दमौलीका गीतकार सागर उदासको संयोजकत्वमा गण्डकी वाङ्मय प्रतिष्ठानले वि.सं २०६६ साउन २९ गते ‘दमौली–मानहुँकोट पर्यटन साहित्य यात्रा’ आयोजना गरेको थियो। त्यही यात्राले गाउँलेमा पर्यटन चेतना भरेको थियो भने दमौलीबासीलाई मानहुँमा उकालिन हुट्हुटी जगाएको थियो।
***
राष्ट्रगानका लेखक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा भएको पर्यटन साहित्य यात्रामा मुलुकका स्थापित कवि, लेखक र पत्रकार सहभागी थिए। त्यतिबेला राष्ट्रिय सञ्चार माध्यममा मानहुँकोटले राम्रै चर्चा पाएको थियो। लगत्तै मानहुँमा पिकनिक खाने चलन बस्यो।
***
गीतकार उदासले आफ्नो निजि खर्चमा बरोबर कवि, लेखक र पत्रकारलाई तनुहँका गामबेंसी डुलाएर ग्रामीण पर्यटनमा योगदान पुर्याउँदै आएका छन्। उनले तनहुँसुर, टुटेपानी, रामकोट, फिरफिरे, भुजिकोट, मानहुँकोट, छाब्दीबाराही, छिम्केश्वरी, ढोरबराह, कोटदरबारलगायत ठाउँमा लेखकहरूलाई घुमाइसकेका छन्।
पोहोर लकडाउन खुलेसँगै सामाजिक सञ्जालमा एकाएक तनहुँको मानहुँकोट भाइरल बन्यो। त्यसपछि त्यहाँ हवात्तै आन्तरिक पर्यटकको चहलपहल बढ्यो। डाँडामा घुम्नेहरूको मेलै लाग्न थाल्यो।
बिस्तारै मानहुँमा रेष्टुराँ खुल्दै गए। आज हयाङ्आउट हुने रमाइलो गन्तव्यका रुपमा मानहुँकोट स्थापित भैसक्यो।
अब एकै छिन मानहुँकोटको पर्यटन इतिहास केलाऔं। लकडाउन भन्दा पहिल्यै मानहुँकोटमा चहलपहल थियो। दमौलीमा बस्नेहरू गर्मी छल्न, रमाइलो गर्न र पिकनिक मनाउन त्यहाँ पुग्थे। हाइकिङ गर्थे। डाँडामा खाजा घर र होमस्टे सुविधा थियो। दमौलीमा बस्ने कतिपयले त्यहाँ घँडेरी किन्न भ्याइसकेका थिए।
मानहुँमा औपचारिक रुपमा पर्यटनको विउ रोप्ने श्रेय गीतकार सागर उदासलाई जान्छ। उनकै अगुवाईमा गण्डकी वाङ्मय प्रतिष्ठानले वि.स. २०६६ साउन २९ गते काठमाडौं, चितवन, पोखरा र तनहुँसहित मुलुकका विभिन्न भूभागका लेखक, कवि र पत्रकारलाई ‘दमौली–मानहुँकोट पर्यटन साहित्य यात्रा’ गराएको थियो।
त्यतिबेला प्रतिष्ठानको अध्यक्ष काशीनाथ न्यौपाने थिए। प्रतिष्ठानका सदस्यहरूले बन्दीपुरमा साहित्य यात्रा गर्ने भनिरहेका बेला त्यस कार्यक्रमका संयोजक गीतकार उदासले नै मानहुँकोटमा गर्ने प्रस्ताव राखेका थिए। मानहुँकोटलाई चिनाउन र गाउँलेको हौसला बढाउन उनले मानहुँलाई रोजेका।
राष्ट्रगानका लेखक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले मानहुँकोटबासीमा उत्साह र पर्यटन जागरण भित्र्यायो। कार्यक्रम लगत्तै राष्ट्रिय सञ्चार माध्यममा मानहुँकोट छायो।
तिनताका मानहुँकोटमा मगर समुदायका केही घरको मात्र बसोबास थियो। खानेपानीको समस्याले बस्ती तल झरिसकेको थियो। अचेल डाँडामा खाजाघर, रेष्टुराँ र टेण्टेड क्याम्प र होमस्टे सुविधा छ।
खासमा व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोट (१,०५६ मिटर)। मगर समुदायको आदिम भूमि हो। इतिहासअनुसार चौबिसे शासनकालमा मगर राजाले मानहुँमा आफ्नो सुरक्षा किल्ला बनाएका थिए। त्यहाँ दुर्गा र तपसी माईका प्राचीन मन्दिर छन् जहाँ बडादसैंमा राँगा र बोका बलि दिने चलन कायमै छ।
प्राकृतिक रुपले पनि मानहुँकोट ज्यादै सुन्दर छ। डाँडाबाट दमौली बजार माथि कुहिरो ढाकिँदा ‘व्हाइट लेक’ जस्तै देखिन्छ। पारी डाँडाका शिरमा सेताम्मे हिमाल देखिन्छन्। माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ र लाङ्टाङलगायतका हिमालहरू।
त्यसो त डाँडाबाट दमौली बजार पनि सुन्दर देखिन्छ। साथमा नागबेली बग्दै गरेकी सेती नदी पनि।
दमौली बजारबाट ७ किलोमिटर दूरीमा पर्छ मानहुँकोट। एक हिसाबले दमौलीमा बस्नेहरूका लागि मर्निङ वाक गर्न समेत उपयुक्त गन्तव्य भने हुन्छ। दमौलीबाट दुई घण्टा हाइकिङमै पुगिन्छ।
डाँडामा दुर्गा भवानी र तपसीमाईका मन्दिर छन्। सूर्योदय र सूर्यास्तका लागि समेत यो ठाउँ आकर्षक छ।
स्थानीयहरू ‘मानहुँकोट पर्यटन विकास समिति’ गठन गरेर अघि बढ्नु पर्छ। डाँडामा सुविधायुक्त होटल तथा रेष्टुराँको खाँचो छ। त्यहाँ पुग्ने सडक पक्कि बनाउने र खानेपानीको व्यवस्था गर्ने दायित्व व्यास नगरपालिकाको हो। यसमा नगरप्रमुख वैकुण्ठ न्यौपानेको समूहले ध्यान पुर्याउनुपर्ने स्थानीयको माग जायज छ।
मानहुँको विषयमा एउटा राम्रो गीत र बृत्तचित्र बनाउने योजनामा छन् उदास। आज उनी मानहुँमा मात्र सिमित छैनन्, तनहुँका प्रमुख पर्यटकीय गन्तव्य समेटेर एउटा पुस्तक लेखन तथा प्रकाशनको तयारीमा पनि छन्। भन्छन्, ‘अतिथिलाई मनैदेखि स्वागत गर्ने हामी तनहुँबासीको संस्कार नै हो। यही कुरा पुस्तकमा उतार्दैछु।’
यसरी आफ्नो मातृभूमिको गुन तिर्दैछन्। उनको काम प्रेरणादायी छ। दमौलीमा बसेर साहित्य सृजना, व्यवसाय र समाजसेवा गरिरहेका उदास ५१ वर्षका भए। उनले निजि खर्चमा यात्रा लेखकहरूलाई तनहुँसुर, टुटेपानी, रामकोट, फिरफिरे, भुजिकोट, छाब्दीबाराही, छिम्केश्वरी, ढोरबराह, कोटदरबार, मानहुँकोटलगायत गाउँमा घुमाएर ग्रामीण पर्यटनमा योगदान पुर्याइरहेका छन्।
तनहुँलाई प्रकृति, संस्कृति र अध्यात्मको त्रिबेणीधामका रूपमा चिनाउने अभियानमा होमिएका उनको काम प्रशंसनिय छ।
उनी रसिला गीतकार हुन्। सरल भाषामा गामबेसी, मायाप्रेम र विकृति विसंगतिविरुद्धका गीत, कविता र मुक्तक लेख्छन्। नयाँ पुस्तालाई सृजनात्मक बनाउन ऊर्जा भर्छन्।
उनी ज्यादै मिलनसार, सहयोगी र आत्मीय छन्। उनको नाउँ उदास भए पनि ज्यादै रसिक छन्। खान, पिउन, नाच्न र गाउनमा मस्त।
रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो। विसं २०५० मा आइसिं लामाको संगीतमा देवकुमार लामाले गाएको गीत सुन्दा भावुक बनिन्छ।
उनी आधुनिक र लोकआधुनिक गीत लेख्छन्। उनको पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गिती एल्बम निकाले भने २०७० मा दोस्रो एल्बम ‘रवी’।
उनी चोटिला मुक्तक र रसिला गीत लेख्छन्। कोरोना शान्त भएपछि मुक्तकको पुस्तक प्रकाशन गर्ने योजनामा छन्।
उनको खास नाउँ ‘अर्जुन अधिकारी’ हो। उनले १८ वर्षको उमेरमा साहित्यिक नाम ‘सागर उदास’ जुराएका हुन्।
आज मानहुँकोटले पुर्नजीवन पाइसक्यो। डाँडामा पर्यटनको विउ रोप्ने कामको अगुवाई गर्ने गीतकार सागर उदासको गुन मानहुँकोटले सधैं सम्झिरहनेछ।
सम्पर्कः सागर उदास–९८५६०६०४२४
हेर्नुहोस् दमौली–मानहुँकोट पर्यटन साहित्य यात्रा–२०६६ का तस्बिरहरू