चाडपर्वको समयमा विगतका दिनमा जस्तो आत्मियसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनुभूत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरिएकोे छ।
प्रतियोगितामा नेपालको कुनै पनि चाँड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरू बोर्डको फोटो अभियानको साइट मार्फत पठाउन आह्वान गरिएको थियो ।
कुल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ।
विजेता फोटोग्राफरले जनही दस हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले भने, ‘फोटोग्राफरको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवर्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको छ।’
नेपाल पर्यटन बोर्डले पाँच वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो। फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो।
बोर्डको यो प्रयासले नियमित अभियानको रूप लिँदा देश चिनाउने फोटो प्रदर्शनी पाँच वर्षदेखि विभिन्न स्थानमा र अनलाइन रूपमा भइरहेको छ। यस अभियानलाई अझ ब्यापक बनाउन फोटोनेपाल डट ट्राभल सुरु गरिएको हो। हाल यसमा ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् । इच्छुक कोहीले सोसियल एकाउन्टबाट रजिष्टर हुन सक्नेछन्।
यी हुन् उत्कृष्ट पाँच तस्बिर