दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणमा लागि सहयोग जुटाउन साइकलयात्री देवेन्द्र बस्न्यातले 'पेडल फर एडुकेसन' अभियान थालेका छन्।
१२ सय किमी लामो एकल यात्रा अभियानको तेस्रो दिन सोमबार राजधानीमा विशेष कार्यक्रम गरि बस्न्यातलाई कलाकार हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, पूर्व मन्त्री गगन थापा, पाइलट विजय लामालगायतले शुभकामना दिँदै विदा गरेका छन्।
विद्यालय र पुस्तकालयलाई सहयोगार्थ एकल साहसिक साइकल यात्री देवेन्द्र बस्न्यातले दोलखादेखि डढेलधुरासम्मको एक हजार दुई सय किलोमिटर साइकल यात्राहो आज तेस्रो दिन हेटौंडा पुगेका छन्।
गत शनिबार शताव्दीपुरूष सत्यमोहन जोशीसँग आशिर्वाद लिएर दोलखादेखि आफ्नो साइकल यात्रा सुरू गरेका बस्न्याले डढेलधुरासम्म एकल साइकल यात्रा गर्ने हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरूणसिंह बस्न्यातले जानकारी दिए।
हेल्प नेपाल नेटवर्कले निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भइरहेको छ। अनुमानित लागत ६ करोड रुपियाँ रहेकामा हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको अध्यक्ष बस्न्यातले जानकारी गराएका छन्।
नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि हेल्प नेपाल नेटवर्कले सामाजिक क्षेत्रमा काम गरिहेको छ। हेल्प नेपाल नेटवर्क’ विगत २ दशकदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा र विपदका बेला आपत्कालीन सहयोग गरिरहेका छन्।
अभियानबाट संकलन हुने रकम विद्यालय भवन र ‘भक्त बीबी फर ह्युमेनिटी’को संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने आयोजकले जानकारी गराएका छन्।
दुई दशकअघि ‘एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने, त्यतिकै संख्यामा पुस्ताकालय र इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरुणसिं बस्न्यातले जानकारी गराउदै साइकलयात्री बस्न्यातलाइ यात्राको शुभकामना समेत दिएका थिए।
साइकलयात्री देवेन्द्र बस्न्यातले एक दशकभन्दा लामो साइकल यात्राका क्रममा विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन्।
उनले यो अभियानका सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहेका बस्न्यात विश्व साइकलयात्री पुष्कर शाहसँग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रर्द्धनलगायतका काम गर्दै आएका छन्।
शिक्षाका लागि साइकल यात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो भएको भएको र दुई दिन यात्रा अत्यन्तै सफल रहेको बताए।
बस्न्यातले भने, ‘आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको छु। यस्ता अभियानहरु विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलोपटक हुन लागेको र म त्यसको साझेदार बन्न पाएकोमा खुशी लागेको छ।’
उनले श्वर्ण जयन्तीको अवसरमा सामाजिक उद्देश्यका लागि साइकलिङको माध्यमबाट मनाउने पनि बताए।
कार्यक्रममा युवा नेता गगन थापाले देवेन्द्र बस्न्यातको साहसिक कार्यको प्रशंसा गर्दै समाज सेवाका लागि गरेको उनको पहलका लागि व्यक्तिगत रूपमा नगद ५० हजार सहयोगको घोषणा गरे।
यस्तै पाइल लामाले १२ हजार सहयोग गरे भने अन्य थुप्रैले सहयोग गरेको आयोजक हेल्प नेपाल नेटवर्कले जानकारी दिएको छ।
कार्यक्रममा हाँस्यकलाकार हरिबंश आचार्यले रमाइलो पारामा साइकल यात्री बस्नेतलाई शुभकामना दिँदै आफूलाई पनि साइकलमै राखेर लैजान भन्दै रमाइलो गरे।
पूर्वमन्त्री शंकर कोइरालाले बस्न्यातको अभियानले ग्रामिण र विकट ठाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माणमा सहयोग पुग्ने अपेक्षा गरे।
यस्तै विजय लामाले शुभकामना दिँदै यस्ता सामाजिक कार्यमा आफू सधै अगाडि आउने विश्वास दिलाए।
दोलखाबाट बिचमा धुलिखेल बसेर तेस्रो दिन काठमाडौं आइपुगेका साइकल यात्री बस्न्यात सोमबार हेटौंडा पुगेका छन्।
आगामी चैत १३ गते दिपायल पुगेर अभियान समापन गर्ने बस्न्यातले जानकारी दिए।