नयाँ वर्षमा पोखरामा फेवा नव वर्ष महोत्सव हुने भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म पोखराको फेवा किनारमा १५ औं फेवा नव वर्ष महोत्सव हुन लागेको हो ।
संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि महोत्सव एक लाख भन्दा बढी स्वेदी तथा विदेशी पर्यटक पोखरा आउने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले बताए । महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले छुट सहितका विभिन्न ४ वटा प्याकेजहरु समेत सार्वजनिक गरेको छ । तिनमा दुई हजार नौ सय ९० रुपैयाँ देखि २१ हजार एक सय १० रुपैयाँ विचका घुमघाम, शैक्षिक भ्रमण, र मधुमासका दुई वटा गरी कूल ४ प्याकेज रहेका छन् ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको अध्यक्ष तुलाचनले बताए । अहिले पोखराको होटल क्षेत्रमा पर्यटकको अकुपेन्सी ५० देखि ६० प्रतिशत रहेको अध्यक्ष तुलाचनले बताए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने उनको भनाई छ ।
नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।