कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटकलाई कर्णालीको ‘रारा’ आउन निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विनै रारा आउने पर्यटकहरु साहसी भएको बताएका छन् ।
‘यहाँ भौतिक पूर्वाधारको अभाव छ ।’ शनिबार ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘चौरमा सुत्ने, ढुंगाको सिरानी बनाउन सक्ने हिम्मतदार पर्यटकलाई रारा आउन निम्तो दिन्छु ।’ उनले कर्णाली प्रदेश आफैंमा अनुपम पर्यटकीय क्षेत्र भएको बताउँदै कर्णाली पर्यटन वर्षले जनतालाई आत्मनिर्भर बनाउन र गरिबी घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
भौतिक पूर्वाधार बनाएर पर्यटक ल्याउने योजना बनाएमा पछि परिने भन्दै गाडी नपुगेको ठाँउमा पनि पथ मार्ग बनाएर पर्यटकलाई आकर्षित गराउने योजना रहेको उनले बताए । मुख्यमन्त्री शाहीले यो वर्षदेखि रारालगायत अन्य पर्यटकीय गन्तव्यका लागि रुटहरु बनाउने, प्रचार प्रसार गर्ने र आवश्यक प्रर्वद्धनातमक कार्यक्रमहरु गरिने जानकारी दिए ।
मुख्यमन्त्री शाहीले आगामी वैशाख १ गते रारामा टेलिफोन सेवा सुचारु गरिने र इन्टरनेटको समेत व्यवस्था गरिने बताए । उनका अनुसार पत्रकार तथा अन्य व्यक्तिका लागि रारामा वल्र्ड लिङ्कले इन्टरनेटको व्यवस्था गर्नेछ भने टेलिफोनका लागि नेपाल टेलिकमले व्यवस्था गर्ने छ ।
कर्णाली–रारा पर्यटन वर्ष २०७८५ का प्रचारप्रसार प्रमुख एवम सामाजिक विकास मन्त्री दल रावलले वैशाख १ गते प्रधानन्मन्त्री, मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरुलगायतको सहभागिता रहने जानकारी दिए । मन्त्री रावलले विगतमा वर्षिक रुपमा ५० हजार पर्यटक रारा जाने गरेको बताउँदै सरकारले आगामी वर्ष ५ लाख पर्यटक पु¥याउने लक्ष्य राखेको जानकारी दिए ।
यस्तै कर्णाली प्रदेश सरकारको तेस्रो मन्त्रीपरिषद् बैठक समेत रारामा आयोजना गरिने उनले जानकारी दिए । सोही दिन पर्यटन बर्षको उद्घाटन गर्न रारा पुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाटै देशवासीका नाममा सम्बोधन गर्नेछन् ।
भौतिक पूर्वाधार योजना मन्त्री खड्क खत्रीका अनुसार सुर्खेतदेखि दैलेखको दहिखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका खाल्डा पुर्ने काम सुरु गरेको छ । दहिखोलादेखि रारासम्म सडक डिभिजन कार्यालय जुम्लाले मर्मत गरिरहेको उनले जानकारी दिए ।
यस्तो छ लोगो र नारा
वैशाख १ गतेदेखि शुरु हुने पर्यटन बर्षको नारा ‘कर्णाली समृद्धिको आधारः पर्यटन र पुर्वाधार’ भन्ने रहेको छ ।
कर्णाली–रारा पर्यटन वर्ष २०७५ लेखिएको राराताल र हिमालय अनि आधा सुर्य उदाएको चिह्नसहितको लोगो रहेको छ ।