राष्ट्रपति चुनिने यो अनौठो र अप्रजातान्त्रिक लाग्ने निर्वाचन प्रणालीको अमेरिकाभित्रै पनि आलोचना हुने गरेको छ। प्रत्यक्ष मत जसले धेरै पाउँछ, त्यो नै राष्ट्रपति चुनिनुपर्ने आवाज धेरै अगाडिदेखि उठ्ने गरेको छ। तर त्यो आवाजले आवश्यक समर्थन पाउन सकेको छैन। यो प्रणाली फेर्न संविधान नै संशोधन गर्नुपर्ने र त्यसका लागि आवश्यक मत पुग्न कठिन हुनाले पनि यो प्रणाली फेर्न कठिन छ।
यो निर्वाचन प्रणाली सुधार गरेर जसले धेरै प्रत्यक्ष मत ल्याउँछ, त्यो नै राष्ट्रपति चुनिने प्रणाली कायम गर्न अमेरिकाको हाउस अफ रिप्रेजेन्टेन्टिभले सन् १९६९ मा प्रस्ताव पारित गरेको थियो। तर सिनेटले त्यो प्रस्ताव अस्वीकृत गरेपछि इलेक्टोरल कलेजमार्फत नै राष्ट्रपति चुन्ने प्रणाली कायम रह्यो। साना-ठूला सबै राज्यबीच सन्तुलन कायम रहोस् भन्ने धेयले संविधान निर्माताहरूले इलेक्टोरल कलेजको व्यवस्था गरेका हुन्।
इलेक्टोरल कलेजका कारण चुनावका बेला सबैको ध्यान मुख्य रूपले प्रतिस्पर्धी देखिएका राज्यहरूमा मात्र केन्द्रित हुने गरेको छ।
उदाहरणका लागि, लामो समयदेखि क्यालिफोर्निया र न्यूयोर्कले डेमोक्य्राटिक पार्टीलाई मात्र जिताउने गरेका छन्। त्यस्तै अर्का दुई ठूला राज्यहरू टेक्सस र फ्लोरिडामा पनि रिपब्लिकनहरूको पकड देखिएको छ। त्यसैले यी जस्ता डेमोक्र्याट वा रिपब्लिकनलाई जिताउने लगभग पक्का देखिएका राज्यहरू प्रति थोरै मानिसहरूको मात्र ध्यान छ।
यसपालिको चुनावमा सात राज्यहरूमा ह्यारिस र ट्रम्पबीच मुख्य प्रतिस्पर्धा देखिएको छ; पेन्सिलभेनिया, विस्कनसिन, मिचिगन, जर्जिया, नर्थ क्यारोलिना, एरिजोना र नेभाडा। यी सबै राज्यहरूमा ह्यारिस र ट्रम्पबीच दुई प्रतिशतभन्दा तलको मात्र मतान्तर रहेको सर्वेक्षणहरूले देखाएका छन्।
यी राज्यमध्ये पेन्सिलभेनिया, विस्कनसिन र मिचिगन मात्रै जिते पनि ह्यारिसको पक्षमा २७० इलेक्टोरल मत पुग्ने अनुमान छ। ट्रम्पले यी तीनमध्ये कुनै एउटा राज्य जितेमा उनको सम्भावना बढ्नेछ र ह्यारिस राष्ट्रपति बन्न कठिन हुनेछ।
अहिले चुनिएको राष्ट्रपतिको पदबहाली भने आगामी वर्ष जनवरी २० मा हुनेछ।