फिदिम नगरपालिका ८ मा रहेको पर्यटकीयस्थल साधुटार पूर्वि पहाडको आकर्षक गन्तव्यका बनेको छ। सदरमुकाम फिदिमबाट करिब २७ किलोमिटर दूरीमा रहेको साधुटारमा पूर्वका इलाम, झापा, धनकुटा लगायतका ठाउँबाट यो स्थान घुम्न आउनेको संख्या बढ्न थालेको छ।
मेची राजमार्गस्थित पौवाभञ्याङदेखि करिब २ किलो मिटरको दूरीमा अवस्थित साधुटार फिदिमका केही युवाले यहाँको तस्बिर फेसबुकमा अपलोड गरेपछि चर्चामा आएको हो ।
त्यसपछि उक्त तस्बिर भाइरल भएसँगै यो स्थान एकाएक चर्चामा आएको छ। अहिले सो क्षेत्रमा दैनिक सयौंको संख्यामा युवा युवति पुग्ने र फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने गरेका छन्।
स्थानीय न्युमुन मुखियाले सुनार जातिहरुले होमादि गरेर आफ्ना इष्ट देवतालाई पुकार्ने थलो भएकोले साधुटार नामांकित भएको सो क्षेत्रमा नवनिर्मित खानेपानीको ट्याङ्की बनाउने क्रममा खेर गएको पानी जमेपछि त्यस क्षेत्रको चर्चा भएको बताए।
केही महिना अगाडि आफूले मोवाइलबाट सेल्फि खिचेर सामाजिक संजालमा हालेको फोटो देखेकै आधारमा यो क्षेत्र यतिका चर्चामा आएको मुखियाको दाबी छ ।
स्थानीय चेतबहादुर मुखियाको नाममा दर्ता भएका साधुटार एक सय रोपनीको एरिया छ । उक्त क्षेत्रवाट कुम्भकर्ण कञ्चनजंघासहित पूर्वि पहाडको मनोरम दृष्यावलोकन मात्र होइन पोखरीको पानीमा कञ्चनजंघा र कुम्भकर्णको छायाँलाई फेवातालमा माछापुछ्रेको छायाँ कैद गरेजस्तै फोटोमा कैद गर्नेहरुको संख्या उल्लेख्य छ।
जग्गा धनि चेतवहादुरकी वुहारी इन्द्रकुमारी मुखियाले यो ठाउँलाई पिकनिक स्पोटको रुपमा विकास गरेर जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन आफ्नो परिवार लागिपर्ने बताइन्।
उनी दैनिक रुपमा गाडिका गाडि मान्छेहरु आउजाउ गरेको देखेर दंग मात्र छैनन्। यस क्षेत्रमा आय आर्जनका कृयाकलापहरुको समेत सम्भावना देख्छिन्।
आउने पर्यटकहरुको लागि खानेपानी चर्पीलगायत न्युनतम आवश्यक पूर्वाधारहरुको व्यवस्थापन गर्नका र पर्यटकहरुलाई आधारभूत सुविधाको व्यवस्थापनका लागि एउटा समिति निर्माण गरेर लागिपर्ने उनले बताइन्।
पर्यटन प्रवर्धनका लागि नेपालकै पूर्वि क्षेत्रहरुसहित भारतको सिक्किमबाट समेत हुलका हुल पर्यटकहरु आएर फोटो खिच्नेदेखि पिकनिक खाने र रमाउन आउने क्रम बढेको छ।
यस क्षेत्रलाई पर्यटकीय सम्मभाव्यता देखेर फिदिम नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शेरवहादुर नेम्वाङले यातायातका साधनहरु पुग्नेगरी मोटर वाटोको व्यवस्था वडाबाट गरिएको बताए।
बुक्की फुल्ने बाझो भिरालो जमिन थुम्का थुम्का परेको उच्च पहाडी भूभाग, वरीपरि सल्लाका ससाना वुटाहरुको विचमा सानो पोखरी जो कोहीको मन छुन्छ।
त्यसमा पनि अहिलेका युवा जमातलाई यसले आकर्षण गरेको छ । जमेको निलो पानीमा आकाशको निलो र वादलको लुकामारिलाई आकर्षक र कलात्मक ढंगवाट क्यामरामा कैद गर्न बिहानैदेखि बेलुकासम्म युवाहरु अलमलिन्छन्।
हुन पनि पाँचथरका युवाहरु साधुटार नपुगेको र फेसवुकमा फोटो नहालेको पाउन मुस्किल भएको बताउँछन् फिदिम १ का सामाजिक अभियन्ता लोकेन्द्र आले। ‘जिल्लामा यत्रो चर्चा र आकर्षणको थलोको रुपमा स्थापित साधुटारमा राज्यले लगानि गरेर पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नुपर्छ ताकि जस्को कारण त्यस क्षेत्रका समुदाय र क्षेत्रकै विकास र उन्नतिमा समेत त्यसले टेवा पुर्याओस्,’ उनले भने।
आकाशको छाया पोखरीमा टल्किनु पोखरिको पानीमा हिमालको छायाँ देखिनु वास्तवमै मनमोहक क्षेत्र आफूले महसुस गरेको बताउँछन् आले। उनका अनुसार त्यस क्षेत्रमा वाह्रै महिना सडक चल्न सक्ने साथै पर्यटकको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारको विकास गर्न सके मेची अञ्चलको पूर्वी पहाडी जिल्लामा यो सवैभन्दा राम्रो र आकर्षक गन्तव्य हुनसक्छ।