जो बाइडेनले आगामी राष्ट्रपतिको दौड छाड्ने संकेत देखिएको छ।
गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति दिएका थिए। त्यसपछि डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई दबाब परेको थियो।
रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बहसमा ८१ वर्षीय बाइडेन धेरैपटक बीचबीचमा रोकिएका थिए। उनले बोल्दा वाक्यहरू पनि पूरा गर्न सकेका थिएनन्। एउटा शब्द बोल्नुपर्नेमा झुक्किएर अर्कै शब्द बोलेका थिए। नबुझिने गरी भकभकाएका र बर्बराएका थिए।
बहसपछि परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएका द न्यूयोर्क टाइम्स, द एट्लान्टिक, द न्यू योर्कर लगायतले बाइडेनले अब राष्ट्रपतिको दौड छोड्नुपर्ने लेखेका थिए। रिपब्लिकन पार्टीको समर्थन गर्ने वाल स्ट्रीट जर्नलले समेत यस्तै लेखेको थियो।
बाइडेनले दौड छोड्नुपर्ने भन्दै सुरूमा डेमोक्र्याटिक पार्टीलाई चन्दा दिनेहरूले गाइँगुइँ गरेका थिए। पछि पार्टीका प्रभावशाली नेताहरूले भित्रभित्रै त्यस्तो माग गरे। तर बाइडेन दौड नछाड्ने भनेर दृढ रहे।
अहिले भने बाइडेनले आफ्नो सोच बदलेको र अन्ततः राष्ट्रपतिको मैदान छाड्ने संकेत देखिन थालेको छ।
शुक्रबार सबैजसो पश्चिमा मिडियाहरूले अब बाइडेनले दौड छोड्न लागे भन्ने खालका समाचारहरू लेखेका छन्।
टाइम्सले ‘बाइडेन निकटका मान्छे भन्छन्- उनले छोड्नुपर्ने हुनसक्छ भन्ने स्वीकार गरेको देखिन्छ’ शीर्षकमा समाचार छापेको छ। बाइडेन निकट ती व्यक्तिका अनुसार बाइडेनले चाँडै राष्ट्रपतिको दौड छाडेर उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार समर्थन गर्ने संकेत देखिएको छ। त्यस्तै बाइडेनले छाडे भने कुन समयमा घोषणा गर्न उत्तम हुन्छ भन्ने लगायत विषयमा उनका सल्लाहकारहरूले छलफल गर्न थालेका छन्।
टाइम्सको समाचार अनुसार बाइडेनलाई राष्ट्रपति दौडबाट बाहिरिने गरी तीन कुराले प्रभाव पारेको छ।
पहिलो हो, प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले खुलेरै बाइडेनले छोड्नुपर्छ भन्नु।
दोस्रो, नयाँ मत सर्वेक्षणले बाइडेनले जित्ने सम्भावना झनै कम देखाउनु।
र तेस्रो, केही मुख्य चन्दादाताले उनको बहिष्कार गर्नु।
फाइनान्सियल टाइम्सले पनि केही प्रमुख चन्दादाता र पार्टी नेताको हवाला दिँदै बाइडेनले छाड्न लागेको भनेर लेखेको छ। डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता एवं सिनेटका बहुमत पक्षका नेता चक सुमर निकट एक चन्दादाताले यो प्रसंग चाँडै टुंगिने बताएका छन्। एक वरिष्ठ नेताले ‘थामिनसक्नु दबाब’ भएको पनि बताएका छन्।
त्यस्तै द वासिङटन पोस्टका अनुसार पूर्वसभामुख न्यान्सी पेलोसीले बाइडेनलाई छोड्न मनाउन सकिने भनेर डेमोक्र्याटिक पार्टीका प्रतिनिधि सभा सदस्यहरूलाई भनेकी छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले पनि आफू निकटसँग बाइडेनको जित मुस्किल भएकाले उनले आफ्नो उम्मेदवारीबारे गम्भीर रूपमा सोच्नुपर्ने भन्न थालेका छन्। बाइडेन सन् २००८ देखि २०१६ सम्म ओबामाका उपराष्ट्रपति थिए। तर ओबामाले आफूले भनेर मात्रै बाइडेनले छाड्छन् भनेर दबाब दिनु गलत भएको बताएका छन्।
यसबाहेक अरू थुप्रै मिडियाले बाइडेन पछि हट्न सक्ने लेखेका छन्।
कति मिडियाले त ट्रम्पको चुनावी अभियानको टिमले डेमोक्र्याटिक पार्टीबाट अर्का उम्मेदवार आए भने के गर्ने भनेर तयारी नै गर्न थालेको जनाएका छन्।
पछिल्लो समय बाइडेनमा उमेरजन्य समस्याहरू देखिँदै आएका छन्। बाइडेनको घरमा भेटिएको गोप्य कागजातबारे स्पेसल काउन्सेल रोबर्ट हरले छानबिन गरी गत फेब्रुअरीमा बुझाएको प्रतिवेदनले बाइडेनको उमेर र स्मरण शक्तिबारे पहिलो पटक प्रश्न उठाएको थियो। प्रतिवेदनले त्यो मामिलामा फौजदारी मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो तर बाइडेनको स्मरण शक्ति ज्यादै सीमित भएको दाबी गरेको थियो।
बाइडेन असल नियत भएका तर बढ्दो उमेरका कारण उनको दिमागी तीक्ष्णता कम हुँदै गएका मानिस भनिएको थियो। उनलाई उपराष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकाल कहिले सकिएको थियो भन्ने सम्झना नभएको भनेर प्रतिवेदनले औंल्याएको थियो। यति मात्र होइन, बाइडेनलाई आफ्ना जेठा छोरा बो बाइडेनको निधन कहिले भएको समेत सम्झना नभएको भनेको थियो।
त्यति बेला रिपब्लिकन पार्टीसँग आबद्ध हरले चुनावको वर्ष बाइडेनको बढ्दो उमेर र घट्दो स्मरण शक्तिको कुरा निकालेको र रिपब्लिकन पार्टीलाई फाइदा हुने काम गरेको भनेर बाइडेन सरकारका अधिकारी र डेमोक्र्याटिक पार्टीका नेताहरू हरविरूद्ध खनिएका थिए।
तर तीन साताअघिको ट्रम्पसँगको बहसमा बाइडेनको कमजोर प्रस्तुतिले फेरि सो विषय जोडतोडले उठेको थियो।
बहसमा बाइडेनको प्रदर्शन यति खराब थियो कि, सहजकर्ताले जब ट्रम्पलाई बाइडेनका भनाइमा प्रतिक्रिया जनाउन भने, ट्रम्पले बाइडेनले बोलेकै बुझिनँ भनिदिए। बाइडेन आफैलाई पनि के भनिरहेको छु भन्ने थाहा नभएको जस्तो लाग्छ भन्दै उडाए पनि।
बाइडेनलाई बोल्नमा समस्या त थियो नै, बहस क्रममा उनको शारीरिक हाउभाउ पनि ठीक थिएन। बहसभरि उनको अनुहार र हाउभाउले उनलाई साथ दिएको थिएन।
सो बहस अरू बेलाको राष्ट्रपतीय बहस हुनुपर्ने समयभन्दा धेरै अगाडि भएको थियो। ८१ वर्ष पुगेका बाइडेन स्वास्थ्यका हिसाबले राष्ट्रपतिका रूपमा काम गर्न 'फिट' छन् भन्नेमा धेरै अमेरिकी जनताले आशंका व्यक्त गर्दै आएका र मत सर्वेक्षणहरूमा ट्रम्प अगाडि देखिएकाले बाइडेनले नै बहस जुनमै गर्ने प्रस्ताव गरेका थिए।
अमेरिकी जनतामा रहेको यो आशंका चिर्न र आफू राष्ट्रपतिका रूपमा काम गर्न शारीरिक र बौद्धिक हिसाबले फिट छु भनेर देखाउन बाइडेनले प्रस्ताव गरेको परीक्षामा उनी आफै फेल भएकाले दौड छोड्नुपर्ने भनेर धेरैले जोड दिएका थिए।
बाइडेनका सहयोगी र सचिवालयका मानिसहरूले बहस चल्दै गर्दा नै उनलाई रूघा लागेकाले उनको प्रस्तुति त्यस्तो भएको भन्दै बचाउ गरेका थिए।
त्यस्तै डेमोक्र्याटिक पार्टीका केही नेताले उनको प्रस्तुतिले केही फरक नपार्ने भनेका थिए। सन् १९८४ मा दोस्रो कार्यकालका लागि चुनाव लड्नुअघि डेमोक्र्याटिक उम्मेदवार वाल्टर मोन्डेलसँगको पहिलो बहसमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले पनि बाइडेनको जस्तै प्रस्तुति दिएको उनीहरूले औंल्याएका थिए। त्यसका बाबजुद २० औं शताब्दीका अमेरिकाका सफल राष्ट्रपतिमध्ये एक मानिने रेगन ५३८ मध्ये ५२५ इलेक्टोरल कलेज भोट जित्दै ऐतिहासिक अन्तरले विजयी भएका थिए।
बहस लगत्तै बाइडेन स्वयंले आफूले दौड नछोड्ने बताएका थिए। बहसको भोलिपल्ट शुक्रबार नर्थ क्यारोलाइना राज्यमा आयोजित एक चुनावी सभामा उनी धेरै ऊर्जावान पनि देखिएका थिए। दुई दलबीच कडा प्रतिस्पर्धा हुने अमेरिकाका थोरै मात्रै राज्यमध्येको एक नर्थ क्यारोलाइनामा आयोजित सो कार्यक्रममा बाइडेन अघिल्लो रातको भन्दा बेग्लै मान्छे जस्ता देखिएका थिए।
सो कार्यक्रममा बाइडेनले आफू जवान छैन भन्ने आफूलाई थाहा भएको बताए। पहिले जस्तो सजिलै हिँड्न, फरर्र बोल्न र बहस गर्न नसके पनि आफूलाई सत्य बोल्न आउने, सही र गलत छुट्टयाउन सक्ने भन्दै राष्ट्रपतिका रूपमा काम गर्न आउनेमा जोड दिएका थिए। उनको भाषणपछि कतिपय डेमोक्र्याटिक नेता-कार्यकर्ताले बाइडेनको पुनरागमन भइसकेको बताएका थिए। स्पेसल काउन्सेल रोबर्ट हरले फेब्रुअरीमा बुझाएको प्रतिवेदनपछि बाइडेनको उमेर र स्मरण शक्तिबारे उठेको संशय पनि गत मार्च ७ को स्टेट अफ द युनियनको दमदार भाषणले चिरेको उनीहरूले याद दिलाएका थिए।
तर मार्चको र बहसको भोलिपल्टको दुवै भाषणमा उनले टेलिप्रम्पटर प्रयोग गरेको भन्ने कुरा उठेको थियो। त्यसैले एक सातापछि, जुलाई ५ मा उनले एक अन्तर्वार्ता दिँदै आफू शारीरिक र बौद्धिक हिसाबले फिट छु भनेर देखाउने निर्णय गरे।
डेमोक्र्याटिक पार्टीनिकट भए पनि एबिसी न्युजका जर्ज स्टेफनोपोलसले उक्त अन्तर्वार्तामा कडा प्रश्न सोधेका थिए। बाइडेनले बहसमा भन्दा धेरै राम्रो प्रस्तुति दिए र दौड नछाड्ने दृढता देखाए। भगवान आफै आएर दौड छोड् भने मात्रै छोड्ने भने।
'तर भगवान धर्तीमा आउनेवाला छैनन्,' उनले यसो भन्दै गर्दा उनी कति दृढ छन् भन्ने स्पष्ट हुन्थ्यो।
यति दृढ बाइडेन दुई सातापछि कसरी दौड छाड्ने मनस्थितिमा पुगे?
बाइडेनलाई अल्जाइमर्स वा मस्तिष्कसम्बन्धी कुनै रोग लागेको अहिलेसम्म खुलेको छैन।
तर पार्किन्सन्स रोगका एक विशेषज्ञ डाक्टर ह्वाइट हाउस धाइरहेको कुरा सोही अन्तर्वार्ताको दुई-तीन दिनपछि खुलासा भएको थियो। अमेरिकी राष्ट्रपति लगायत उच्च सरकारी अधिकारीको उपचार गर्ने वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरका न्युरोलोजिस्ट डाक्टर केभिन कन्नार्ड सन् २०२३ जुलाईदेखि गत मार्चसम्म, आठ महिनामा आठपटक ह्वाइट हाउस पुगेका खुलासा भएको हो।
जुन २७ को बहसका बेला बाइडेनको अनुहारमा हाउभाउ नदेखिएकाले कतिपयले पार्किन्सन्सका बिरामीमा यस्तै समस्या हुने औंल्याएका पनि थिए।
डाक्टर केभिन कन्नार्ड बाइडेनलाई जाँच्न गएका थिए कि अरू कुनै कामले भन्ने चाहिँ खुलेको छैन। ह्वाइट हाउसका डाक्टर केभिन ओ कनरले भने विज्ञप्ति निकाल्दै डाक्टर कन्नार्डले बाइडेन राष्ट्रपति भएपछिको साढे तीन वर्षमा बाइडेनलाई तीनपटक मात्र भेटेको बताएका छन्। तर बाइडेनको स्वास्थ्य जाँच्न भेटेका थिए कि अरू कारणले भनेर बताएका छैनन्।
यसको एक साता नबित्दै जुलाई १४ मा, पेन्सिलभेनियाको बट्लरमा चुनावी र्याली क्रममा ट्रम्पमाथि गोली प्रहार भयो। गोली दाहिने कानको माथिल्लो भागमा लागेकाले ट्रम्प जोगिए। त्यसपछि ट्रम्पको पक्षमा माहौल अझै बलियो बनेको छ।
बुधबार मात्रै बाइडेनलाई तेस्रोपटक कोरोना संक्रमण पुष्टि भयो। उनी चुनाव प्रचार छाडेर अहिले डेलावेयर राज्यस्थित आफ्नो छुट्टी मनाउने घरमा आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य सामान्य भनिएको छ। तर कोरोना लागेर चुनाव प्रचार नै छोड्नुपरेकाले उनको स्वास्थ्य र उमेरजन्य समस्याबारे चर्चा फेरि चुलिएको छ।
त्यस्तै पछिल्ला दिनमा पूर्वसभामुख न्यान्सी पेलोसीका कारण पनि बाइडेनले पछि हट्ने मनस्थिति बनाएका हुन सक्छन्।
सन् १९८७ देखि लगातार प्रतिनिधि सभा सदस्य रहेकी ८४ वर्षीया पेलोसी बाइडेनकी समकालीन हुन्। लामो समय सिनेटर रहेका बाइडेन र प्रतिनिधि सभा सदस्य रहेकी पेलोसीले डेमोक्र्याटिक पार्टीका लागि मिलेर संसदमा काम गरेका थिए। बाइडेन सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपति हुँदा र अहिले राष्ट्रपति हुँदा पनि उनीहरूको सहकार्य जारी छ।
पछि पेलोसी प्रतिनिधि सभा सभामखु भइन्। सन् २०२२ नोभेम्बरमा उनले चुनाव जिते पनि नयाँ पिँढीलाई मौका दिने भनेर डेमोक्र्याटिक पार्टीको नेताको पद छाडेकी थिइन्। तिनै पेलोसीले बाइडेनको हार भइहालेमा डेमोक्र्याटिक पार्टीले सिनेट र प्रतिनिधि सभाको चुनाव पनि हार्न सक्छ भनेर सम्झाइरहेकी छिन्।
त्यस्तै बाइडेनले पनि आफ्ना कारणले डेमोक्र्याटिक पार्टीले संसद पनि गुमाउन सक्ने भनेर पनि छोड्ने मनस्थिति बनाएका हुन सक्छन्। पछिल्ला दिनमा डेमोक्र्याटिक पार्टीका ठूला चन्दादाताले छोड्न थालेकाले पनि उनीमाथि दबाब बढेको हुन सक्छ।
अब प्रश्न उठ्छ, बाइडेनले दौड छाडे के हुन्छ?
उनले मैदान छाडे उनकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिका लागि स्वाभाविक दाबेदार हुन्छिन्।
राष्ट्रपतिको निधन भए वा काम गर्न नसक्ने गरी बिरामी भएमा, जसरी उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार सम्हाल्छन्, चुनावमा उम्मेदवारी दिने हकमा भने त्यसो हुँदैन। बाइडेनले मैदान छाडे ह्यारिसलाई समर्थन गर्छन् भन्ने अपेक्षा छ।
गत साता नेटो शिखर सम्मेलनपछि भएको पत्रकार सम्मेलनमा बाइडेनले ह्यारिसलाई उपराष्ट्रपति चयन गर्दा नै उनी राष्ट्रपतिका लागि योग्य लागेको भनेका थिए। पार्टीका अरू धेरै नेताले पनि ह्यारिसलाई समर्थन गर्ने आकलन छ।
तर ह्यारिसले ट्रम्पलाई हराउने सम्भावना बाइडेनको भन्दा पनि कम मानिन्छ। त्यसैले उनीविरूद्ध अरूले पनि उम्मेदवारी दिन सक्नेछन्। चुनावको सँघारमा नयाँ उम्मेदवार को बन्ने भनेर पार्टी विभाजित भयो भने चाहिँ ट्रम्पलाई हराउन अझै मुस्किल पर्नेछ।
यसअघि सन् १९६८ को राष्ट्रपतीय चुनावअघि डेमोक्र्याटिक पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपतिले अर्को कार्यकाल नउठ्ने भएपछि पार्टी विभाजित भएर रिपब्लिकनले जितेको थियो। तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ नोभेम्बरमा हत्या भएपछि राष्ट्रपति बनेका केनेडीका उपराष्ट्रपति लिण्डन जोन्सनले १९६४ को राष्ट्रपति चुनाव पनि जितेका थिए। तर भियतनाम युद्धका कारण लोकप्रियतामा ह्रास आएपछि पार्टीभित्रै उनको विरोध भएको थियो।
सन् १९६८ को चुनावअघि डेमोक्र्याटिक पार्टीबाट अरूले पनि उम्मेदवारी घोषणा गरेपछि जोनसन दबाबमा परे। जोन एफ केनेडीका भाइ रोबर्ट केनेडीले पनि उमेदवारी घोषणा गरेपछि सन् १९६४ मार्च ३१ मा जोनसनले अर्को कार्यकाल नलड्ने घोषणा गरे। रोबर्ट केनेडीको पनि हत्या भएपछि डेमोक्र्याटिक पार्टीबाट जोन्सनका उपराष्ट्रपति ह्युबर्ट हम्फ्री उम्मेदवार भए। तर उनी रिपब्लिकन पार्टीका रिचर्ड निक्सनसँग पराजित भए।
यस्तो इतिहासका कारण कमजोर मानिएकी ह्यारिसका विरूद्ध उम्मेदवारी दिन अरू डेमोक्र्याटिक नेतालाई अप्ठ्यारो छ। तर उनले ट्र्म्पसँग हार्छिन् भनेर कसै न कसैले भने उम्मेदवारी दिने अनुमान छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)