आफू निरोगी रहने र चितवनलाई साइक्लिङ पर्यटनधामका रूपमा विकास गर्ने उद्देश्यले गठित ‘चितवन साइकल राइडर्स क्लब’ले उदाहरणीय काम गरिसकेको छ।
पछिल्लो समय उसले विभिन्न ठाउँलाई ‘जंगल ट्रेल’का रूपमा ब्राण्डिङ गरेर प्रचारात्मक अभियान चलाउँदै आएको छ।
उद्योग वाणिज्य संघ चितवन र स्थानीयसँगको सहकार्यमा क्लबले सीतामाई सामुदायिक वन, पटिहानी क्षेत्रलाई जंगल ट्रेलका रूपमा चिनाइसक्यो।
थारु संस्कृति, धार्मिक सम्पदा र पर्यापर्यटन प्रवर्द्धन गर्न यस्तो अवधारणा ल्याइएको क्लबका उपाध्यक्ष पदमबहादुर बानियाँ बताउँछन्।
‘चितवन साइकल राइडर्स क्लब’ले चितवनलाई साइक्लिङ पर्यटन हबका रूपमा स्थापित गर्ने अभियान चलाएको छ। यतिबेला उसको ध्यान ‘जंगल ट्रेल’ प्रवर्द्धनमा केन्द्रित छ।
...
जंगल ट्रेलको सम्भाव्यता अध्ययन गर्न क्लबका सदस्यले चितवनका सबै जंगल डुलिसके। यतिबेला उनीहरू सौराहादेखि छितामाई हुँदै मेघौली जोड्ने ट्रेल प्रवर्द्धनमा जुटेका छन्।
क्लबले साइक्लिङमार्फत् उपरदाङगढी, कविलासगढी, सानोगढी र ठूलो गढीलाई जोड्ने अभियान पनि चलाउँदैछ।
जंगल ट्रेलको यात्रा साहसिक हुन्छ।
‘यात्रामा शितल हावा, जंगली जनावर, खोला र थरिथरिका रूख देखिन्छन्’, क्लबका सहसचिव रामचन्द्र सुवेदी भन्छन्, ‘कहिलेकाहीँ त बाटोमै मयुर नाचिरहेका रंगीन दृश्य पनि देखिन्छन्।’
साइकल कुदाएर स्वस्थ हुने मात्र होइन, समग्र चितवनलाई नै साइकलमैत्री सहर बनाउने अभियानमा समेत क्लबले पैरवी गर्दै आएको छ। सडकमा साइकल लेन बनाउन साइकल व्यवसायी संघसँग हातेमालो गरेर क्लबले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छ।
क्लबले उपर दाङगढीदेखि कविलासगढी, सानोगढी र ठूलो गढीलाई जोड्ने अभियान पनि चलाउँदै छ। साथै ‘लेक ट्रेल’ अवधारणामा बीसहजारी तालदेखि बाटुली तालसम्म साइकल कुदाउँदैछन्।
...
यसबाहेक लागुऔषध दुर्व्यसनविरूद्ध, चोरी सिकारी नियन्त्रणलगायत सामाजिक जागरण अभियानमा समेत क्लब सक्रिय हुँदै आएको छ। उसले उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको कालीबहादुर गण लगायत संस्थासँग मिलेर यस्ता काम गर्छ।
क्लबमा दुई सय जना संगठित भैसकेका छन्। साइकल चलाउन जान्ने १६ वर्ष उमेर नाघेका जो कोही क्लबको सदस्य बन्न सक्छन्। क्लबका सचिव धर्मराज सापकोटाकाअनुसार चाँडै नै चितवनका तालैताल जोड्ने गरी ‘लेक ट्रेल’ ब्राण्डिङ गरिनेछ। यसमा बीसहजारी ताल, राइनो ताल, कुमाल ताल र बाटुली ताललगायत पर्नेछन्।
साइक्लिङमार्फत् तीन कुराको उपलब्धी भएको छ–स्वास्थ्य, समाजसेवा र पर्यटन।
समग्र चितवनलाई नै साइकलमैत्री बनाउने अभियानमा समेत क्लबले पैरवी गर्दै आएको छ। सडकमा साइकल लेन बनाउन साइकल व्यवसायी संघसँग हातेमालो गरेर क्लबले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छ।
...
क्लबका सदस्यहरू साइक्लिङमा निस्कँदा स्थानीय खाजाघर, होटल वा रेष्टुराँमा खानपिन गर्छन्। यात्राबाट फर्कंदा केही न केही स्थानीय कोसेली किनेर ल्याउँछन्।
जंगल ट्रेलमा सावधानी अपनाउनुपर्छ। जनावरको आफ्नै अनुशासन हुन्छ। उनीहरू आफूलाई खतरा नपरेसम्म आक्रमण गर्दैनन्। त्यसैले होहल्ला नहुनेगरी यात्रा गर्नुपर्छ। क्लबले १५ जनाको भन्दा ठूलो समूह बनाउँदैन।
‘हामी जंगली जनावर र चरालाई बाधा पुग्ने कुनै काम गर्दैनौं’, उपाध्यक्ष बानियाँ भन्छन्, ‘हामी प्रकृतिमैत्री यात्रा गर्छौं।’
यसरी आफ्नै बलबुतामा चितवनमा साहसिक साइकल पर्यटन प्रवर्द्धन गर्दैछ नविन खरेल नेतृत्वको क्लब।
'उत्साही छौं'
नविन खरेल
अध्यक्ष, चितवन साइकल राइडर्स क्लब
हामीले साइक्लिङलाई स्पोर्टसका रूपमा प्रवर्द्धन गरिरहेका छौं। साइक्लिङका लागि चितवन प्रकृतिको वरदानै हो। समथर भू-भाग, जंगल र पहाड भएको हाम्रो जिल्लामा एकैदिनमा यी सबै विविधता अनुभव गर्न सकिन्छ। जंगलमा साइकल सफारी गर्नुको आनन्द बेग्लै हुन्छ। साइक्लिङबाट जैविक विविधता संरक्षणको सन्देश पनि बाँडिरहेका छौं। हाम्रो क्लबले बेलाबेलामा विभिन्न साइक्लिङ गतिविधि आयोजना गर्छ। संगठित रूपमा अघि बढ्दा हामी उत्साहित छौं। हामीमा ऊर्जा बढेको छ।
सम्पर्क
चितवन साइकल राइडर्स क्लब
नविन खरेल –९८५५०६३६११
पदमबहादुर बानियाँ–९८५५०१६९९५
धर्मराज सापकोटा–९८५५०६१४२४