अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानको चीन भ्रमणले दुई महाशक्ति बीचको सम्बन्ध सुधारका लागि भइरहेको प्रयासलाई जारी राखेको छ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सुरू गरेको चीनसँगको व्यापार युद्धका कारण दुई देशको सम्बन्ध बिग्रिन थालेको थियो।
सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट सुरू भएको कोभिड महामारीका बेला चीनले छानबिनमा सहकार्य नगरेको अमेरिकाले आरोप लगाए पछि सम्बन्ध झन् चिसिएको थियो। सन् २०२२ अगस्टमा तत्कालिन अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि त सम्बन्ध अझै बिग्रिएको थियो।
त्यसपछि सन् २०२३ जनवरीको अन्त्यमा चीनको जासुसी बलुन अमेरिकी आकाशमा देखिए पछि सम्बन्ध झन् असहज बनेको थियो। सो जासुसी बलुनले अरू तरिकाले अमेरिकाबारे लिन सकिने खुफिया सूचना भन्दा बढी खासै केही संकलन गर्न नसक्ने भए पनि तनाव भने बढेको थियो। सम्बन्ध सुधारका लागि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले फेब्रुअरीमा गर्न लागेको चीन भ्रमण भाँडिएको थियो।
सन् २०२३ को नोभेम्बरमा चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाको सान फ्रान्सिस्कोमा बाइडेनसँग भेटेपछि बल्ल सम्बन्धमा सुधार हुन थालेको थियो।
दुई नेताले अरू विषयमा कुरा गर्नुका साथै पेलोसीको ताइवान भ्रमण पछि रोकिएको सेनाको तहमा संवाद सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
शीत युद्ध ताका तत्कालीन सोभियत संघ र अमेरिकाबीच भूलवश युद्ध नहोस् भनेर सेनाको तहमा हटलाइन थियो। र दुई आणविक शक्तिका सेनाहरू लगातार सम्पर्कमा हुन्थे।
अहिले प्रतिस्पर्धामा रहेका महाशक्ति चीन र अमेरिकाबीच ताइवानका कारण युद्ध नै हुनसक्ने खतरा भएको बेलामा सेनाको तहमा लगातार संवाद नहुँदा साना कारणले पनि युद्ध सुरू हुन सक्ने डर थियो।
सलिभानको अहिलेको चीन भ्रमणमा अमेरिकाको इण्डो-प्यासिफिक कमाण्डका प्रमुख र उनका चिनियाँ समकक्षीबीच वार्ता गर्नेबारे पनि कुरा भएको भनेर द फाइनान्सियल टाइम्सले लेखेको छ।
सलिभानको भ्रमण पछि सी र बाइडेनले केही हप्ता भित्रै टेलिफोनमा कुराकानी गर्नेछन् भनेर हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। त्यस्तै सलिभानको भ्रमणले सी र बाइडेनबीच अर्को शिखर सम्मेलनका लागि पनि आधार तय गरेको छ।
बाइडेन उपराष्ट्रपति हुँदा चीन भ्रमणमा गए पनि राष्ट्रपति भए पछि चीन गएका छैनन्। त्यसो त उनको कार्यकालको सुरूवातमा कोभिड महामारीका कारण चीनले सबै विदेशीका लागि ढोका बन्द गरेको थियो। कोभिड महामारी पछि पनि असहज सम्बन्धका कारण उनी चीन गएनन्। र यो कार्यकाल भरि पनि चीन जाने छैनन्। यसरी उनी जिम्मी कार्टर पछि आफ्नो कार्यकालमा चीन भ्रमण नगर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्ने छन्।
बाइडेन आफू चीन भ्रमणमा नगए पनि सलिभानको चीन भ्रमण पछि उनको र सीको अर्को शिखर सम्मेलन हुने सम्भावना बढेको छ। अमेरिकामा राष्ट्रपतीय निर्वाचन भइसकेपछि नोभेम्बर महिनामा उनीहरू पेरूमा हुन लागेको एशिया प्यासिफिक इकोनमिक कोअपरेसन (एपेक) फोरम, वा जी-२० राष्ट्रको ब्राजिलमा हुने सम्मेलनमा उनीहरू भेट्ने अनुमान गरिएको छ।
सरकार प्रमुखबीच र मन्त्री र सैनिक जनरलहरूको स्तरमा लगातार संवाद भइरहँदा दुई महाशक्ति प्रतिस्पर्धा गरिरहे पनि युद्ध हुने खतरा कम हुन्छ। अर्को तर्फ उनीहरू आ-आफ्ना स्वार्थ बाझिने विषयमा प्रतिस्पर्धा गरिरहे पनि जलवायु परिवर्तन लगायत दुवैको स्वार्थ मिल्ने विषयमा सहकार्यको बाटो खुल्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)