अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जेम्स डेभिड (जेडी) भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्।
ओहायोका सिनेटर जेम्सले ट्रम्पलाई अमेरिकाका हिटलर भन्ने गरेका छन्।
अमेरिकी राष्ट्रपतिका लागि चुनाव लड्ने उम्मेदवारले आफूले चाहेको व्यक्तिलाई उपराष्ट्रपति बनाउन पाउँछ। तर उपराष्ट्रपति छान्दा निर्वाचनअघि नै छान्नुपर्छ। राष्ट्रपतीय उम्मेदवारले निर्वाचन जिते उनका उपराष्ट्रपति उम्मेदवार स्वतः निर्वाचित हुन्छन्।
राष्ट्रपतीय उम्मेदवारले प्राय आफूसँग काम गर्न सजिलो हुने खालका व्यक्तिलाई उपराष्ट्रपति छान्छन्। उपराष्ट्रपतिका लागि जनताले मतदान नगर्ने भए पनि आफ्नो प्रभाव कम भएको समुदाय वा वर्गको भोट आकर्षण गर्न सक्नेलाई चयन गर्छन्। ट्रम्पले भने आफूजस्तै चरम दक्षिणपन्थी र अमेरिकी स्वार्थलाई मात्रै सर्वोपरी ठान्ने भान्सलाई छानेका छन्।
राष्ट्रपतिले दिएको विभिन्न जिम्मेवारी बहन गर्नेबाहेक अमेरिकामा उपराष्ट्रपतिको खासै भूमिका हुँदैन। तर राष्ट्रपति काम गर्न नसक्ने भए वा निधन भएमा उपराष्ट्रपति नै बाँकी कार्यकाल राष्ट्रपति बन्ने प्रावधान छ। त्यसैले उपराष्ट्रपतिको महत्व हुन्छ।
हाल ७८ वर्षीय ट्रम्पले चुनाव जिते र उनलाई त्यसपछि केही भयो भने ३९ वर्षीय भान्स राष्ट्रपति बन्नेछन्। विभिन्न फौजदारी अभियोग खेपिरहेका ट्रम्प केही गरी चुनाव जितिसकेपछि जेल जानु पर्ने फैसला भए पनि भान्स नै राष्ट्रपति बन्नेछन्। अमेरिकामा राष्ट्रपतिले कार्यकाल पूरा गरे पनि अर्को निर्वाचनमा त्यति बेलाका उपराष्ट्रपति आफ्नो दलबाट राष्ट्रपतीय उम्मेदवारको होडमा अघि हुन्छन्।
अमेरिकामा दुई कार्यकाल (आठ वर्ष) राष्ट्रपति बन्न पाइन्छ। यस्तोमा उपराष्ट्रपतिको आठ वर्षपछि मात्रै राष्ट्रपतीय उम्मेदवार बन्ने पालो आउँछ।
ट्रम्प भने सन् २०१६ मा निर्वाचन जितेर एक कार्यकाल राष्ट्रपति बनिसकेकाले यसपालि पनि उनले जितेमा भान्सले आठ वर्ष पर्खिनु पर्दैन। चार वर्षपछि नै राष्ट्रपतिका लागि आफ्नो दलभित्रको होडमा अघि हुनेछन्।
ओहायोको साधारण परिवारमा जन्मेका भान्सले अमेरिकी सेनामा सन् २००३ देखि २००७ सम्म काम गरेका थिए। सो क्रममा इराकमा युद्ध पनि लडेका थिए।
त्यसपछि उनले येल ल स्कुलबाट ग्र्याजुएसन गरे। पेपालका सहसंस्थापक पिटर थियलको 'भेन्चर क्यापिटल' फर्म मिथ्रिल क्यापिटलमा काम गरे।
सन् २०१६ मा ट्रम्प चुनाव लड्ने क्रममा भान्स ट्रम्पका कटु आलोचक थिए। भान्सले आफूलाई ‘नेभर ट्रम्प’ समूहको भन्थे।
उनले एक जनालाई सन् २०१६ मा पठाएको मेसेजमा ट्रम्प आफूलाई निक्सन र 'अमेरिकाको हिटलर' जस्तो लाग्ने भनेका थिए। त्यो मेसेजपछि सार्वजनिक भएको थियो।
भान्स ट्रम्पलाई सांस्कृतिक ‘हेरोइन’ समेत भन्थे। तर पछि उनी पुरै ट्रम्पका समर्थक भएर निस्किए। ट्रम्पकै समर्थनमा उनी रिपब्लिकनको पकडमा रहेको ओहायोबाट सिनेटका लागि उम्मेदवार चुनिए। र, सन् २०२२ को निर्वाचनमा सिनेटर निर्वाचित भए।
हुन त ट्रम्पका लागि काम गर्नु त्यति सजिलो हुँदैन। उनले सबैलाई ओझेलमा राख्छन् र आफ्ना लागि जति नै गरे पनि एकपटक मात्रै भनेजस्तो गरेन भने खेद्न थाल्छन्। उनको पहिलो कार्यकालमा माइक पेन्सले चार वर्ष पूरा बफादारीका साथ सेवा गरेका थिए। तिनै माइक पेन्सलाई ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन जो बाइडेनले जितेको प्रमाणित नगर भनेका थिए। माइकलाई त्यो कुरा मानेनन् र ट्रम्प उनीविरूद्ध खनिएका थिए।
बाइडेनलाई राष्ट्रपति निर्वाचित हुनबाट माइक पेन्सले नरोक्ने छनक पाएपछि ट्रम्पले उनलाई गाली गरेका थिए। ट्रम्पले उक्साएको उग्र भीड २०२१ जनवरीमा संसद परिसरभित्रै हतियारसहित पसेर माइक पेन्सलाई गद्दार भन्दै मार्न खोजेका थिए।
भान्सले भने ट्रम्पले भनेको जे पनि मान्नेछु भन्ने छवि बनाएका छन्। पेन्सको ठाउँमा आफू उपराष्ट्रपति भएको भए बाइडेनलाई राष्ट्रपति निर्वाचित भएको प्रमाणीकरण गर्दिनँ थिएँ भनेका छन्।
शनिबार पेन्सिलभेनियाको बट्लरमा चुनावी र्यालीको क्रममा ट्रम्पमाथि गोली प्रहार भएपछि उनले त्यसका लागि बाइडेन र डेमोक्र्याटस्ले ट्रम्पविरूद्ध बनाएको भाष्यलाई दोष दिएका थिए।
धेरै विषयमा ट्रम्पभन्दा उग्र विचार राख्ने भान्स उपराष्ट्रपतीय उम्मेदवार मात्रै नभएर ट्रम्पका 'सच्चा उत्तराधिकारी' बन्नेछन्।
ट्रम्पजस्तै आप्रवासीलाई तथानाम गाली गरे पनि भान्सले भारतीय आप्रवासीकी छोरी उषा चिलिकुरीसँग सन् २०१४ मा बिहे गरेका छन्। येलमा सँगै पढेकी उषालाई उनी आफ्नो प्रेरणाको स्रोत भन्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)