युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदीले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ-नेपाल) को नयाँ नेतृत्वमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।
आगामी चैत २० गते काठमाडौंमा हुने भिटोफको २४ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ।
धादिङको ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँका ३४ वर्षिय सुवेदी दुई दशकदेखि पर्यटन क्षेत्रमा लागेका हुन्।
नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशकसमेत रहेका सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्।
आफू चुनौती लिन तयार भएको भन्दै उनले कोरोनाले थला परेको नेपालको ग्रामीण पर्यटन व्युँताउन र पुनःप्रवर्धन गर्न उम्मेद्वारको घोषणा गरेको सेतोपाटीलाई जानकारी दिए।
स्थापनाको २४ वर्षदेखि भिटोफ नेपालले ग्रामीण पर्यटन क्षेत्रको अध्ययन र प्रवर्द्धन गर्दै आएको छ।
उनले खस्किँदै गएको संस्थाको गरिमा जोगाउन र पुराना होमस्टेको बजारीकरणका लागि आफूले अध्यक्षमा दाबी गरेको बताए। ‘नयाँ ग्रामिण पर्यटकीय गन्तब्यको खोजी र यसको प्रवर्द्धन गर्नुका साथै आवश्यक तालिममा सहजीकरण गर्ने भन्दै संस्थाको नेतृत्व लिन इच्छुक छु।’
करिब एक वर्ष लामो कोरोना संक्रमणका कारण नेपालको पर्यटन क्षेत्र तहसनहस भएको छ।
आन्तरिक पर्यटकको उत्साहलाई थप परिमार्जन गर्दै गाउँ गाउँमा नेपाली पर्यटक पुर्याउनुका साथै आवश्यक बन्दोबस्ती मिलाउन आफू लागिपरेको सुवेदीले बताए।
देशभरिका खाली होमस्टे क्रमशः भरिदै गएको भन्दै उनले आन्तरिक पर्यटनको क्षेत्रमा नयाँ आयाम ल्याउने उनले बताए। 'मेरो नेतृत्वको भिटोफ-नेपालले ग्रामीण पर्यटनको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्नेछ ,' उनले भने।
भिटोफलाई पर्यटनको समुन्नत संस्था बनाउने पहिलो प्राथमिकता लिएका सुवेदीले आगामी कार्यकालका लागि संस्था र गाउँ पर्यटनलाई दिगो पर्यटनका रूपमा विकास गर्न आफूले उम्मेद्वारी दिएको बताए।
नेपालका हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्ने र अहिलेको संघीय स्वरुप अनुसार भिटोफलाई सबै प्रदेशमा विस्तार गर्ने भन्दै उनले भिटोफले हरेक वर्ष गन्तव्य घोषणा गरेका गाउँहरुको संरक्षण गर्न र नयाँ गाउँहरुको पहिचान गर्न आवश्यक पहल चाल्ने उनले बताए।
‘नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टिले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक पुर्याउन पहल गर्नु म र मेरो संस्थाको मुख्य कार्यभार हुनेछ’, सुवेले दाबी गरे।
सकेसम्म अरूलाई पनि मिलाएर लैजाने भन्दै सुवेदीले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताए। यदि त्यो सम्भव भएन भने स्वभाविक रुपमा निर्वाचन जाने बताए।