भौगोलिक हिसाबमा संसारकै धनी र सुन्दर मुलुक नेपालमा अझे पनि कतिपय रमणीय स्थानहरू ओझेलमा परेका छन्। यस्तै विगतमा चर्चामा रहेका कतिपय पर्यटकीय स्थानहरू राजनीतिक अस्थितरता र ‘माल पाएर चाल नपाउँदा’ मेटिँदै गएका छन्।
यस्तै पर्वतको पाङ गाउँ पनि ओझेलमा परेको सुन्दर गन्तब्य हो। पर्वत सदरमुकाम कुश्मा बजारबाट ६ किलोमिटर पश्चिम र बाग्लुङ सदरमुकामबाट ६ किलो मिटरको उत्तर पूर्वमा पाङ पर्छ।
साबिकको पाङ १,२,३,४ र खुर्कोटको १,२,३,४ वडालाई समग्र पाङ भनिन्छ। हालको कुश्मा नगरपालिकाको वडा नम्बर १ र २ पाङ अन्तर्गत पर्छन्।
पाङलाई नेपालकै ज्योतिष विधाको खानिका रूपमा चिनिन्छ। १०० वर्ष अगाडिदेखि यहाँको गुरूकुल बसेर ज्योतिष पढ्न नेपाल भरीबाट आउने गरेका थिए। अझै पनि पाङमा ज्योतिष पढेको भनेपछि त्यसलाई जान्ने मानिन्छ।
२०४६ साल अगाडि पाङका ज्योतिषलाई दरबारबाट बोलावट हुन्थ्यो। एक पटक दरबारमा अनिष्ट आउने भविश्यवाणी गरेपछि झन्डै थुनिनुपरेको अनुभव पाङका ज्योतिषसँग छ।
पवित्र कृष्ण गण्डकीको तटीय क्षेत्रमा सहस्रधारा पार्वती गुफा जस्ता धार्मीक पर्यटकीय क्षेत्रसँगै अहिले विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल (पाङदेखि वाग्लुङ जोड्ने) पनि यही पर्छ।
पाङका विशेषता
‘तराईको दाङ, पहाडको पाङ’, न्याय हराए, गोर्खा जानू ज्योतिष विधाको लागि पाङ जानू’ भन्ने किम्बदन्ती प्रचलित छ।
ठूला ठूला खेतीयोग्य फाँट भएको पाङमा जेठो बुढो, झिनुवा, अनदिजस्ता धान उत्पादन हुन्छ। आलु, मकै, गहुँ, तोरीजस्ता नगदेबाली र हिउँदे वर्षे तरकारी उत्पादनका लागि यो पर्वतकै अन्न भन्डार हो।
दाना-खुर्कोट विधुतीय सव स्टेशनको निर्माण यहीँ भएको छ। पर्वत-वाग्लुङ्ग जोड्ने नेपालकै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुल यही पर्छ।
पाङलाई ज्योतिषको राजधानीनै मानिन्छ। यहाँका ज्योतिषलाई आफ्नो भाग्य र चिना देखाउन टाढा टाढाबाट आउने मानिसहरूको भिड लाग्छ। यहाँसम्म कि आफ्नो पालोका लागि कयौं दिन कुर्नेको जमात पनि कम छैन हयाँ।
ज्यो. प. खगराज रिजाल, ज्यो. प. योगराज बाँस्तोला, ज्यो. प. डा. बलराम उपाध्याय, ज्यो. धर्म शर्मालगायत ज्योतिषले अझै पनि पाङमा नयाँ नयाँ ज्योतिष उत्पादन गर्नुका साथै अधिकांशको भाग्यरेखा कोरेका छन्, भविश्य बताएका छन्।
समथर मैदान भएको पाङ पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको क्षेत्र हो। यहाँ सम्भवत नेपालकै सबैभन्दा फराकिलो गुफा छ। जुन गुफामा दशौं हजार मानिस एकै पटक अट्न सक्छन्।
फिल्म हल शैलीको यो गुफा विशाल छ, गुफा भित्र अनेकै प्राचीन कलाकृति कुदिएका छन्। गुफाको अग्रभागमा हात्तीको ठूला सुड र पार्वती माताको ठूलो पथ्थरमा स्वआकृतिको मूर्ती छ। गुफाबाट २ किलोमिटर दुरीमा कहालीलाग्दो पहराबाट १ हजार धाराको छहरा झरना बाह्रै महिना कलकल बग्छ।
पाङको दक्षिण सिमामा काली गन्डकी छ। पाङबाटै वर्षेनी कालीगन्डकीमा हजारौं स्वदेशी र विदेशीले र्याफ्टीङको मजा लिन्छन्।
पहाडी जिल्लामा समथर फाँट, खेतीयोग्य जग्गा अनि पर्वत सदरमुकाम र वाग्लुङ सदरमुकामको बीचमा पर्ने पाङ साच्चिकै सुन्दर छ। धार्मिक र ऐतिहासिक तथा पर्यटकीय हिसावले पाङले साच्चीकै मोहनी लगाउँछऽ
पाङ र पर्वतको बारे धेरै कविता कोरिए, धेरैले गीत कोरे। यसैमध्ये एउटा चर्चामा रहेको गीत यस्तो छ।
देउपुरको जस्तो खेती र पाती बाजुङको जस्तो गाउँ।
हिमाल देख्ने दुर्लुङ्गे डाँडा मोहनीलाग्दो पाङ।
प्रसस्तै सम्भावना भएर पनि उचित प्रचार प्रसारको अभावमा यति सुन्दर गाउँका सयौं युवा विदेशीन बाध्य छन्।
स्थानीय युवाले अग्रसर देखाउने र सरकारले चासो दिने हो भने यहीबाट सुन फलाउन सकिन्छ। आशा छ आगामी दिनमा देश विदेशका पर्यटकलाई पाङले साच्चै मोहनी लगाउनेछ अनि देशको पर्यटन प्रवर्धनमा केही हदसम्म टेवा पुग्नेछ।
विश्वव्यापी कोरोना महामारीले थला परेको नेपालको पर्यटन उद्योग उकास्न यसले केही हदसम्म होस्टेमा हैसे लगाउनेछ।
पछिल्लो समय स्थानीय तहले पर्यटकीय क्षेत्रप्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आकर्षण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोगले पनि पाङको पर्यटन माथि उस्कनेमा आशावादी रहन सकिन्छ।
नेपालबाट बिद्या पोखरेल रिजाल र दुर्गा बाँस्तोलाको सहयोगमा