हरेक दिन आफ्नो संविधानलाई समर्थन गर्ने अनलाइन याचिकामा हस्ताक्षर गर्ने एक जनालाई १० लाख डलर दिने घोषणा गरेका अर्बपति उद्यमी एलन मस्कले शनिबार एक जनालाई सो रकमको चेक दिएका छन्।
‘(संविधानको) पहिलो र दोस्रो संशोधनले अभिव्यक्ति स्वतन्त्रता र हतियार राख्ने अधिकार प्रत्याभूति गर्छ। तल हस्ताक्षर गरेर म पहिलो र दोस्रो संशोधनलाई समर्थन गर्ने वाचा गर्छु,’ आगामी अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन आफ्नो सारा शक्ति लगाइरहेका मस्कको अनलाइन याचिकामा लेखिएको छ।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सबै अमेरिकीले समर्थन गरे पनि हतियार राख्ने अधिकारको समर्थन रिपब्लिकनहरूले धेरै गर्छन्।
चुनावको करिब दुई हप्ता अघि पेन्सिल्भेनिया राज्यमा उनले पूर्व राष्ट्रपति ट्रम्पको समर्थनमा आयोजना गरेको एक कार्यक्रममा जोन ड्रेहर नाम गरेका व्यक्तिलाई उनको याचिकामा हस्ताक्षर गरेबापत १० लाख डलरको चेक दिएका छन् भनेर समाचार संस्था रोयटर्सले लेखेको छ।
‘खैर, जोनलाई केही थाहा थिएन। त्यसैले तपाइलाई स्वागत छ,’ चेक हस्तान्तरण गर्दै मस्कले भने।
वर्तमान उप-राष्ट्रपति र डेमोक्र्याटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसले आगामी निर्वाचन जिते यो अन्तिम निर्वाचन हुने भनेर सो कार्यक्रममा उनले भनेका छन्।
ह्यारिसले जिते अमेरिका देश नै नरहने हो वा उनले चुनाव नगराइ तानाशाही व्यवस्था चलाएर वा अरू कुनै कारणले यो अन्तिम निर्वाचन हुने हो भन्ने चाहीँ मस्कले खुलाएनन्।
मस्कले आगामी निर्वाचनमा ट्रम्पलाई समर्थन मात्रै गरेका छैनन्। उनले किनेको पहिले ट्विटर भनिने सामाजिक संजाल एक्सलाई ट्रम्पलाई चुनावमा फाइदा हुनेगरी चलाइरहेका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले अहिलेसम्म ट्रम्पलाई चुनाव प्रचारको लागि करोडौं डलर दिइसकेका छन्।
पछिल्ला दिनमा उनी दुई दलबीच कडा प्रतिस्पर्धा हुने अमेरिकाका थोरै मात्रै राज्यमध्येको एक पेन्सिल्भेनियामा लगातार ट्रम्पको समर्थनमा आयोजित कार्यक्रममा भाग लिइरहेका छन्।
अमेरिकामा अरू देशमा जस्तो लोकप्रिय मतका आधारमा राष्ट्रपतीय निर्वाचन हुने भए ट्रम्पले हार्ने लगभग निश्चित जस्तैछ। तर त्यहाँ इलेक्टोरल कलेजका आधारमा निर्वाचन हुन्छ। प्रायजसो सबै राज्यमा कुन दलले जित्छ भन्ने निश्चितजस्तै हुन्छ। प्रतिस्पर्धा हुने केही साना राज्यको परिणामले कसले जित्छ भन्ने निर्धारण गर्छ। त्यसैले मस्क पेन्सिल्भेनियामा खटिरहेका छन्। हरेक दिन एक जनालाई १० लाख डलर दिने घोषणा गरेर ट्रम्पलाई चुनावमा फाइदा पुर्याउन खोजिरहेका छन्।
ट्रम्पले पहिले नै चुनाव जिते सरकारको प्रभावकारिता बढाउन मस्कलाई आफ्नो मन्त्रिमण्डलमा राख्ने घोषणा गरिसकेका छन्।
मस्कको कार कम्पनी टेस्लाले अमेरिकी सरकारको विद्युतीय गाडी प्रबर्द्धन गर्ने नीति अनुसार अनुदानमा अर्बौं डलर पाइरहेको छ। उनको अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेस-एक्सले पनि नासा लगायत सरकारी संस्थासँग अर्बौं डलरको करार गरेको छ।
डेमोक्रेटिक पार्टी सत्तामा हुँदा पनि मस्कका कम्पनीले सरकारबाट अर्बौं डलर पाइरहेका छन्। ट्रम्पले जितेर उनी मन्त्री भए ट्रम्पलाई जिताउने अहिले खर्च गरेको करोडौं डलरको बदलामा सरकारबाट उनले झन् धेरै फाइदा लिन सक्नेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)