साहित्यिक पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले आइतबारदेखि खप्तड काव्य यात्रा सुरु भएको छ । कन्सेप्ट नेपालको आयोजनामा भएको यात्रामा २५ जना कवि, लेखक र पत्रकार सहभागी छन्।
जेठ १० गते खप्तडमा लाग्ने गंगा दशहरा मेला समेत भर्ने गरी यात्रा गर्न लागिएको यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेले जानकारी दिएका छन् । उनीहरुले दुई रात खप्तडमा बसेर त्यहाँका त्रिबेणीधाम, सहस्त्र लिंग, खप्तड बाबा आश्रम, खापर दह, पाटन लगायत सम्पदा भ्रमण गर्नेछन् ।
यात्राकै सिलसिलामा बगलेखक होमस्टे, डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, सालमुनि लगायत दर्शन गर्ने योजना छ । साथै धनगढी समेत भ्रमण गर्ने योजना छ ।
भ्रमण टोलीमा व्याकुल माइला, अभय श्रेष्ठ, भूपिन, निमेष निखिल, गनेस पौडेल, हेमन्त विवश, हेमन यात्री, घनश्याम खड्का, सागर उदास, आरके अदिप्त गिरि, उदय अधिकारी, अमृत सुवेदी, मणि शर्मा, दिपेन्द्रसिंह थापा, जनक जोशी मुडभरी, टोपेन्द्र शाह, सुरेन्द्र राना, होमनाथ भण्डारी, तारानाथ पहारी, चन्द्र काफ्ले र अमृत भादगाउँले सहभागी छन्।
यात्रामा सुदूरपश्चिममा बसेर लोक साहित्य एवं संस्कृतिमा योगदान पुर्याएका तीनजनालाई खप्तड काव्य सम्मान प्रदान गर्ने भएको छ । पुरस्कार छनोट समितिका संयोजक कवि हेमन्त विवशका अनुसार कलाकार एवं पुराना पत्रकार धन बहादुर मल्ल, डेउडा गायक गोपाल पार्की र हुड्केली कलाकार पदम नेपालीलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मानित गरिनेछ ।
आयोजकले खप्तड यात्राबारे एउटा पुस्तक र वृतचित्र बनाउने जनाएको छ ।
यात्राको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ भने सहयोगीहरुमा डोटी उद्योग वाणिज्य संघ, रैका टुर्स एण्ड ट्राभल्स, पूर्वी चौकी गाउँपालिका डोटी, नव जीवन सहकारी धनगढी, एभियसन म्युजियम काठमाडौं र शिखर नगरपालिकाको १० नम्बर वडा लगायत संस्था छन् ।
खप्तडमा साइक्लिङ काव्य यात्राकै सिलसिलामा खप्तडमा साइकल पर्यटनको संभावना अध्ययन गरिने भएको छ । त्यसका लागि यात्रा टोलीमा नेपाल साइक्लिङ संघका उपाध्यक्ष सुदिप पौडेल, महासचिव रञ्जन राजभण्डारी, सचिव देवेन्द्र बस्न्यात र सदस्य गोपाल श्रेष्ठ माउन्टेन बाइकसहित सहभागी भएका छन् ।
खप्तड क्षेत्रको साइक्लिङ रुटको संभावना खोजिने महासचिव राजभण्डारीले सेतोपाटीलाई बताए ।