पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो।
बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैया तालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन्। बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत रु पाँच करोड रहेको छ। निमार्णका लागि मन्त्रालयले रु तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहेको छ।
शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत रु पाँच करोडमध्ये मन्त्रालयले रु तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको रु एक करोड ५० लाख लगानी रहने छ। यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकामा मन्त्रालयले रु चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको रु दुई करोड ४५ लाख लगानी रहने छ।
राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेको छ। यसको निमार्णका लागि मन्त्रालयले रु चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको रु दुई करोड ४८ लाख लगानी रहेको छ।
मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट भएका छन्। मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन्।
सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन्।