किशोराअवस्थादेखि नै धार्मिक स्थलहरुको साइकलबाटै यात्रा गर्ने सौख राख्ने जनकपुरधामका रंजीत साह पाथिभाराका लागि साइकल यात्रामा निस्केका छन् ।
उनलाई जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमको बिच प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पाथिभाराका लागि बिदाई गरे।
विगत केही वर्ष यता देखि धार्मिक यात्रा गर्दै आएका रंजीत नेपाली-नेपाली बिच भाइचारा फैलाउनका लागि पाथिभारासम्मको साइकल यात्रामा निस्केका हुन् ।
नेपाली नेपाली बिचको तिक्तता मेटाउनु नै यस पटकको साइकल यात्राको लक्ष्य रहेको साइकल यात्री रंजीतले बताए । रंजीतले केही महिना अगाडी साइकलबाटै भारतको उत्तर प्रदेशस्थित अयोध्यासम्म साइकल यात्रा गरेका थिए।
रंजीतले जनकपुरधामदेखि ताप्लेजुंगको पाथिभारासम्मको ४ सय ३२ किलोमिटरको यात्रा २२ दिनमा पूरा गरी जनकपुरधाम फर्कनेछन् ।
जनकपुरधामको बसपार्कमा पान पसल चलाउँदै आएका रंजीत किशोरावस्थादेखि नै साइकलिंगको सौख राख्दै आएका छन् । उनी साइकलबाटै विभिन्न नयाँ ठाउँहरु घुम्न रुचाउँछन् । वर्षको ११ महिना पसल बस्ने उनले बाँकी एक महिना भने साइकल यात्रामा खर्चिने गरेका छन्।
उनले पहिलो साइकल यात्रा वि सं २०७२ सालमा पशुपतिनाथको यात्रा गर्दै प्रारम्भ गरेका थिए। उनले त्यतिबेला साइकलबाट सिन्धुली हुँदै पशुपतिसम्मको यात्रा एक दिनमै तय गरेका थिए ।
पशुपतिनाथको यात्रापछि हौसिएका रंजीत यसपछि साइकल यात्रामा निरन्तर छन्। उनले त्यसयता जनकपुरधामदेखि हलेशी महादेव तथा मुक्तिनाथसम्मको यात्रा समेत साइकलबाट नै गरिसकेका छन् ।
यो यात्रा रंजीतले सामान्य साइकलमार्फत गर्दै आएका छन् । उनको साइकल यात्राको उदेश्य भनेको आफ्ना अभिभावकलाई विश्वसामु गौरवान्वित महसुस गराउनु रहेको छ ।
रंजीत भन्छन् ‘ मैले साईकल यात्राको सुरुवात आफ्नो अभिभावकलाई फरक ढंगले विश्वसमक्ष चिनाउनु हो, र यसका लागि म सदैव तत्पर रहनेछु।’
रंजीत यो सौख देखेर कतिपयले उनलाई पागलसम्म भन्ने गरेका छन्, तर रंजीत यसबाट कति पनि विचलित छैनन्।
‘ हो, पागलले मात्रै यस्तो साहसिक कार्य गर्न सक्छन् । कसैको कटाक्षले म भित्रका साइकलिंगको चाहनालाई कहिल्यै मेट्न सकदैन’, उनले भने।