कुश्मास्थित द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जीमा चैत १५ गते फागुपूर्णिमाको रात 'फुलमून बञ्जी’ हुने भएको छ। यो क्लिफमा आयोजना गरिएको पहिलो रात्री बन्जी हो।
साहसिक खेल बञ्जीका पारखीहरूलाई केही फरक मनोरञ्जन दिने हेतुले रातमा फुलमून बञ्जी गराउन लागेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
‘फुलमून बञ्जी’ मा रमाउनेहरूका लागि प्रतिव्यक्ति बञ्जी र डिलक्स रूमको प्याकेजका लागि ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने बञ्जी र स्ट्यान्डर्ड रूमसहितको प्याकेजका लागि ८ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। प्याकेजमा ‘ब्रेक फाष्ट’ र ‘डिनर’ समेत समावेश गरिएको छ।
यसका अतिरिक्त ‘फुलमून बञ्जी’मा भिडिओका लागि १५ सय शुल्क तिर्नुपर्नेछ, जसमा आकर्षक टिसर्टको समेत व्यवस्था मिलाइने प्रालिले जनाएको छ।
क्लिफले बढीमा ३० जनालाई ‘फुलमून बञ्जी’ गराउने बताउँदै प्रिबुकिङ समेत सुरू भइसकेको जानकारी दिएको छ।
गत कात्तिकदेखि विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै पहिलो स्विङ सञ्चालन ल्याएको द क्लिफले पर्यटकका लागि स्तरीय रिसोर्टको समेत व्यवस्था गरेको छ। यसका साथै स्विङ र ‘गुलेली शैलीको पिङ’ ले पर्यटकलाई आकर्षित गरेको छ।