आइतबार बिहान अमेरिकाका २० वर्षीय युवकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको खुलेको छ।
दोस्रो पटक राष्ट्रपति बन्ने दौडमा रहेका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बट्लरमा जारी सभामा गोली प्रहार गरिएको हो। गोली उनको कान मात्रै लागेकाले ज्यान जोगिएको छ।
फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको पहिचान सार्वजनिक समेत गरिसकेको छ। एफबिआईका अनुसार ती व्यक्ति पेन्सिलभेनियाका २० वर्षीय थोमस म्याथ्यु क्रुक हुन्। उनी जबाफी कारबाहीमा मारिएका छन्। ट्रम्पको हत्या प्रयास किन गरियो भन्नेबारे भने अनुसन्धान जारी छ।
अमेरिकामा राष्ट्रपतिमाथि गोली प्रहार भएको यो पहिलो घटना होइन। कतिपय राष्ट्रपति घाइते भएका छन् भने कतिपयको ज्यान समेत गएको इतिहास छ।
यहाँ त्यस्तै घटनाको संक्षिप्त चर्चा गरिएको छ जुन हामीले 'द हिन्दु' को सहयोगमा तयार पारेका हौं।
रोनाल्ड रेगन (१९८१)
अमेरिकाका ४० औं राष्ट्रपति रोनाल्ड विल्सन रेगनमाथि सन् १९८१ मार्च ३० मा गोली प्रहार भएको थियो। एक सभामा सहभागी भएर वासिङटन डिसीस्थित हिल्टन होटल जान लागेका उनीमाथि गोली प्रहार भएको थियो।
रिभल्भरबाट प्रहार गरिएको गोली लागेर उनी गम्भीर घाइते भएका थिए। तत्कालै सिक्रेट सर्भिसले उनलाई जर्ज वासिङटन युनिभर्सिटी अस्पतालमा लगेको थियो।
त्यहाँ उपचार गरेर उनी १२ दिनपछि डिस्चार्ज भएका थिए। उनीमाथि गोली प्रहार गर्ने जोन हिन्क्ली जुनियर सन् २०२२ मा कारागारबाट छुटेका थिए।
जेराल्ड फोर्ड (१९७५)
अमेरिकाका ३८ औं राष्ट्रपति जेराल्ड फोर्डमाथि सन् १९७५ सेप्टेम्बरमा दुई पटक हत्याको प्रयास भएको थियो। १७ दिनको अन्तरालमा उनको दुई पटक हत्याको प्रयास भएको थियो।
५ सेप्टेम्बर, १९७५ मा क्यालिफोर्नियामा लिनेट फ्रोमले फोर्डमाथि बन्दुक ताकेका थिए। त्यही बेला सिक्रेट सर्भिस एजेन्टले फ्रोमको बन्दुक समाएका थिए। फ्रोमलाई तत्कालै नियन्त्रणमा लिइएको थियो। पछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।
त्यस घटनापछि सार्वजनिक रूपमा फोर्ड निस्किएका थिएनन्। १७ दिनपछि उनी सान फ्रान्सिस्कोस्थित होटलबाट निस्किएका थिए।
त्यही बेला सारा जेन मोरले भीडबाट उनीमाथि गोली प्रहार गरेकी थिइन्। फोर्डलाई गोली लाग्न भने पाएन। मोरलाई पक्राउ गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।
जर्ज वालेस (१९७२)
जर्ज वालेस राष्ट्रपतीय चुनावका लागि डेमोक्र्याट्सको तर्फबाट र्याली गरिरहेका थिए। त्यति बेला उनी अलाबामाका गभर्नर थिए। सन् १९७२ मे १५ मा मेरिल्यान्डस्थित एक सपिङ मलमा उनीमाथि गोली प्रहार भएको थियो। उनलाई चार पटक गोली लागेको थियो। उक्त गोली लागेर उनले ज्यान त जोगाए तर उनको शरीर पारालाइसिस भयो।
अर्थर ब्रिमर नामका व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। उनलाई ६३ वर्षका लागि जेल सजाय सुनाइएको थियो। पछि उक्त सजाय ५३ वर्षका लागि घटाइएको थियो।
ब्रिमरको एउटा डायरी समेत प्रकाशन भएको थियो। जसमा उनले आफ्नो प्रचारका लागि गोली प्रहार गरेको बताएका थिए। उनले रिचर्ड निक्सनमाथि पनि गोली प्रहार गर्ने योजना बनाएका थिए।
जोन एफ केनेडी (१९६३)
अमेरिकाका राष्ट्रपति जोन एप केनेडीको सन् १९६३ नोभेम्बर २२ मा हत्या भएको थियो। उनी एक राजनीतिक यात्राका लागि टेक्सास पुगेका थिए। मोटोकेडमा जाँदै गर्दा पछाडिबाट उनीमाथि गोली प्रहार भएको थियो।
एउटा गोली केनेडीको घाँटी र अर्को टाउकोमा लागेको थियो।
गोली प्रहार भएपछि उनलाई पार्क ल्यान्ड अस्पतालमा लगिएको थियो। ३० मिनेटपछि उनलाई मृत घोषणा गरिएको थियो। ४६ वर्षीय ली हार्भी ओसवाल्डलाई केनेडीमाथि गोली हानेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
रोबर्ट एफ. केनेडी (१९६८)
जोन एफ केनेडीका भाइ रोबर्ट एफ केनेडी त्यो बेला सिनेटर थिए। सन् १९६८ मा उनी राष्ट्रपतिको प्राइमरी चुनाव लड्दै थिए। त्यही बेला जुन ५ मा लस एन्जलसस्थित एम्बास्डर होटलमा उनीमाथि गोली प्रहार भएको थियो।
होटलको किचनबाट जाँदै गर्दा त्यहाँ रहेका एक जना युवकले उनीमाथि गोली प्रहार गरेका थिए। उनलाई तीन वटा गोली लागेको थियो। अस्पतालमा लगेर उपचार गराए पनि २६ घण्टापछि उनको मृत्यु भएको थियो।
फ्र्यांकलिन डी रूजबेल्ट (१९३३)
सन् १९३३ मा फ्लोरिडामा राष्ट्रपति फ्यांकलिन डश्र रूजबेल्टलाई लक्षित गरी एक जना इटालियन आप्रवासीले गोली प्रहार गरेका थिए। रूजबेल्टलाई गोली लाग्न पाएन। तर उनी छेउमै बसिरहेका शिकागोका मेयर एन्टोन सेरमाकलाई गोली लागेर मृत्यु भएको थियो।
थियोडर रूजबेल्ट (१९१२)
सन् १९१२ अक्टोबर १४ मा थियोडर विस्कनसिनस्थित चुनावी र्यालीमा सहभागी भएका थिए। गिलप्याट्रिक होटल अगाडि सलुनकिपर जोन स्रांकले उनीमाथि गोली प्रहार गरेका थिए।
गोली उनको छातीमा लागेको थियो। तर उक्त गोलीलाई थियोडरको छातीको खल्तीमा राखिएको भाषणको ५० पाना र चस्मा राख्ने स्टिलको खोलले रोकेकाले उनलाई चोट लाग्न पाएन। गोली प्रहार भएपनि उनले आफ्नो मन्तव्य दिएका थिए।
विलियम म्याकिन्ले (१९०१)
राष्ट्रपति म्याकिन्लेलाई न्यूयोर्कमा लियोन छोल्गोस नामक व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।
अब्राहम लिंकन (१८६५)
अमेरिकी कलाकार जोन विल्क्स बुथले १८६५ अप्रिल १४ मा लिंकनमाथि गोली प्रहार गरी हत्या गरेका थिए। अमेरिकाका १६ औं राष्ट्रपति लिंकन वासिङटन डिसीस्थित फोर्ड्स थिएटरमा नाटक हेर्दै थिए।
'आवर अमेरिकन कजन' भन्ने नाटक हेर्दै गर्दा बुथले पछाडिबाट आएर उनको टाउकोमा गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका लिंकनको भोलिपल्ट ज्यान गएको थियो। पछि बुथले आत्मसमर्पण गरेका थिए।
(भारतीय समाचार संस्था 'द हिन्दु' को सहयोगमा/ सबै तस्बिरः एपी)