म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरू भएको छ।
राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रवर्द्धन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुने जनाइएको छ।
चौरी संरक्षण, चौरीका उत्पादनको बजारीकरण, चौरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए।
‘पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं’, उनले भने, ‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा छ।’
महोत्सवमा कृषक र विज्ञहरूबीच चौरीको महत्व, समस्या, व्यवसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ। यसैगरी चौरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ।
महोत्सवमा आउने पाहुनालाई चौरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए।
‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौरीपालन हुन्छ’, उनले भने, ‘परम्परागत चौरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो।’
दश हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो। स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन्।
पाउद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौरी पालेका छन्। सामाजिक अभियानकर्मी डा महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यवसायिक चौरीपालन गरिएको स्थानीयबासी भीम तिलिजाले बताए।
खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौरीपालन गरिएको छ।
प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौरी र भेडीगोठले पर्यटकलाई आकर्षित गराएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन्।
राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको बताए।
‘चौरीको नश्ल, गोठ सुधार, व्यवसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाएका छौं’, उनले भने,‘यहाँ पालिएका चौरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लैजान सकिन्छ।’
यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु नौ लाख ३५ हजार विनियोजन भएको छ।
तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकिएको छ। आन्तरिक र बाह्य परजीवीविरूद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु विकास अधिकृत बासुदेव नाथले बताए। चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौरीपालनका लागि चुनौती भएको कृषक प्रेम पुर्जाले बताए। रासस