‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ अभियान चलाउँदै आएको ललितपुरको प्रकृति प्रेमी समूहको एक टोली पूर्वको प्रख्यात मन्दिर पाथीभरामा पुगेको छ।
स्वस्थ पर्यटन प्रवर्धन गर्ने उद्देश्यमा समूहले आफ्ना ४६ जना सदस्यलाई ताप्लेजुङको पाथीभरासम्म पुर्याएको हो। कतै बसमा त कतै पदयात्रा गर्दै उनीहरू पाथीभरा मन्दिसम्म पुगेका हुन्।
यात्राका क्रममा उनीहरुले इलामका इलाम बजार, माईपोखरी, कन्याम, फिक्कल, श्रीअन्तुलगातयतका पर्यटकीय स्थानहरू पनि घुमेका थिए ।
त्यसैगरी उनीहरुले पाँचथरका फिदिम, साधुटार, राष्ट्रिय विभूती फाल्गुनन्दको समाधीस्थल सिलौटी, लब्रेकुटीका साथै ताप्लेजुङको गुम्बाडाँडा होमस्टे पुगेका थिए।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा लेखिएको निलो क्याप लगाएका पदयात्रीलाई देख्दा स्थानीय उत्सुक बनेका थिए। पदयात्रीहरु सुकेटारबाट पाथीभरासम्म हिँडेरै ओहोर दोहोर गरेका थिए। टोली मंसिर ३ गते पाथीभरा मन्दिरमा पुगेको थियो ।
पाँचथरका गन्तव्य घुमाउन पूर्व सभासद अइन्द्र सुन्दर नेम्वाङ, फाल्गुनन्द गाउँपालिकाका वडाध्यक्ष बहादुर सिंह नेम्वाङ, पत्रकार गिरिराज बाँस्कोटालगायतले सहयोग पुर्याएका थिए भने इलाममा टंक आचार्यले सहयोग गरेका थिए।
समूहका संस्थापक डा. उमेश श्रेष्ठको नेतृत्वको टोलीले यात्रामा स्वास्थ्य ज्ञान बाँड्दै हिँडेको छ।
यात्राकै क्रममा मंसिर ५ गते बुधबार बिहान विराटनगरस्थित अतिथि सदनमा आयोजित ‘दिशा बदले दशा सप्रिन्छ’ कार्यक्रममा डा. उमेश श्रेष्ठले उचित आहार, विहार र विचार मार्फत निरोगी रहने ज्ञान बाँडे।
कार्यक्रममा पाँच सय भन्दा बढीको सहभागिता थियो। उक्त अवसरमा श्रेष्ठले आफ्नो डाक्टर आफैं बन्न प्रेरित गरेका थिए भने उपस्थित सबैले कार्यक्रम फलदायी भएको अनुभव सुनाए।
कार्यक्रमको संयोजन प्रकृतिप्रेमी समूहका सदस्य विष्णु पोखरेल र हरिबाबु दाहालले गरेका थिए। कार्यक्रम सकेर बुधबारै टोली सिन्धुलीतर्फ प्रस्थान गरेको छ।
कात्तिक २७ गते ललितपुरको सातदोबाटोबाट हिँडेको टोली १० दिने यात्रा सकेर मंसिर ६ गते बिहिबार काठमाडौं पुग्नेछ।
समूहको आर्थिक सहयोग
यात्राका क्रममा प्रकृति प्रेमी समूहले दुई ठाउँमा आर्थिक सहयोग गरेको छ। राष्ट्रिय विभुती फाल्गुनन्दको कर्मभूमी पाँचथरको लब्रेकुटीमा किरात अभियन्ता किरात ध्रुब तुम्बापोलाई समूहका तर्फबाट कोषाध्यक्ष रामदेवी मर्हजनले नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेकी थिइन् ।
त्यसैगरी गुम्बाडाँडा होमस्टे व्यवस्थापन समितिलाई समूहका तर्फबाट संस्थापक डा. उमेश श्रेष्ठले १० हजार रुपैयाँ हस्तान्तरण गरे। साथै होमस्टेका लागि समूहकी सदस्य शर्मिला श्रेष्ठले पनि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ प्रदान गरेकी थिइन्।
तस्बिरहरू