जातजातिको सुन्दर फूलबारी हो पिप्रहर। देवचुली नगरपालिका–१७, नवलपुरमा करिब ४०० घर छन्। थारु, ब्राम्हण, क्षेत्री, मगर, गुरुङ, ठकुरी, बोटे र दलित समुदायका। यहाँका आदिवासी थारु हुन्।
नारायणी नदी किनारमा रहेको पिप्रहर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्दछ। वाइल्ड लाइफ र संस्कृति अध्ययन केन्द्रका रुपमा यो गाउँ चम्किएको छ।
यहाँको दिव्यपुरी सामुदायिक वनमा जिप सफारी र जंगल वाक गरिन्छ भने सिसवार सामुदायिक वनमा बर्ड वाचिङ। जंगलमा गैंडा, बाघ, हात्तीसहितका जनावरको दर्शन पाइन्छ। नारायणीमा जलविहार गर्दा किनारमा गोही, गैंडा, मृगलगायतका जनावर देखिन्छन्।
पिप्रहरमा वाइल्ड लाइफ, लोकल परिकार र जातजातिको मौलिक संस्कृतिमा रमाउन सकिन्छ। यहाँको सामुदायिक होमस्टेमा ब्रेकफास्ट, ननभेज डिनर र बेडको ९ सय रुपैयाँ तिर्नुपर्छ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, स्थानीय परिकार र पारिवारिक वातावरण भएकाले पिप्रहर लोकप्रिय बनेको हो।
खाना र बासका लागि होटल तथा होमस्टे सुविधा छ। एक दर्जन होटल छन् भने २२ घरमा होमस्टे सुविधा छ। विसं २०७२ फागुन १९ गतेदेखि सञ्चालित होमस्टेमा ८८ बेड छ। थारु, मगर, ठकुरी र गुरुङका घरमा पाहुना राखिन्छ। पाहुनालाई थारु परिकार चिँचर, राजा रोटी, हाँसको छोयला, घोंगीसहित पहाडे परिकार कोदोको सेल रोटी आदि खुवाइन्छ।
पाहुनाको मागअनुसार साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ। यसमा लाठी, म्यूजिक, घैला, डम्फु, झुमरा र कौरा नाच हुन्छ। पाहुनालाई पनि नचाइन्छ। एउटा समूहले डेढ घन्टा सांस्कृतिक कार्यक्रम हेरेको प्याकेज मूल्य ५ हजार रुपैयाँ पर्छ।
पिप्रहर सामुदायिक होमस्टेग्रामका अध्यक्ष झनकबहादुर महतोकाअनुसार होमस्टेमा ब्रेकफास्ट, ननभेज डिनर र बेडको ९ सय रुपैयाँ तिर्नुपर्छ। सस्तो, मिठो र आकर्षक गन्तव्य भएकाले यहाँ दिनदिनै पर्यटक बढीरहेका छन्। आन्तरिक पर्यटक त्यत्तिकै रमाउँछन्।
काठमाडौंको टंगालमा लेते थकाली किचन चलाउँदै आएकी विनु गौचन आफन्तहरूसँग बिहीबार पिप्रहरमा बास बसिन्। ‘होमस्टेको संस्कृति र खाना एकदमै मिठो लाग्यो’, उनले भनिन्, ‘हामी फेरि यहाँ आउनेछौं।’
पिप्रहरमा बसेर सेरोफेरोका देवचुली र शास्वतधाम पनि घुम्न सकिन्छ। पिप्रहरबाट ३ किमिमा शास्वतधाम पर्छ भने १० किमिमा देवचुली।
कुनै पनि ठाउँ घुमेर फर्कंदा परिवार र साथीहरूका लागि कोसेली किन्ने बानीले आत्मीयता बढ्छ। साथै स्थानीयले पनि फाइदा पाउँछन्। पिप्रहरमा अनदीको चामल, मास, मुसरा, मौरी र मौसमी तरकारी आदि कोसेली किन्न सकिन्छ।
कसरी पुग्ने: काठमाडौं–नारायणगढ १३८ किमि, बसमा ४ घन्टा। अथवा काठमाडौं–भरतपुर १८ मिनेट हवाई यात्रा। नारायणगढबाट वुटवल मार्गको फारामचोकसम्म १९ किमि। फारामचोकबाट पश्चिम २.५ किमिमा पिप्रहर गाउँ।
सम्पर्क:
पिप्रहर सामुदायिक होमस्टे
पिप्रहर, नवलपुर
झनकबहादुर महतो–९८४८७२८३४०
सोमनाथ महतो–९८४७२५३५६२