साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरूलाई पक्राउ गरिएको छ ।
उनीहरूलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबारमात्र गठन गरेको भ्रष्टाचार हेर्ने निकायले उनीहरूलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्राप्त समाचारअनुसार यसरी पक्राउ पर्नेमा राजकुमारहरू पनि परेका छन् ।
उनीहरूलाई राजकीय आदेशमार्फत नै पक्राउ गरिएको छ।
साउदी अरेबियाका युवराज मोहम्मद बीन सलमानको नेतृत्वमा शनिबार मात्र भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय गठन गरिएको थियो । उक्त नयाँ निकाय गठन भएको केही घण्टामा नै ती युवराज र मन्त्रीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा लिइएका अधिकारीहरूलाई सार्वजनिक भने गरिएको छैन । उनीहरू सरकारी थुनामै रहेको पुष्टी सरकारी अधिकारीहरूले गरेका छन्।
सन् २००९ मा आएको बाढी र सन २०१२ मा साउदी अरेबियामा मर्स नामक भाइरस देखिएको बेला उनीहरूका गतिविधिका कारण उनीहरूमाथि अनुसन्धान हुनुपर्ने आवाज उठेको थियो।
सोही आरोपमा नै उनीरूलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर यस विषयमा उक्त आयोगले भने केही बताएको छैन।
भ्रष्टाचारसम्बन्धी नयाँ आयोगलाई अनुसन्धानको लागि शङ्कास्पद व्यक्तिलाई पक्राउ गर्न, त्यस्ता व्यक्तिलाई देशबाहिर जान नपाउनेगरी यात्रा प्रतिबन्ध लगाउन सक्नेगरी अधिकार दिइएको छ ।
साउदी अरेबियाको सरकारी समाचार समिति ’एसपीए’ले जनाएअनुसार यो अनुसन्धानको घेरामा अरु पनि कैयौँ उच्च ओहदाका सरकारी अधिकारीहरू रहेका छन् । उनीहरूलाई पनि पक्राउ आदेश आउनसक्ने सो समितिले जनाएको छ।