अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी स्वीकार गरेकी छिन्।
सिकागो शहरमा केही घण्टा अघि सकिएको डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनले ह्यारिसलाई आधिकारिक रूपमा उम्मेदवार बनाएको हो।
नोभेम्बर ५मा हुने राष्ट्रपतीय निर्वाचनमा अब उनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन्।
ह्यारिसले मिनेसोटाका ६० वर्षीय गभर्नर टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवार चुनेकी छन्।
पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी स्वीकार गर्दै उनले, 'अगाडि बढ्ने नयाँ बाटोमा' सबै अमेरिकीलाई एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै देशलाई सधैं आफू र पार्टीभन्दा माथि राख्ने वाचा पनि गरिन्।
सुरूमा हालका राष्ट्रपति जो बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार थिए। तर गत जुन २७ मा ट्रम्पसँगको राष्ट्रपतीय बहसमा उनको प्रस्तुति निकै खराब भयो। ८१ वर्षीय बाइडेनमा उमेरजन्य समस्या देखिएको भन्दै फेरि उम्मेदवार नबन्न दबाब पर्यो। यसपछि बाइडेनले जुलाई २१ मा उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए।
सबैजसो चुनावी सर्वेक्षणमा ट्रम्पसँग हार्ने देखिएपछि बाइडेनले राष्ट्र र पार्टीको हितका लागि सो निर्णय लिएको जानकारी दिएका थिए। त्यस्तै उनले डेमोक्र्याटिकबाट कमला ह्यारिसलाई राष्ट्रपतिका उम्मेदवारका रूपमा समर्थन गरेका थिए।
राष्ट्रपतिको निधन भए वा काम गर्न नसक्ने गरी बिरामी भएमा, जसरी उपराष्ट्रपतिले सोझै राष्ट्रपतिको पदभार सम्हाल्छन्, चुनावमा उम्मेदवारी दिने हकमा त्यसो हुँदैन। बाइडेनले मैदान छाडेपछि ह्यारिस स्वाभाविक रूपमा प्रमुख दाबेदार भए पनि अरूले उनलाई चुनौती दिन सक्ने थिए। तर कसैले पनि चुनौती नदिए पछि उनी उम्मेदवार बनेकी हुन्।
रिपब्लिकन मात्रै नभएर डेमोक्र्याटिक पार्टीकै पनि कतिले योग्यताभन्दा लिंग र जातका कारण उनलाई बाइडेनले २०२०मा उपराष्ट्रपतिका लागिछानेकोबताएका थिए। धेरैले उनी अश्वेत महिला भएकाले मात्र प्रगतिशील डेमोक्र्याटिक पार्टीका बाइडेनले उपराष्ट्रपति बनाएको ठान्छन्।
उसो त बाइडेनले सुरूमै उपराष्ट्रपति महिला चुन्ने घोषणा गरेका थिए। मे २५ मा एक श्वेत प्रहरी अधिकारीले घुँडाले थिचेर अश्वेत पुरूष जर्ज फ्लोएडको हत्या गरेपछि देशव्यापी विरोध भयो। यसपछि बाइडेनले ह्यारिसलाई छानेका थिए।
त्यो बेला क्यालिफोर्नियाकी सिनेटर रहेकी ह्यारिस पनि राष्ट्रपतीय दौडमा थिइन्। तर उनको प्रदर्शन राम्रो भएन र सम्भावना बलियो देखिएन। उनले छिट्टै त्यो दौड छाडिन्। त्यसैले ह्यारिसले अहिले ट्रम्पविरूद्धको दौडमा पनि राम्रो प्रदर्शन गर्न नसक्ने सोच धेरैको छ।
अर्कातिर ह्यारिसले साढे तीन वर्ष उपराष्ट्रपतिका रूपमा राम्रो काम गरेर आफ्नो छवि बनाउन सकेकी छैनन्। हुन त राष्ट्रपतिले दिएको विभिन्न जिम्मेवारी बहन गर्नेबाहेक उपराष्ट्रपतिको खास भूमिका हुँदैन। सीमित भूमिकामै पनि उनले राम्रो छाप छोड्न भने सकेकी छैनन्।
त्यसैले सुरूदेखि नै ह्यारिसले ट्रम्पलाई हराउने सम्भावना बाइडेनको भन्दा कम मानिएको थियो। तर बाइडेनको उमेरजन्य समस्याका कारण उनले हार्ने देखिए पछि उनले चुनावी दौड छाडेका थिए।
बाइडेनले छोडेपछि र ह्यारिस उम्मेदवार बन्ने पक्का-पक्की भएपछि भने उनको तर्फमा लहर चलेको छ। प्रायजसो सर्वेक्षणमा उनले ट्रम्पलाई हराउने देखाएका छन्।