अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा छोटो र रोमाञ्चक पदयात्राको मार्ग हो।
समुन्द्री सतहबाट ८ सय २० मिटर उचाइमा रहेको पोखराबाट सुरू गर्न सकिने यो पदयात्रा ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण बेस क्याम्प पुगेर टुंगिन्छ।
जहाँबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्ड देख्न सकिन्छ।
तपाईंसँग यदि एक साताको समय छ भने यो पदयात्राका लागि प्रयाप्त हुन्छ। पहिलो दिन पोखराबाट तपाईंले झिनुडाँडा भन्ने स्थानसम्म ३ घण्टा जीप लिएर जान सक्नुहुन्छ। झिनु घान्द्रुक र लान्द्रकुलाई वारि र पारि बनाउँदै बगिरहेको मोदी नदीको किनारामा छ। त्यहाँबाट तपाईं पहिलो दिन छोम्रोङ भन्ने स्थानसम्म पदयात्रा गर्न सक्नुहुन्छ। तपाईंको हिँड्न सक्ने क्षमतामा तपाईंको यात्रा भरपर्छ। तर खाने र बस्ने सेवा सुविधाका हिसाबले छोम्रोङ उपयुक्त हुनसक्छ। जहाँबाट तपाईंले बिहानै माछापुच्छ्रे हिमाल देख्न सक्नुहुन्छ।
दोस्रो दिन तपाईं हिमालय भन्ने स्थानसम्म पदयात्रा गर्न सक्नुहुन्छ। यदि तपाईं अलिक धेरै हिँड्न सक्नुहुन्छ भने माछापुच्छ्रे बेस क्याम्पसम्म पनि पुग्न सक्नुहुन्छ। तर पदयात्रा पक्कै पनि म्याराथन दौड होइन। त्यसैले तपाईं दोस्रो दिन हिमालय बसेर तेस्रो दिन माछापुच्छ्रे बेस क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प पुग्न सक्नुहुन्छ।
अन्नपूर्ण बेस क्याम्पमा तपाईंले २ हजार रुपैयाँमा खाने, बस्ने र बिहानको चियानास्ताको सुविधा पाउनुहुन्छ। मौसम खुलेको बेला तपाईंले अन्नपूर्ण बेस क्याम्पबाट आँखै अगाडि सेता र चम्किला हिमाल देख्न पाउनुहुन्छ। बिहानको १२ बजेपछि भने हिमाली क्षेत्रमा बादलमा लुक्न थाल्छन्। चिसो हावा चल्न थाल्छ।
तपाईं अन्नपूर्ण हेरेर आफ्नो अनुकूल समय अनुसार पोखरा फर्कन सक्नुहुन्छ। पदयात्रीहरू आफूसँग भएको समय अनुसार ५ देखि ७ दिनमा यो यात्रामा निस्कन्छन्। हिमपातको समयमा ३ हजार मिटरमाथि यात्रा गर्न जुत्तामा लगाउन मिल्ने क्ल्याम्पर बोकेर जानु उपयुक्त हुन्छ।
अन्नपूर्ण क्षेत्रको यात्रा उत्कृष्ट हिमाली दृश्यका लागि विश्व चर्चित पदमार्ग भित्र पर्दछ। हेर्नुहोस् सेतोपाटीका मनोज सत्यालले खिचेका तस्बिरहरू -