मोबाइलमा अर्लाम थियो बिहान ४:३० बजेको!
अर्लाम त बिहान चाँडै उठाउने अन्तिम विकल्प थियो। मलाई के थाहा थियो भने अर्लामभन्दा पहिला म्यासेन्जरको कलहरूले बिउँझिने छु। तर ब्युँझिन पटक्कै मन थिएन। मोबाइल साइलेन्समा राख्दा धेरै सुतिन्छ कि भन्ने पिर। नराख्दा छिटो उठाउँछन् कि भन्ने। नभन्दै अर्लामभन्दा अघि नै साथी सोवित ठकुरीले फोन गरे। उनले गरेको फोनको घण्टी बिहान ३ बजे नै बज्यो। निर्धारित समयभन्दा आधा डेढ घण्टा अघि।
चढ्दो चिसोको मिठो निन्द्रा त्यागेर उठेँ। पोखराको चाउथेदेखि म, अमरसिंहदेखि सुदीप ओझा, रामबजारबाट प्रितम ठकुरी र न्युरोडबाट सोवित गरी हामी ५ जना भेट भयौं। अनि लाग्यौं गन्तव्यतर्फ।
विन्ध्यावासिनीलाई दाहिने पारेर अघि बढ्यौं। विन्ध्यावासिनी कट्ने बित्तिकैको पुल होस् कि याम्दीको सडक। सरकारलाई जिस्क्याइराखेको थियो। हेम्जाको सरर बाटो नौडाडा, ढिकुरपोखरीको उकालो हुँदै कालीगण्डकी किनारै किनार अघि बढ्यौं। बागलुङ कालिका छेउछाउ भएर ३ घण्टामा बेनी बजार पुग्यौं।
कालीगण्डकी किनारमा बसेको बेनी बजारमा म पहिलो पटक पुग्दा माओवादीले आक्रमण गर्ने चर्चा चुलिएको थियो । नभन्दै आक्रमण गरे । सयौं मानिसले ज्यान गुमाए । रगतलले लतपतिएको थियो बेनी बजार।
हामी केहीबेर बेनीको बजार घुम्यौं। 'बेनीको बजार जता माया उतै छ नजर' भनेझैं बेनी पुगेपछि नजर नडुलाउने कुरा भएन। कलकलाउँदा कालीगण्डकी किनारमा हाम्रा आँखा यत्रतत्र सल्बलाए।
हाम्रो यो यात्रामा छुटेका साथी प्रकाश आचार्य मुक्तिनाथ दर्शन गरेर बेनी आइपुगेका रहेछन्। कफी गफ गर्दागर्दै हामीलाई लिन गाडी आइपुग्यो। गाडीमा सामान राखेर चढ्यौं। प्रकाश छुट्टिए। तातोपानी बजारबाट अलिकति अगाडि पुगेपछि मुस्ताङ जाने बाटो हामीले छाड्यौं। कालीगण्डकी किनार छाडेर हुमखोलाको बाटोतर्फ हाम्रो गाडी मोडियो।
अलिकति बाटो कच्ची भए पनि सजिलो थियो। बाँकी बाटो अप्ठ्यारो। डरलाग्दो भीरमा बनेको साँघुरो सडकमा ढुङ्गै ढुङ्गाको बाटो पार गर्नुपर्ने भयो। जाने बाटो पो अप्ठ्यारो त। दृश्य अप्ठ्यारो थिएन। मनमोहक थियो। मनमोहक दृश्य देख्न अप्ठ्यारो बाटो पार गर्न त हामी निस्केको।
चालकलाई बाटोको पिर थियो। गाडी कसरी अघि बढाउने। ढुङ्गा चढाउने र अनि ढुङ्गा ओराल्ने। गाडी उफ्रिने र थच्चिने। हुमखुलाको तिरैतिर अग्ला पहाडबाट रसाएर झरेका पानीका थोपाहरू। कञ्चन झरनाहरू। दृश्यहरू क्यामेरामा कैद गर्दै अघि बढ्यौं। कफी घरको परिधिबाट हामी स्वतन्त्रतापूर्वक प्रकृतिको अवलोकन गर्न निस्किएका थियौं। बाटोमा हाँसो मजाक त चल्नै नै भयो।
बेनीबाट ३ घण्टाको यात्रापछि हुमखोला पुगियो। हुमखोलामा लघु जलविद्युत आयोजना रहेछ। त्यही जलविद्युत आयोजना बनाउन कम्पनीले यहाँसम्म बाटो खनेका रहेछन्।
हुमखोलामा ३, ४ वटा जलविद्युत आयोजना बनिरहेको देख्यौं। यत्तिको बेगवान खोलामा बिजुली ननिस्कने कुरा भएन। एउटा खोलामा धेरै जलविद्यतु आयोजना बनाउँदा बाटोघाटो जस्ता पूर्वाधारमा खर्च कम हुन्छ। एउटै ट्रान्समिसन लाइनले सवस्टेसनसम्म बिजुली पुर्याउन सक्छ। आयोजनाको लागत घटाउन यसरी पनि काम गर्न सकिन्छ। मलाई यो मोडल मन पर्यो।
सडक यात्रा सकियो। यहाँबाट हामी पैदल यात्रा गर्नुपर्नेछ। हुमखोलामा जलविद्युत आयोजना बनाउन प्रयोग भएका संरचनामा एउटा सानो होटल रहेछ। होटलका साहुजी पदयात्रीका गाइड, पोर्टर र गाडी व्यवस्थापनमा व्यस्त। हामीलाई गन्तव्यमा पुग्ने हतारो। फुर्सदमा गफ गर्ने समय न उनीसँग थियो, न हामीसँग।
होटलमा हामीले सामान्य चिया नास्ता गर्यौं। पैसा भने अत्यधिक महँगो। खाजा खाँदै झोला मिलायौं। जुत्ता कस्यौं। बाटोमा चाहिने कुरा निकाल्न सजिलो गरी राख्यौं। यतिबेला दिउँसोको १:३० बजेको थियो। हामीले हुमखोलाबाट पदयात्रा थाल्यौं।
हामीले अन्नपूर्ण क्षेत्रका धेरै पदयात्राको अनुभव बटुलिसकेका थियौं। अरूभन्दा यो के फरक थियो भने हामीले आफ्नो सम्पूर्ण व्यवस्थापन आफैले गरेका थियौं। हामीले खाने खानादेखि सुत्ने टेण्टसम्म। किनकि, हाम्रा लागि खाना र बासको व्यवस्थापन गरिदिने होटल यो पदमार्गमा थिएन। जसले गर्दा झोला भारी भएको थियो।
हुमखोलामा सामान्य नक्सा बनाएर राखिएको थियो, बाटो नबिराइयोस् भनेर। अगाडि बाटोभरि होटल नभएकाले बास कहाँ बस्ने भन्ने कुराको निर्धारण हाम्रो हिँडाइले तय गर्यो। हामी अघि बढिरह्यौं।
हुमखोलाबाट ३० मिनेटको यात्रासम्म बाटो सामान्य थियो। हामी मज्जाले हिँड्न सक्यौं। त्यसपछि सानो झुलुङ्गे पुल आयो। पुलमा उभिएर फोटो खिच्यौं अनि अघि बढ्यौं। अगाडि ठाडै उकालो रहेछ। माथि हेर्यो सिधै भिर। तल हेर्दा पनि उस्तै भिर। भिरमा बनेका सिँढीका खुट्किलाहरू। छिनछिनमा खुट्टा काँप्थ्यो। मुटुको ढुकढुकी त यस्तोमा बढ्ने नै भयो।
यो उकालो ३/४ सय मिटरको होला। हामी पानी खान बस्यौं। मिठाइ खायौं। अनि फेरि उकालो लाग्यौं। करिब २ घण्टामा यो उकालो पार गरेपछि फुतफुते झरना आयो। झोला बिसाएर मोबाइलमा कैद गरेँ। झरनाको मोहनी रूपले त्यो उकालो यात्राको कठिनाइबाट राहत मिल्यो। पदयात्रीले बिगार्न बाँकी रहेजस्तो। मान्छेको आँखा लाग्न बाँकी रहेको झरना जस्तो कञ्चन थियो, फुतफुते झरना।
यो झरना निलगिरि हिमाल पग्लेर बहेको रहेछ। पानी छुन मन लाग्यो। झरनासँग प्रेम गर्न मन लाग्यो। प्रकृतिको मोहनी रूप अहिले पनि आँखामा नाचिरहेछ। मोहित भइरहेछु।
फुतफुते झरनालाई स्पर्श गरेर अघि बढ्यौं। फेरि अर्को उकालो आयो। डेढ घण्टामा यो उकालो पार गर्न सकिने रहेछ। उकालो सकिएपछि सर्घिखर्क आयो। समुद्री सतहदेखि ३१६० मिटर उचाइमा रहेको सर्घिखर्क ढिलो जाने यात्री बास बस्ने ठाउँ रहेछ। जहाँ १० जना अट्न सक्ने छाप्रो र पानीको सुविधा छ। धेरै जना भएको खण्डमा बाहिर चौरमा टेन्ट लगाएर बस्नु पर्छ। यदि अलि हिँड्न सके वा समय भए सर्घिखर्कबाट अझै डेढ घण्टामा रहेको गुफाफाँट पुग्न सक्नुहुन्छ। हामी समयमा नै हुमखोलाबाट यात्रा तय गरेकाले गुफाफाँट पुग्यौं। त्यस दिनको यात्रामा गुफाफाँट पुग्ने पहिलो टोली हामी नै थियौं।
हामीलाई अझै हिँड्न सक्छौं भन्ने आँट आयो। गुफाफाँटबाट लगभग २ घण्टा अगाडि पुगेर बास बस्ने योजना बनायौं। निलगिरि खोलाको तिरैतिर चट्टान फोडेर निस्किएको चिसो पानी पिउँदै अघि बढ्यौं। चिसो पानीले प्यास मात्र मेटाएन। अघि बढ्न प्रेरित पनि गरिरह्यो। अमृतपान गरेजस्तो सफा र स्वच्छ पानी। पहाडको बीचमा देखिने आकासे गुफा अनि रातो झरना। यो यात्रामा देखिने प्रकृतिका अनुपम उपहार।
लगभग ५ घण्टा हामी हिँडिसकेका थियौं। पानीले हामी भिजेका थियौं। रात पर्न आँट्यो। ३ जना साथीलाई पछाडि छाडेर म र सोवित अगाडि बढ्यौं। आकासे गुफा पुगेपछि मेरो दाहिने खुट्टामा दुखाइ सुरू भयो। आजको बसाइसम्म पुग्न १ घण्टाको यात्रा अझै बाँकी थियो। दाहिने घुँडा खुम्चिन छोड्यो। मेडिकलको सामान पछाडि रहनु भएको साथीसँग थियो। पानी परेको, अँध्यारो र अप्ठ्यारो बाटो कुर्नुभन्दा हिँड्नु सही मानेँ। पर उज्यालो देख्दा मन खुसी हुने रहेछ। अब आइपुगे जस्तो लाग्ने रहेछ। एउटा खुट्टा नखुम्चाइ देव्रे खुट्टा र लठ्ठीको सहायताले भुस्केट मेला आइपुगियो। पछाडि भएका साथीहरूलाई सजिलो होस् भनेर बेला बेलामा म टर्च लाइट बाल्दिरहन्थेँ। लाइटको प्रकाशले उनीहरूलाई संकेत पुर्याउँथ्यो।
गुफाफाँटपछि विश्रामका लागि भुस्केट मेला र भुस्केट मेलादेखि १० मिनेट पछिको धर्मशाला नै विश्रामका लागि अन्तिम सुरक्षित स्थान रहेछ। हामी भुस्केट मेलामा बस्यौं। तिहारको भोलिपल्टै भएका कारण खासै भिड थिएन। हामीले बस्ने ठाँउ पायौं। आगो बालेर ताप्यौं। तर खै कसैको जाँगर चलेन। एकछिन गफ गरेर थकाइ मार्यौं। अनि गीत गाएर नाच्न थाल्यौं। चाउचाउ पकाएर खायौं र टेन्टभित्र छिर्यौं।
हामीसँग निद्रा थिएन। पटक्कै निदाउन सकिएन। रातभरि घरी, कसले घरी कसले जोक भनिरहे। एकले अर्कोलाई जिस्क्याएर रात बिताइयो। दिनभरको थकाइले पनि रातभरि निद्रा नलाग्ने रहेछ। म र सोवित बिहान ३ बजे नै उठेर आगो ताप्दै कफी पियौं। उज्यालोको पर्खाइमा बस्यौं।
हल्का उज्यालो हुँदा बाहिर चिसो बढेको थियो। हल्का हिउँ परेको थियो। लाग्यो म स्वर्गमा छु। डाँडाहरू हल्का हिउँले नै सेताम्मे देखिए। निलगिरि खोलाको कलकल आवाज गुञ्जिरहेको थियो।
यो बिहान केही नास्ता गरिएन। कफी पिउने पियौं। बिस्कुट र चक्लेट खायौं। अनि लाग्यौं मुख्य गन्तव्यतर्फ।
आजको यात्रा भने मेरो कष्ठकर हुनेवाला थियो। खुट्टाको दुखाइ उस्तै थियो। साथ कति दिन्छ ब्यान्डेज र मुभको आधार थियो। ३ जना साथीहरू अगाडि लागे। म र सुदिपजी आजको सारथी थियौं। विस्तारै त्यही लौरोको साथ। ठूलाठूला ढुङ्गाहरूको खात। भिरालो बाटो। पर देखिने सेताम्मे पहाडहरू। आउला आउला भन्दा भन्दै नआउने गन्तव्य। हिँडेपछि गतव्य नभेट्टिने कुरै थिएन।
५ घण्टाको हिँडाइपछि पञ्चकुण्ड पुग्यौं। आहा! चारैतिर ठूला ठूला पहाड। पहाडको बीचमा तलाउ। कति निश्चल पानी।
कहाँ लैजाँदैछ होला भनेर कल्पना गरिरहनु भएको थियो होला। तपाईं पञ्चकुण्ड उत्तर अन्नपूर्ण बेसक्याप आइपुग्नु भएको छ।
समुद्री सतहदेखि ४०५० मिटर उचाइमा रहेको यो ठाउँमा पाँच वटा साना साना कुण्डहरूले बनेको भनिएको छ। तर हामीलाई कुण्ड अनुमान गर्न गाह्रो भयो। केही आकृतिमा हामीले कुण्डको परिकल्पना पनि गर्यौं। कुण्डहरूमा फोटो खिच्यौं। प्रकृतिको आनन्द उठायौं। सहरको, कामको अनेकौ तनावहरू हामीले कहाँ बिर्सियौं पत्तै भएन। आजको रात हामीहरूले यहीँ बिताउनुपर्नेछ। हामीले टेन्ट हाल्यौं। खाने जोहो गर्यौं।
पञ्चकुण्डमा हामी पुग्दा २ समूह मात्र थियो। साँझसम्म २०/२५ समूहहरूको टेन्ट लागिसकेको थियो। कोही खानाको तयारी गर्दैथिए। कोही बिरामी भएका साथीहरूको स्याहारमा थिए। कोही टेन्ट लगाउँदै थिए। कोही रम्दै थिए। कोही प्रेमको अनुभूतिमा थिए। सबैको संसार अलगअलग जस्तो। हामी हाम्रै संसारमा मस्त थियौं।
दिनभरि कुण्ड वरपरको घुमघाम गर्यौं। फोटो खिच्यौं। रात लामो हुनेवाला थियो।
चिसोलाई सितन हरिलोको सुकुटी थियो। पेयमा मार्फा स्याउको सोमरस। लिनेले लियौं। नलिनेले हेर्यौं। गफियौं।
रात हिजोको जस्तै भो। निद्रा विलय भो। रात कठिन भो।
ननिदाएपछि उठियो भन्न मिलेन। ४ बजे टेन्टबाट निस्कियौं, तयार भयौं। भए जति लुगाफाटा लगायौं अनि हाम्रो अन्तिम गन्तव्य ४५८२ मिटर थियो। लाग्यौं। ४१९० मा भ्यु पोइन्ट रहेछ। सबै त्यहीँ पुगेर हिमाललाई पछाडि राखी रमाउने रहेछन्। कुण्डहरूलाई पहाडबाट एकै नजरमा देख्न सकिने रहेछ। केही समय पहिला ताल रहेको तर अहिले पहाड खसेर पुरिए जस्तो देखियो। सायद ५ कुण्डमध्ये यी दुई पनि होलान्। प्रशस्त जानकारी लिने कुनै माध्यम पहिल्याउन सकिएन।
हामी भ्यू पोइन्टभन्दा नि माथि ४५८२ मिटर उचाइमा पुग्यौं। योभन्दा माथि हिमाल थियो। अन्नपूर्ण-१ लाई आमुन्ने सामुन्ने नजर जुधाइयो। बात गरियो। दु:ख उसका पनि होलान्। अबको केही वर्षमा आज हामीले देखेको यी सुन्दरता, यी पहाड र कुण्डहरूको अस्तित्व के होलान्? उनीहरूको स्वरूप के होलान्?
जतासुकै पहिरो खसेका छन्। ढुङ्गाहरू खसिरहेका छन्। लाग्छ पहाडहरू उभिन कठिन मानिरहेका छन्। हामी मानव प्रकृति छिटो सिध्याउने ध्यानमा छौं। हामीलाई कुनै प्रवाह छैन। जतासुकै फोहोर फालेका छौं। सबैको अनुहार हेर्दा कति राम्रा छन्। कति शिक्षित छन् तर यात्रामा रहँदा यी सबै भम्र लाग्छ। प्रकृतिलाई हामीले चोट दिइरहेका छौं। हामी घुमेका त छौं, २/४ फोटो र टिकटकका लागि ट्रेकको नाम दिइरहेका छौं।
सबै ट्रकरहरूलाई अनुरोध छ, प्रकृतिसँग रम्न प्रकृतिलाई दु:ख नदिऔं फोटो त फोटोसपबाट पनि बनाउन सकिन्छ।
ठाउँ रमाइलो छ। खतरा पनि छ। दुई दिन सम्पर्कका सबै माध्यम टुट्नेछन्। भगवान भरोसा हुनेछ यो ट्रेक। सुरक्षाका लागि कुनै बन्दोबस्त छैन। न यहाँ गएकाहरूको कसैसँग रेकर्ड छ, न त कसैले राखेका छन्। स्थानीयहरू, स्थानीय संस्थाहरूले सामान्य बस्ने ठाउँ केही साइनबोर्ड राखेका छन्। कहाँ पुग्ने, कति टाढा बाटोको संकेतहरू केही भेटिने छैन यात्राभरि। जानेहरूले फर्किनेहरूसँग सोध्नु नै जानकारी हो। सम्बन्धित संस्था र स्थानीय निकायको ध्यानाकर्षण हुन जरूरत छ।
टेण्ट बोकेर गएको मेरो पहिलो ट्रेक त्यो पनि ४५८२ सम्म पुग्नु मेरो जित थियो। उचाइले होला टाउको दुख्ने र सामान्य चक्कर आउने भयो नै। तर जति तल झर्यो त्यति दुखाइ पनि कम हुँदै गयो।
हामीले यो ट्रेकमा लिनुपर्ने मनोरञ्जन, देख्नुपर्ने दृश्य सबै देखियो। टेन्ट बाँध्यौं। झोला भिर्यौं र ओरालो लाग्यौं। जाँदाको मेरो घुँडाको दुखाइसँग फर्किंदा सुदिपजी घुँडाको दुखाइले दोस्ती गर्यौं। एकैदिन १२ घण्टाको यात्रापछि हुमखोला आइपुगियो। हुमखोलाबाट ३ घण्टामा तातोपानी। गलेका शरीर र दुखेका घुँडालाई तातोपानीमा डुबायौं। चिसोमा पुगेका फर्किएका हामी तातोपानीको प्राकृतिक बाथटवमा डुबेजस्तो आनन्द।
हामी आज यही बस्ने भयौं।