युवती शरीर मर्काउँदैछिन्। युवक घुमीघुमी तस्बिर उतार्दैछ। माउण्ट मेजरको चिसो हावामा उडेझैं देखिने युवतीको रहर, त्यसलाई कलात्मक बनाउने युवकको अभिलाषा। लाग्छ, प्रतिस्पर्धामा छन् दुबै। एकअर्कालाई जित्न खोज्दैछन्। युवतीले पखेटा फिजाएझैं गज्जबको पोज दिँदा युवकले त्यसलाई कैद गर्न भ्यायो, भ्याएन तर मैले छिनभरमै उनीहरूको उल्लसित अनुहार पढ्न भ्याएँ। बनाइदिएँ दुबैलाई विजेता।
यस्तै, विजेताहरूको उज्यालो अनुहार हेर्न म यो डाँडामा बारम्बार आइरहन्छु। पाएँ साथीसँग, नपाए एक्लै।
यो चुलीमा जतिपल्ट टेकेको छु, त्यति नै पल्ट अनौठो ऊर्जा भेटेको छु। असिनपसिन गर्दै एक डेढ घण्टा उकालो चढेपछि जिउ गल्छ, पिँडुला थाक्छन् तर चुलीको चट्टान टेक्नेबित्तिकै शरीरमा आउने फूर्तिले मलाई अर्कै दुनियाँमा पुर्याउँछ।
म यहीँबाट संसार देख्छु। सांसारिक आनन्द महशुस गर्छु।
लाग्छ - सुख खोज्ने योभन्दा उत्तम उपाय छैन। डाँडामा भर्खरै पुगेका थकित शरीरहरूमा एकाएक उत्साह देखेपछि यहाँको चिसो हावालाई स्याबास् भन्छु।
तल पृष्ठभूमिमा विनिपशकी तालको नीलो पानी र बीचबीचका थुम्काथुम्कीहरू देख्नासाथ म धेरैपल्ट एकोहोरिएको छु, हेरेको हेरै भएको छु।
अमेरिकाको उत्तरपूर्वी कुनातिरको एउटा राज्य हो-न्युह्याम्पशर । यसको सबभन्दा ठूलो ताल विनिपशकीलाई वरिपरि घेर्ने सयौं डाँडाहरूमध्येको एउटा स–सानो डाँडो हो माउण्ट मेजर।
धेरै अग्लो पनि होइन। चढ्नै नसकिने गाह्रो त हुँदै होइन। पार्किङलटबाट डेढ माइल उकालो उक्लिनासाथ टुप्लुक्क पुगिन्छ। ह्वाइट माउण्टेन्स् आसपासका करिब एघार सय हाइकिङ गन्तव्यहरूमध्ये यो एउटा छोटो गन्तव्य हो।
तर, विनिपशकी तालको पृष्ठभागमा भएकाले यसलाई ‘भाग्यमानी’ चुली भने पनि हुन्छ। चुलीको मूल विशेषता नै यहाँबाट देखिने ताल र त्यसलाई घेर्ने पहाडी शृङ्खलाका लोभलाग्दा दृश्यहरू हुन्।
उकालो चढ्दा नेपालकै कुनै पहाड–कन्दरामा हिँडिरहेजस्तो लागे पनि टुप्पामा पुगेर जब उत्तरतिर हेर्नुहुन्छ, तपाईं लठ्ठै बन्नुहुन्छ।
त्यति मनमोहक देखिन्छ ताल।
तालमा कुदिरहेका सानाठूला डुंगा, ठूल्ठूला क्रुज, तिनले छोडेका लम्बेतान लहर अनि बीचबीचका सयौं टापुमा तपाईं जे कल्पना गर्नुहुन्छ, त्यही भेट्नुहुन्छ। त्यतिखेर आँखा थाक्ने त कुरै भएन, थाकेका मनहरूले समेत ध्यानपछिको ऊर्जाको अनुभव गर्न पाउँछन्।
त्यो अर्थमा यो चुली मात्र हैन, यहाँ उक्लिनेहरू पनि भाग्यमानी लाग्छन्।
माउण्ट मेजरसँग म लोभिनुका अरु कारणहरू पनि छन्।
मेरो बसाइबाट नजिकै छ यो। एकाध घण्टामै यसको फेदी पुगिन्छ। अनि, जुत्ताको तुना कसेर उक्लिन थालेपछि म एकडेढ घण्टामा धेरै चिज भेट्छु। नेपाल भेट्छु। बाल्यकालका रमाइला यादहरू भेट्छु। स्कूल जाँदा र फर्किदा नापेका उकाली ओरालीहरू भेट्छु। जन्त जाँदा बूढीऔंला फुटाइदिने ढुङ्गाहरू भेट्छु।
साउने भेलले खोतलेका गल्छेडाँडाहरूमा खुट्टा मुसार्न आइपुगेका रुखका जराहरू भेट्छु। भालु लुक्ने ओढार, पैताला मज्जैले तताइदिने ठूल्ठूला चट्टान, ढिस्का र डिलहरू नाघ्दै, उफ्रिदै चुली नजिक पुगिरहँदा म घटीमा सयपल्ट नेपाल सम्झन्छु।
नेपालको तिर्सना लगाउने र मेटाउने दुबै काम एकैपल्ट गर्छ यो पहाडले। त्यसैले सेरोफेरोका सयौं हाइकिङ ट्रेलहरूमध्ये मलाई यो उकालो सर्वाधिक प्रिय लाग्छ।
म प्रायः सप्ताहन्तमा चढ्छु यो पहाड। शनिबार, आइतबार रोज्नुको विशेष फाइदा पनि छ। ती दिनमा धेरै पृष्ठभूमि, धेरै वर्ण, फरक–फरक उमेर र रुचिका पदयात्रीहरू भेटिन्छन्। म उनीहरूको गति पढ्छु, अनुहार पढ्छु । सुन्छु उनीहरूलाई । हाइकिङमा अभ्यस्त तेजिला खुट्टाहरू अलि बढी नै लम्कन्छन्। तर, नयाँ यात्री वा यदाकदा आउनेहरू अलि अस्तव्यस्त देखिन्छन्। छिनछिनमै अडिन्छन्।
‘अब कति छ उकालो ?’, सोधिरहन्छन्।
स–साना केटाकेटीलाई प्रकृतिसँग जुध्न सिकाउने अभिभावकहरू हौस्याइरहेका हुन्छन्, ‘अब आउनै लाग्यो है, अल्मोस्ट देयर, यु क्यान डु इट।’
एउटा मान्छे दायाँबायाँ लड्खडाउँदै हिँडिरहेको छ। अर्को चाहिँ नापी–नापी पैताला सारिरहेको छ।
लाग्छ, ऊ उकालोमै दिन बिताउन चाहन्छ, फर्किंदा रात। किशोरकिशोरीहरू बुद्रुकबुद्रुक उफ्रिदैछन्। उनीहरूको वयमा मृग चढेको छ। बृद्धबृद्धाहरू हात समातेर एकअर्कालाई डोर्याउँदैछन्। जीवन डोर्याउने यो काइदाले मलाई भित्रैसम्म छुन्छ।
उनीहरूको ‘खुइय’ मा समेत म संगीत सुन्छु । र, अर्को सुस्केरा हाल्दै ताल ठोकिदिन्छु, ‘गेटिङ देयर, इन्जोय योर डे!’
माथि टुप्पामा पुगेपछि मैले भेट्ने आनन्द उनीहरूको भन्दा फरक हुन सक्छ। उनीहरूले चुलीको नामजस्तै स–सानो हिमाल, पहाड नै चढेको अनुभव गर्न सक्छन्। मेरा लागि यो पहाड पनि हैन, यौटा थुम्को हो, स–सानो चुली हो।
तर, यो चुलीबाट उत्तर फर्किएर जब आँखा तन्काउँछु, म अर्कै लोकमा पुग्छु। विनिपशकी तालको विशाल पटाङ्गिनीमा म सौन्दर्यको साम्राज्य नै देख्छु। म लठ्ठिन्छु। लाग्छ – म ध्यान गरिरहेको छु र मेरो नाभीबाट बिस्तारै बिस्तारै ऊर्जा चुलिँदैछ मस्तिष्कतिर।
उक्लिँदाको थकाइ कहाँ हरायो, हप्ता वा महिनाभरिका तनाव कता दुलो पसे, पत्तै हुँदैन। त्यसैले यो मेरो प्रिय चुली हो र यहाँबाट मैले देख्ने गरेको विनिपशकी ताल प्रकृतिको अनुपम कला हो।
७१ वर्ग माइल (१८४ वर्ग किलोमिटर) क्षेत्रमा फैलिएको यो तालमा २६४ वटा टापुहरू छन्। बीचबीचमा रिसोर्टहरू छन्। गर्मी याममा डुंगा चढेर टापु–टापुमा टेक्न, उफ्रिन पुग्नेहरूले भेट्ने आनन्दानुभूतिको बयान गर्न गाह्रो छ।
माउण्ट वासिङ्टन क्रुजमा बसेर अढाइ घण्टासम्म ती टापुका वरिपरि घुम्दा मैले जति आनन्द संगालेका थिएँ, त्यो सबै अधूरो लाग्छ – माउण्ट मेजरबाट वरिपरि आँखा घुमाउँदा ।
त्यो सुखानुभूति साथीभाइ, छरछिमेकलाई बाँड्ने औडाहा हुन्छ कहिलेकाहीँ। र, म अरुलाई हौस्याउँछु। रहर गर्नेहरूका निम्ति म ‘गाइड’ बनिदिन्छु।
उकालीओराली भन्नासाथ तर्सिनेहरूलाई पनि फकाउँदै, फुक्र्याउँदै यो चुली चढाएको छु। केही ठाउँमा हातपाउ टेक्दै हिँड्दा उनीहरूलाई अत्यास लागेको हुनसक्छ, दुईचार दिन पैताला पोलेको हुनसक्छ, हिँड्न नजानेर पछारिदा पाँसुला दर्फरिएका हुन सक्छन्। तर चुलीको शीतल बतास र त्यहाँबाट देखेको फाँटिलो आभालाई उनीहरू लामो समय सम्झिरहन्छन्।
उनीहरूले ‘हैट्, त्यस्तोमा हिँडाउनु भो हगि !’ भन्दा पनि मलाई गर्व लाग्छ।
‘गज्जब भयो’, भन्दा त झनै फुर्किन्छु।
मैले साना नानीहरू, युवा,समवयी, पाका सबै खाले मान्छेहरूलाई यो चुली चढाएको छु। केटाकेटीलाई लिएर जाँदा अभिभावकीय दायित्व अलि बढी हुन्छ।
छुट्छन् कि, लड्छन् कि, गल्छन् कि, रिसाउँछन् कि ! सतर्क हुँदै उनीहरूकै ताललयमा हिँड्नुपर्छ।
समवयी तर हिँड्ने अनुभव नभएकाहरूलाई गफमा भुलाउने हो। युवाहरूलाई त हौस्याउनु मात्र पर्छ, छिनमै आकाश छुने साहस देखाउँछन्।
म पनि उनीहरूसँग सार मिलाउन खोज्छु। त्यस्तोमा अलि बढी थाकिएला तर अतुलनीय हुन्छ त्यो थकाइको आनन्द। र, तिनै यात्राहरूमा मैले धेरैका जीवन–कहानीहरू पढ्न पाएको छु, अनुभव सुनेको छु।
दुई महिनाअघि बोस्टनबाट आएको एउटा विद्वत् टोलीलाई लिएर चुली नाप्न आउँदा मैले उपनिषदको महिमा सुनें, सनातन धर्मको प्रभाव र आयतनबारे सुनें।
भाषाका कुरा भए, शब्द र व्युत्पत्तिका कुराहरू भए। बाटो काटेको पत्तै भएन। त्यतैबाट आएको अर्को युवा टोलीको अगुवाइ गर्दा नयाँ पुस्ताको रुचि, सक्रियता र ज्ञानको फैलावट नाप्न पाएँ।
सँगै साना नानीहरूसमेत थिए। ओरालोमा सम्हाल्दा सम्हाल्दै पनि उनीहरू चिप्लिए, लडे तर जुरुक्के उठे र सिके अफ्ठ्यारोसँग सिंगौरी खेल्ने कला। तिनलाई फुल्याउँदै हिँड्नुको रोमाञ्च पनि अर्कै।
छोराबुहारी भेट्न अमेरिका आउनुभएका छिमेकी दाजुभाउजूले सोधिरहनुहुन्छ, ‘फेरि कहिले लाने उकालोतिर ?’ र, म सम्झन्छु – केहीअघि चुली चढाउँदा त्यहाँबाट देखिएका हरेक पहाड, खोंचलाई उहाँहरू भोजपुरका डाँडा, फेदीहरूसँग तुलना गर्दै हुनुहुन्थ्यो। अतुलनीय आनन्द देखिन्थ्यो उहाँहरूका अनुहारमा ।
यस्ता अवसरहरूसमेत यही चुलीले जुराउने गरेको छ। त्यसैले म हुँइकिरहन्छु यता र चढिरहन्छु यो चुली।
डिसेम्बर, जनवरीपछि यताका सबै डाँडाकाँडालाई हिउँले छपक्कै छोप्छ। तालको पानीको माथिल्लो तह पूरै जम्छ। तीनचार महिना सेताम्मे हुन्छन् पहाड। जङ्गली जनावर, चराचुरुङ्गी कहाँ लुक्छन्, कता हराउँछन्, पत्तै हुँदैन।
आइस फिसिङ, स्किइङलगायतका हिउँजन्य गतिविधिमा सीमित हुन्छ पर्यटन।
त्यही बेला एकडेढ फिटको हिउँ छिचोल्दै माउण्ट मेजर चढ्ने र चुलीबाट कक्रक्क जमेको तर ‘शुभ्र, स्निग्ध, शान्त’ विनिपशकी हेर्ने रहर जागेको छ यसपल्ट।
त्यसनिम्ति कोरटेक्स ज्याकेट, विन्डब्रेकर, बुट, क्रयाम्पन्सको खोजी गर्न थालिसकेको छु।