संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा आक्रमण गरेका छन्।
यमनमा इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै शनिबार अमेरिका र बेलायतले आक्रमण गरेको हो।
समाचार संस्था रोयटर्सका अनुसार दुई देशले यमनमा हुथीका विभिन्न १३ स्थानका ३६ किल्लाहरूलाई निशाना बनाएको छ।
उनीहरूले हुथी विद्रोहीको कमाण्ड सेन्टर र हतियार भण्डारण गृहमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तिनै इलाकाहरूबाट रेड सी भएर चल्ने जहाजहरूमा हुथीले मिसाइल आक्रमण गर्ने गरेको बताउँदै अमेरिका र बेलायतले त्यसलाई निस्तेज पार्ने बताएको छ।
अमेरिकी सुरक्षा सचिव लोयड अस्टिनले सो आक्रमणबाट हुथीलाई रेड सीमा पुनः हमला नगर्न सन्देश दिइएको बताएका छन्। ‘उनीहरूले फेरि पनि आक्रमण गरे उनीहरूले थप क्षति ब्यहोर्नुपर्छ,’ उनले भनेका छन्।
मंसिरको अन्तिम सातादेखि अमेरिका र बेलायत लगायतका देशहरूले इरान समर्थित विद्रोही समूहविरूद्ध आक्रमण गर्दै आइरहेको छ।
एक साताअघि जोर्डनमा भएको ड्रोन हमलामा तीन जना अमेरिकी सैनिक अधिकारी मारिएका थिए।
त्यसमा इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी)को हात रहेको निष्कर्ष निकाल्दै अमेरिकाले शुक्रबार त्यसका समर्थित समूहलाई लक्षित गरी शुक्रबार इराक र सिरियामा पनि हवाई आक्रमण गरेको थियो।
अक्टोबर ७ देखि सुरू भएको इसराइल-हमास युद्धपछि हुथीले रेड सी मा अमेरिका र इसराइलका जहाजहरूलाई लक्षित गरी आक्रमण गर्दै आइरहेको छ।