संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले झापाको सुरूङ्गामा बन्न लागेको कन्काई सामुदायिक वनस्पति उद्यान तथा विज्ञान पार्कको स्थलगत अनुगमन गरेका छन्।
मन्त्री ढकालले मंगलबार कन्काईका अन्य पर्यटकीय क्षेत्रहरू भीमसेन स्थान, धनुषकोटी लगायात कन्काई सामुदायिक वन क्षेत्रमा बन्न लागेको विज्ञान पार्कको समेत अनुगमन गरेका हुन्।
अनुगमन अघि कन्काई नगरपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले प्रदेश नम्बर १ अन्य क्षेत्रभन्दा धार्मिक तथा पर्यापर्यटनको क्षेत्रमा उर्बर भूमि भए पनि आवश्यक प्रचार प्रसार नहुँदा पर्यटन क्षेत्र पछाडि परेको बताए।
मन्त्री ढकालले नेपालमा स्थिरताको नारा लगाएर कम्युनिष्ट पार्टीको बहुमत ल्याए पनि त्यो सुखद् हुन नसकेको स्वीकार गरे।
६ करोड ९० लाखको लागतमा तीन वर्षभित्र उक्त पार्क निर्माण हुने बताइएको छ।
कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कन्काई नगरक्षेत्रभित्र धार्मिक, प्राकृतिक र शैक्षिक पर्यटकीय क्षेत्रहरूको प्रचुर सम्भावना रहेको बताए।
उनले माइवेनी मेला लाग्ने धनुषकोटी धाम, कोटीहोम, जामुनवारी सीमसारजस्ता दर्जन धार्मिक तथा पर्यटकीय क्षेत्र भएको जानकारी दिँदै विज्ञान पार्कले समेत थप सिकाइ केन्द्र र पर्यटकका लागि नयाँ गन्तव्य बन्ने विश्वास व्यक्त गरे।